१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गतिहीन कांग्रेस

‘देशमा प्रजातन्त्र आएपछि मोटाघाटा, सुकिला, चिल्ला गाडी चढ्नेहरूको पार्टीभित्र हावी हुनेछ। त्यसविरुद्ध आमकार्यकर्ताले फेरि एकचोटि संघर्ष गर्नुपर्ने हुन्छ।’ नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको यो भनाइ अहिले सान्दर्भिक बनेको छ। अहिले उनैले हुर्काएको कांग्रेसमा ठेकेदार, बिचौलिया र पैसावालाको हालीमुहाली भएको आवाज उठ्न थालेको छ। निष्ठावान् नेता तथा कार्यकर्ता पछाडि परेका छन्। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा टिकट बेचेको आरोपसमेत नेता तथा कार्यकर्ताले पार्टीका शीर्ष नेतामाथि लगाउन थालेका छन्। पैसा र बिचौलिया हावी हुँदा समाज परिवर्तनका लागि गरिने राजनीति विकृत र अपमानित बन्न थालेको कांग्रेस नेताहरूले सार्वजनिक रूपमै बताउन थालेका छन्।

के नेपाली कांग्रेसमा बिपीले भनेजस्तै अहिले सुकिलामुकिला र पैसावालाहरू मात्र हावी भएका हुन् त ? ‘सुकिलामुकिला धेरै छन्, अरूहरू पनि छन् त्यस्तै,’ कांग्रेस महामन्त्री तथा बिपीपुत्र शशांक कोइराला भन्छन्, ‘तर सुकिलामुकिला नै धेरै हावी भएका छन्।’

टिकट वितरण गर्ने बेलामा पनि ठेक्कापट्टा गर्ने र पैसा जोसँग छ उसैलाई नै दिएको स्वीकार गर्दै कोइरालाले यो कार्य कांग्रेसको चरित्रविपरीत भएको बताए। पैसा जोसँग छ, उसलाई टिकट दियो भने कसरी चल्छ पार्टी भन्ने प्रश्न गर्दै उनले भने, ‘निष्ठावान् नेता तथा कार्यकर्ताको योगदान र समर्पणले पार्टी अहिलेसम्म टिकिरहेको छ। उनीहरूलाई समाप्त गरेर अवसरका लागि आउने व्यक्तिबाट मात्र पार्टी चल्दैन।’

उनले पार्टीमा नेता तथा कार्यकर्ताको मूल्यांकनको परिपाटी नै विकास नभएको बताए।  बोली बसेका जनताको बोली फुकाउन लाग्नुपर्ने नेता तथा कार्यकर्ताको ध्यान जनताको घर होइन, आफ्नै घर बनाउन केन्द्रित छ। गरिब र भोकालाई भोजन होइन, नेताहरू आफैं मोजमस्तीमा जुटेका छन्। ठूला महल र चिल्ला गाडीसहित सुखसुविधाले नेतृत्वको नागरिकसँग होइन, पार्टी कै नेता तथा कार्यकर्तासँग संवाद टुटेको छ। लोकतन्त्र र राजनीति नागरिकका लागि होइन, राजनीति राजनीति गर्नेका लागि मात्र जस्तो बन्न पुगेको छ।

बिपी स्मृति दिवस र जन्मजयन्तीमा उनको विचार र सिद्धान्तको चर्चा गर्ने कांग्रेस नेताले न त समयानुकूल बिपी विचारलाई परिष्कृत र परिमार्जन गर्दै अघि बढाएका छन् न त नयाँ विचार स्थापित गर्न सकेका छन्। बिपी विचारको माला जपे पनि कांग्रेस यतिबेला विचारशून्य बन्न पुगेको छ। कांग्रेससँग विचार, कार्यक्रम, योजना र सिद्धान्त स्पष्ट छैन। समाजवादलाई पार्टीको आदर्श र सिद्धान्त माने पनि कांग्रेसका नेतामा न त्यसअनुसारको संस्कार छ न त योजना र कार्यक्रम। कांग्रेसमा आन्तरिक लोकतन्त्र कमजोर बन्न पुगेको छ। भ्रातृ तथा शुभेच्छुक संगठन मात्र होइन, पार्टीको महाधिवेशन अनिश्चित बन्न पुगेको छ। नीति होइन, नेताकेन्द्रित छलफल र बहस कांग्रेसमा तीव्र भएको छ। पार्टी र सामूहिकता होइन, व्यक्तिवादी सोच मौलाउँदै गएको छ। संगठन निर्माणका लागि होइन, अवसरका लागि गुट निर्माण र त्यसकै बलमा व्यक्तिगत स्वार्थ पूरा गर्ने प्रवृत्ति कांग्रेसमा मौलाउँदो छ।

कांग्रेस केन्द्रीय सदस्य श्यामकुमार घिमिरे २०४६ सालको राजनीतिक परिवर्तनपछि पार्टीमा वैचारिक बहसको संस्कृति नै अन्त्य भएको बताउँछन्। विचार र कार्यक्रमका आधारमा नभएर स्वार्थका आधारमा पार्टीमा स्थायी गुट निर्माण हुँदा वैचारिक बहस कमजोर भएको बताउँदै घिमिरेले भने, ‘बिपीले अघि सारेका कतिपय विचार अहिले पनि सान्दर्भिक छन्। त्यसको मतलब यो पनि होइन, त्यसलाई संशोधन गर्नुहुन्न ?’ कांग्रेसले बिपीको विचारलाई व्यापक बहस र छलफल गर्दै समयअनुसार परिमार्जन गर्दै जान नसकेको उनी बताउँछन्।

जनताको सुखदुःखसँग जोडिनुपर्ने कांग्रेस आफैं गतिहीन बनेको छ। नेतृत्वगणले संविधान र कानुनको पालना गराउने होइन, पार्टीलाई नै विधि र विधानअनुसार अघि बढाउन सकेको छैन। कोरोना भाइरस संक्रमणबाट मुलुक ६ महिनादेखि आक्रान्त हुँदा कांग्रेस जनताको वाणी फुकाउने साथी होइन, आफैं आवाजविहीन बन्न पुगेको छ। रोग र भोगबाट देश र जनतालाई जोगाउन उसको उपस्थिति शून्यप्रायः छ। सत्तारुढ दलभित्रको आन्तरिक विवादको छायामा जनताको सर्वोच्च निकाय संघीय संसद् परेको छ। प्रमुख प्रतिपक्षीको हैसियतले त्यसलाई खुलाउनेतर्फ कांग्रेसको ध्यान छैन। उल्टै सत्ता र शक्तिको मोलमोलाइमा कांग्रेस नेतृत्व लागेको गुनासो पार्टीभित्रैबाट आइरहेको छ।

सरकारी पक्षबाट स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार होस् वा रेलवे ठेक्का विवाद, वाइडबडी जहाज खरिद प्रक्रियामा भएको अनियमितताका विषयमा कांग्रेस मौन छ। संवैधानिक व्यवस्थाअनुसार संसद्लाई पूर्णता दिने कुरा होस् वा संवैधानिक आयोग गठन गरेर पार्टीको नेतृत्वमा जारी संविधान कार्यान्वयनमा कांग्रेसको ध्यान छैन। बरु पार्टी नेतृत्वमा जारी भएको संविधानमाथि आफैंले प्रश्न खडा गर्न सक्रिय छन् कांग्रेस नेता। कांग्रेसका नेताले बिपी जन्मजयन्ती र स्मृति दिवसमा भने उनको विचार जप्न भने छाडेका छैनन्।

'अब बिपी विचार जपेर मात्र पुग्दैन'
हरि शर्मा, राजनीतिशास्त्री

कुनै पनि विचारको स्थापना हुन्छ। त्यसलाई अघि बढाउन चर्चा, परिचर्चा, छलफल, समालोचना आवश्यक हुन्छ। समालोचनाको परम्परा नै भएन। बिपीको विचारचाहिँ जहाँ थियो, त्यहीँ नै अड्किएको छ। बिपीले जुन बेला विचार अघि सार्नुभयो, त्यो बेला समयसापेक्ष थियो। तर त्यसलाई अघि बढाउन जुन प्रकारको वैचारिक लगानी हुनुपथ्र्याे पार्टीभित्र अथवा बाहिरबाट त्योचाहिँ भएको देखिँदैन। जतिसुकै बिपीको कुरा गरे पनि पुरानै कुरामा अड्किएको र त्यसमा नयाँ कुरा आएको छैन। यसको अर्थ बिपी विचारवाद हुनुपर्छ भन्ने होइन। समाजवाद, लोकतन्त्र सबैभन्दा ठूला वाद छन्। बिपी विचारलाई समाएर कसरी अघि बढ्न सकिन्छ भन्ने कुरामा विचार सार्वकालिक हुन्छ कि हुँदैन भन्ने कुरा सोच्नुपर्छ। यसको अर्थ फेरि यो होइन, उहाँको योगदानलाई नकार्न खोजेको। तर एउटै विचारलाई सार्वकालिक रुपमा प्रस्तुत गर्न सकिन्छ कि सकिँदैन भन्ने कुराचाहिँ सोच्नुपर्छ।

बिपीले आफ्नो समयमा जुन किसिमको विचार प्रवाह गर्नुभयो। त्यसलाई प्रयोगमा ल्याउन उहाँले चिठी र भाषणबाट कार्यकर्तालाई प्रशिक्षित गर्ने, बाहिरका मान्छेलाई सिकाउने र तदनुसार हिँड्न गर्नु भएको इन्करेज महत्वपूर्ण कुरा थियो।

बिपीले भनेका कुरा त्यतिबेला ठिक थिए, अहिले समयअनुसार परिमार्जन गर्नुपर्छ भनेको त्यो विचारलाई छोड भनेको होइन। बिपी नेपाली कांग्रेस र लोकतन्त्रका लागि महत्वपूर्ण धरोहर हुन्। इतिहास चर्चा गरेर हुँदैन। कुनै पनि मुलुकको इतिहास खाली सेटमा हुँदैन। बिपीको योगदान छ। उहाँको विचारले कति मान्छे क्रान्तिमा होमिए। त्यो कुरा एकातिर राख्ने हो भने उहाँले भनेको कुरा त्यो बेला समयसापेक्ष थियो। अहिले समयसापेक्ष छ कि छैन भनेर चर्चा गर्नु उहाँलाई अन्डरमाइन्ड गर्नु होइन। उहाँकै विचारको सिलसिलामा नयाँ कुरा गर्न सकिन्छ कि सकिँदैन ? अहिलेको नेतृत्व र हामी सबैले उहाँबाट के सिक्यौँ त ? त्यस्तो कठिन अवस्थामा पनि विभिन्न तौरतरिकाबाट जनतासँग सधैं संवादमा रहिरहने, मान्छेहरूसँग छलफल गर्ने, अन्तर्वार्ता दिने र केही न केही गरिरहनुहुन्थ्यो। आफ्नै कुरा पनि पुनर्विचार गर्न उहाँ डराउनुभएन। राजतन्त्रबाट अधिकार आउँदैन बरु बालुवाबाट पानी आउँछ होला भन्नुभएको विपीले राष्ट्रिय मेलमिलापको नीति लिएर आउँदा त्यही कुरा परिमार्जन गर्नुभयो। राजाले संविधान संशोधन गर्दा त्यसलाई किन स्वीकार गर्ने भनेर देशव्यापी दौडाहामा निस्कनुभयो। तर अहिलेको नेतृत्वले कम्युनिकेसन गर्दै गर्दैन।

बिपीलाई वर्षको दुई पटक फूलमाला चढाएर र उहाँको विचार जपेर मात्र हुँदैन। समयअनुकूल उहाँको विचारलाई अगाडि लैजाने र जीवनबाट सिक्नुपर्छ। त्यसमा हामी सबै चुकेका छौं। विचार मात्र होइन, बिपीबाट सिक्ने कुरा एउटा राजनीतिक मान्छे÷नेता कम्युनिकेटर पनि गर्नुपर्छ। विनाकम्युनिकेसन विचार कसरी अघि बढ्न सक्छ ? अहिलेको नेतृत्वले कम्युनिकेसन गर्दै गर्दैनन्। अहिले विचारशून्य नेतृत्व भएको समयमा बिपीको समयलाई अहिले फर्केर हेर्दा परिवार, विवाह, जग्गा, आर्थिक मामिला, परराष्ट्र, समाज, विचार सबै कुरामा क्रान्तिकारी देखिएको छ। अब यति मात्र भनेर बस्यो भने जप मात्र गरे जस्तो हुनेछ।’

प्रकाशित: २४ भाद्र २०७७ ०१:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App