सरकारले अब अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने भएको छ। नेपाल सरकारका उपप्रधानमन्त्री परराष्ट्रमन्त्री, पर्यटनमन्त्री र श्रममन्त्रीका बीचमा बिहीबार भएको छलफल यो निश्कर्षमा पुगेको पर्यटनान्त्री योगेशकुमार भट्टराईले जानकारी दिएका छन्।
छलफलबाट प्राप्त निश्कर्ष सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मन्त्री भट्टराईले पीसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाईन्सले थप उडान माग गरेमा अनुमति प्रदान गरिने जनाएका छन्। नियमति उडान नभएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि भने मागका आधारमा उडान संख्या थप गरिने छ।
‘उपप्रधानमन्त्रीसहितको उच्चस्तरीय परामर्शबाट यस्तो सहमति बनेको हो’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्। उनका अनुसार कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गर्ने सहमति समेत बनेको छ। श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वय गरी उडानको व्यवस्था गर्ने भएको छ।
सामाजिक सञ्जालमार्फत नै मन्त्री भट्टराईले विदेशी भूमिमा अप्ठ्यारो स्थितिमा रहेका नागरिकहरुको स्वदेश फिर्तीका लागि सक्दो कोशिस गरिरहेको बताएका छन्। ‘यो कार्यका लागि सरकारले आफ्नो प्रयत्न बढाउँदै लगेको छ’ मन्त्री भट्टराईले भनेका छन्, ‘नेपाल सरकार विदेशी भूमिमा अप्ठ्यारो स्थितिसंग जुधिरहेका आम नागरिकको समस्या प्रति गम्भीर छ र यथाशक्य स्वदेश फिर्ता ल्याउने प्रयत्न गरिरहेको छ।’
उनले यो बिषम परिस्थतिमा धैर्यता, संयमता र सम्बेदशिलता अपनाउन समेत सबैलाई उनले आग्रह गरेका छन्।
प्रकाशित: २५ भाद्र २०७७ १०:३० बिहीबार