यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म बन्द रहेको रियाद अन्तरराष्ट्रिय विमानस्थलमा आइतबारदेखि उडानहरू पुनः सुरु भएका छन्। यद्यपि, इरान समर्थित यस समूहले आगामी दिनमा थप आक्रमण हुन सक्ने चेतावनी दिएको छ।
’फ्लाइट राडार’ नामक अनुगमन साइटले आइतबार बिहान रियाद विमानस्थलबाट एउटा विमान उडेर साउदी सहर जेद्दाह तर्फ गइरहेको देखाएको छ।
साउदी अरब र उसले समर्थन गरेको यमनको अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले, लामो समयदेखि कायम रहेको युद्धविराम यसै गर्मीयाममा भङ्ग भएपछि, हालैका साताहरूमा हुथी विद्रोहीहरूको निरन्तर आक्रमणको सामना गरिरहेका छन्।
यो द्वन्द्वले अमेरिका र इरानबीचको व्यापक टकरावको केन्द्रबिन्दुलाई यमनतर्फ मोडिदिएको छ र विश्वकै गरिब मुलुकहरूमध्ये एक यमनमा मानवीय सङ्कटलाई अझ गहिरो बनाएको छ।
रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलले शनिबार ’एक्स’मा पोस्ट गर्दै जानकारी दिएअनुसार, अक्टोबर २५, आइतबारदेखि लागू हुने गरी टर्मिनल (१) लाई आन्तरिक उडानहरूका लागि र टर्मिनल (२) लाई राष्ट्रिय वायुसेवा कम्पनीहरूद्वारा सञ्चालित अन्तरराष्ट्रिय उडानहरूका लागि तोकिएको छ।
हुथी विद्रोहीहरूले रियाद विमानस्थललाई लक्षित गरी पटक–पटक आक्रमण गरेका छन्। यसै महिना भएको एउटा आक्रमणमा १३ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी मानिस घाइते भएका थिए । यो साउदी अरबमा विगत एक दशकभन्दा बढी समययताकै सबैभन्दा घातक आक्रमण थियो।
हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारीले विमानस्थल अझै पनि असुरक्षित रहेको र यो एउटा सैन्य लक्ष्य भएको बताए।
‘यमनी सशस्त्र बलहरूले सबै अन्तरराष्ट्रिय, क्षेत्रीय र स्थानीय वायुसेवा कम्पनीहरू, साथै त्यहाँका कर्मचारी र यात्रुहरूलाई रियादस्थित किङ खालिद विमानस्थल प्रयोग नगर्न चेतावनी दिन्छन्, किनकि यो असुरक्षित छ र हाम्रा सेनाका लागि सैन्य लक्ष्यको रूपमा रहेको छ।’
हुथी विद्रोहीहरूसँग लडिरहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले आइतबार बिहान रियाद क्षेत्रमा दुईवटा ड्रोन खसालेको जनाएको छ।
प्रकाशित: ८ कार्तिक २०८३ १२:४२ आइतबार





