२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजधानी र नाम सम्बन्धी प्रस्तावमा मतदान गर्न ह्वीप लगाउने नेकपा संसदीय दलको निर्णय

प्रदेश ५

प्रदेश नं. ५ को नामाकरण र स्थायी राजधानी सम्बन्धी शुक्रबार प्रदेश सभामा पेश भएको प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको बैठकले ह्वीप लगाउने निर्णय गरेको छ। मुख्यमन्त्री निवासमा आज बिहान साढे ८ बजेदेखि बसेकोदलको बैठकले प्रस्तावका पक्षमा मदतान गर्ने सर्बसम्वत निर्णय गरेको नेकपाका सचेतक भुमिश्वर ढकालले जानकारी दिए।

झण्डै ६ घण्टा लामो बैठकमा रुपन्देही, नवलपरासी, पाल्पाका केही सांसदले स्थायी राजधानी बुटवलनै उपयुक्त भएको धारणा राखे पनि दाङका  बिरुद्ध खरो उत्रन नसकेको बैठकमा सहभागी एक सांसदले बताए। उनका अनुसार गुल्मी र अर्घाखाँचीका सांसद तटस्थ बसे। कपिलबस्तुका सांसदले कपिलबस्तु नै राजधानीको माग गरे।  

केही सांसदहरुले रुपन्देहीबाट राजधानी सार्न नहुँने धारणा राखेपछि दलका नेता तथा मुख्यमन्त्री शंकर पोख्रेलले पार्टी निर्णय विपरीत नजान निर्देशन दिदै सदनमा पेश भएको प्रस्ताव पास गराउन आग्रह गरेका थिए। सरकारले दीर्घकालिन सोचका साथ सो प्रस्ताव ल्याएको भन्दै मुख्यमन्त्रीले प्रस्ताव समर्थन गर्नु पार्टीका सबै माननीयको दायित्व भएको भनाइ राखेका थिए। ६१ जना  मध्ये बैठकमा ५७ जना सांसदको उपस्थित रहेको ती सांसदले जानकारी दिए।  

रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, लुल्सी चौधरी, बिमला पन्थी, कृष्ण न्यौपाने, दधिराम न्यौपाने,कमला विश्वकर्मा, दिपा विक, थानकुमारी थापाले  रुपन्देहीबाट राजधानी सारिनु गलत भएको भन्दै प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए। कपिलबस्तुका बिष्णु पन्थी लगयातका सांसदले कपिलबस्तु नै हरेक दृष्टिकोणले स्थायी राजधानीकालागि उपयुक्त भएको धारणा राखे। दाङ, रोल्पा, रुकुम, बाँके बर्दिया, प्युठानका सांसदले प्रस्तावको स्वागत गरे।

केही सांसदहरुले राजधानी सार्ने बिषयमा असन्तुष्टि जनाए पनि पार्टीको निर्देशन  विपरित नजाने र प्रस्तावलाई दुई तिहाइले पास गर्ने निर्णयमा सबैको सहमति रहेको सचेतक ढकालले नागरिकलाई बताए। ‘नेकपाका सबै माननीयले प्रस्तावका पक्षमा मतदान गरेर  दुईतिहाइले पास गर्नेछौं, यसमा दायाँबायाँ केही हुँदैन’ सचेतक ढकालले भने। सोमबार १९ गते बस्ने प्रदेश सभा बैठकमा प्रस्तावका सम्बन्धमा छलफल हुनेछ। सोमबार छलफल सकेर मंगलबार नै प्रस्तावलाइ सदनबाट पारित गर्ने तयारी गरिएको छ।

शुक्रबार प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केशीले सरकारका तर्फबाट प्रदेश सभाको राजधानी दाङको राप्ती उपत्यकाको देउखुरी र नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेका हुन। दाङको राप्ती गाँउपालिका,गढवा गाँउपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिकाले छोएको राप्ती नदिले चर्चेको किनारको राप्ती उपत्यका देउखुरीलाइ सरकारले प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव गरेको हो।

बुद्ध जन्मस्थल लुम्बिनीबाट प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरीएको छ। राजधानीकालागि हालको अस्थाइ मुकाम बुटवल र दाङका बिच सुरु देखि नै बिबाद थियो। तर नाम लुम्बिनीका सम्बन्धमा भने अहिले सम्म बिबाद देखिएको छैन। 

प्रकाशित: १७ आश्विन २०७७ १०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App