२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गौतम सरकारमा जाँदा गृह कि अर्थ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेपछि सरकारमा लैजानुपर्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओली असजिलोमा परेका छन् । गौतमलाई राम्रो मन्त्रालयसहित वरिष्ठ उपप्रधानमन्त्री बनाउनुपर्ने बाध्यता भएपछि ओली अप्ठ्यारोमा परेका हुन् । गौतमलाई मनोनयन गर्ने विषयमा ओली द्विविधामा छैनन् तर गौतमले सरकारमा जाने मनसाय व्यक्त गरेपछि कुन मन्त्रालय दिने, यसमा भने द्विविधा छ । 

गौतमले सरकारमा सक्रिय सहभागिताको चाहना व्यक्त गरिसकेका छन् । ‘सांसदमात्र भएर मेरो भूमिका खास देखिन्न, सरकारमा सहभागी गराउनुस्, भूमिका देखाउनेछु’, ओलीलाई गौतमले भनेका थिए । त्यसपछि गौतमसँगको भेटमा ओलीले पूर्वएमाले र पूर्वमाओवादीका भागमा परेका मन्त्रालय परिवर्तन गरी सन्तुलन मिलाउन चाहेको बताएका थिए । ओलीले उपप्रधानमन्त्रीसहित गृह लिएर सहयोग गर्न गौतमसमक्ष प्रस्ताव गरेका थिए । जबाफमा गौतमले आफू धेरैपटक उपप्रधानमन्त्री र गृहमन्त्री भइसकेको र अब उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी लिएर जनपक्षीय बजेट ल्याउने चाहना रहेको बताएका थिए ।  

प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापालाई रक्षामा पठाई गृहमा गौतमलाई ल्याउने, रक्षामन्त्री ईश्वर पोखरेललाई पार्टीको जिम्मेवारीमा पठाउने योजना बनाएका थिए । गौतमले त्यो प्रस्ताव अस्वीकार गरेको बालुवाटार निकट स्रोतले जनाएको छ । गौतमले गृहमन्त्री बन्न स्वीकार गरेमात्र थापाको मन्त्रालय परिवर्तन हुनेछ, अन्यथा यथावत् रहने स्रोतले बतायो ।

अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिइसकेको अवस्थामा ओलीले अर्थ मन्त्रालयल तत्काललाई आफैंसँग राख्ने भएका छन् । बालुवाटार निकट स्रोतका अनुसार खतिवडालाई नै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा मनोनयन गरेर अर्थ मन्त्रालय हेर्न जिम्मा दिने तयारी ओलीको छ । यसबारेमा प्रधानमन्त्री ओलीले केही भनिहालेका भने छैनन् । गौतमले अर्थ मन्त्रालयमै जोडबल गरिरहे केही समय मन्त्रिपरिषद् पुनर्गठन नै नगर्ने प्रधानमन्त्रीको सोच छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार पार्टी र सरकारमा पनि गौतमलाई झेल्न ओलीका लागि निकै कठिन हुने भएकाले राष्ट्रियसभाको सांसदमात्रै बनाएर राख्ने सम्भावना पनि उत्तिकै छ । यसको अनुमान गौतमले पनि लगाएका छन् । ‘पार्टीको निर्णय कार्यान्वयन गर्न त ६ महिनाभन्दा बढी समय लाग्यो, सांसद मनोनयन गरेपछि मन्त्री बनाउने विषयमा ओलीले आलटाल गर्न सक्छन् । सकेसम्म अर्थ मन्त्रालयमा आफ्ना विश्वासपात्रलाई ल्याउने कसरत कायमै रहन्छ’, गौतम निकट एक नेताले भने ।

गौतमसँग कुरा नमिलेकै कारण शुक्रबार मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका थिए । बैठकमा गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने प्रस्ताव पनि आएन । ‘प्रधानमन्त्रीज्यूले गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्नेबारे केही भन्नुभएन । उहाँले मुख्यसचिवमार्फत सीधै सिफारिस पनि गर्नुसक्नुहुन्छ । त्यसकारण बैठकमा केही नभनिएको पनि हुनसक्छ’, एक मन्त्रीले भने ।

गौतमलाई यस अघि फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो । त्यो बेला प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय आफूले नमान्ने बताएका थिए । चौतर्फी दबाबपछि बिहीबारको सचिवालय बैठकमा ओलीले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णयमा सहमति जनाएका थिए । गौतम संसदीय चुनावमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका थिए ।

प्रकाशित: २० भाद्र २०७७ ०१:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App