१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

मधेसी-जनजाति सात दलको नयाँ मोर्चा

काठमाडौं, असोज १६ (नागरिक)- मधेसी जनअधिकार फोरमसहित दुई मधेसी र पाँच जनजाति पार्टीले नयाँ मोर्चाबन्दी गरेका छन्। क्षेत्रीय र जातीय आधारमा ‘आत्मनिर्णय र संघीयतासहितको संविधान निर्माणमा साझा अवधारणा' बनाएर एउटै पार्टी गठन गर्ने उद्देश्यले मोर्चा घोषणा गरिएको नेताहरुले बताएका छन्।
उपेन्द्र यादव अध्यक्ष रहेको नयाँ मोर्चामा मधेसी जनअधिकार फोरम नेपाल, शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीसहित जनजाति दलहरू ताम्सालिङ नेपाल राष्ट्रिय दल, जनमुक्ति पार्टी, नेपाल शान्ति समाज दल, खम्बुवान स्वायत्त राज्य परिषद र नेपाल शान्ति समाज पार्टी छन्।
सोमबार राजधानीमा आयोजित घोषणा सभामा नेताहरूले मोर्चाले आदिवासी, पछाडि परेका समुदाय, धार्मिक अल्पसंख्यकको मुक्तिका निम्ति संयुक्त संघर्ष गर्ने उद्घोष गरे। मोर्चाले सोमबार नै साझा उद्देश्य, मुद्दा, कार्यक्रम र संघर्षको स्वरुप सार्वजनिक गर्योय।
नवगठित मोर्चाले आबद्ध पार्टीका सदस्यहरूमा एकताको भावना बढाउन केन्द्रदेखि स्थानीय तहसम्म विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। मोर्चाको नीति, सिद्धान्तविपरीतका मान्यताका दलविरूद्ध केन्द्रीय र क्षेत्रीय तहमा समेत प्रचारप्रसार, जागरण सभा र सडक संघर्षका कार्यक्रम सञ्चालन गर्ने मोर्चाको अवधारणापत्रमा उल्लेख छ। संघर्षको स्वरूप भने शान्तिपूर्ण हुने मोर्चाको भनाइ छ। राष्ट्रिय आत्मनिर्भर समाजवादी अर्थव्यवस्थासहितको सामाजिक लोकतान्त्रिक समाज निर्माण गर्ने प्रमुख उद्देश्य अवधारणापत्रमा उल्लेख छ।
मोर्चाले राजनीतिक नियुक्ति, सुरक्षा निकाय, सार्वजनिक संस्थानमा हुने नियुक्तिमा सीमान्तीकृत र लोपोन्मुख समुदायको पहिचान नै सूचीकृत गर्ने, निर्वाचन आयोगलगायत संवैधानिक निकाय, सरकारी सेवालगायत राज्यका सम्पूर्ण क्षेत्र र तहमा महिलाको न्यूनतम ३३ प्रतिशत आरक्षण व्यवस्था गर्ने मोर्चाको अवधारणा छ।
मोर्चाका समेत संयोजक रहेका फोरम अध्यक्ष यादवले मोर्चा गठनले नेपाली राजनीतिमा नयाँ शक्तिको उदय भएको बताए। उनले तीन ठूला राजनीतिक दल असफल भइसकेको भन्दै पछाडि पारिएका समुदायको प्रतिनिधित्व गर्ने यस नयाँ शक्तिले मात्र नयाँ नेपाल निर्माण गर्नसक्ने दाबी गरे।
मोर्चाका अर्का नेता भण्डारीले सत्ता लम्ब्याउने षडयन्त्र पूरा हुन नदिने बताए। विभेदले विद्रोह, विद्रोहले विखण्डन जन्माउने भन्दै त्यसलाई रोक्न सबै प्रकारका विभेदको अन्त्य हुनुपर्ने उनले बताए। ‘त्यसका लागि मधेसी, पहाड र हिमालका पीडितहरू एकै ठाउँ भेला भएका छौं।'
ताम्सालिङ नेपालका राष्ट्रिय दलका अध्यक्ष परशुराम तामाङले राजनीतिक रुपमा एकताको बाटो र मुद्दाको रुपमा सहमतिको मोर्चा भएको जानकारी दिए। अवधारणापत्रमा १३ दल सहमत भए पनि हाललाई सात दलले हस्ताक्षेर गरेको उनले बताए। एमाले र कांग्रेसमा रहेका प्रगतिशील चरित्रका नेता-कार्यकर्ता पनि मोर्चामा सामेल हुने उनले दाबी गरे।

प्रकाशित: १५ आश्विन २०६९ २२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App