१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

बन्द गर्दैमा पूर्वराजाप्रति जनताको आस्था बन्द हुँदैन : थापा

तनहुँ, असोज ५ (नागरिक)- एक साता लामो धार्मिक भ्रमणमा निस्केका पूर्वराज ज्ञानेन्द्र शाहको भ्रमण विथोल्न बन्दको घोषणा गरिए पनि पूर्व राजसंस्थाप्रतिको आस्था र विश्वास बन्द नहुने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले बताएका छन्।
जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न शुक्रबार गोरखा पुगेका उनले पूर्वराजाको भ्रमण प्रभावित गर्न जिल्ला नै बन्द गर्नु संवैधानिक नागरिक अधिकार र पूर्वराजाको मानव अधिकारमाथि हस्तक्षप भएको दाबी गरे।

'कांग्रेस-एमालेजस्ता प्रजातान्त्रिक दलले पनि बन्द आह्‍वान गरे,' उनले भने, 'बन्दमा उनीहरुको संलग्नता सुन्दा आश्चर्य लागेको छ।' पूर्व राजा ज्ञानेन्द्रको शुक्रबार म्याग्दीको बेनीस्थित शिवालय मन्दिर र शनिबार बिहान घतानमा रहेको गलेश्वर मन्दिर दर्शन र पूजाआजा गर्ने कार्यक्रमलाई विथोल्न म्याग्दीका राजनीतिक दलले शुक्रबार बन्दको घोषणा गरेको थियो। सुरक्षाका कारण पूर्व राजाले भ्रमण स्थगित गरेपछि बन्द स्वतः खुलेको थियो।

पूर्व राजाले धार्मिक स्थल भ्रमण गर्दा गणतन्त्र खतरामा परेको बताउने दलहरुले ल्याएको गणतन्त्र कृत्रिम धरातलमा लादिएको थापाको भनाई थियो। उनले हिन्दू राष्ट्रको पहिचान मेटाउन प्रयास गरे पार्टी बन्दुक बोकेर निस्कने समेत चेतावनी दिए।

शीर्ष दलसहित मधेसी मोर्चाले केही दिनअघि ताजा जनादेशमा जान गरेको निर्णय स्वगत योग्य भएको भन्दै थापाले दलहरुको भर परिहाल्न भने नहुने टिप्पणी गरे। 'ताजा जनादेशमा जाने दलहरुको निर्णय राम्रो हो,' उनले भने, 'तर, ती दलले भन्दैमा भर गरिहाल्न भने सकिँदैन्।' कार्यकर्ता भेलाको सम्बोधनको क्रममा अध्यक्ष थापाले अधिकांश समय पूर्वराजा ज्ञानेन्द्र शाहको पश्चिमाञ्चल भ्रमणका विषयमा खर्चिएका थिए।

प्रकाशित: ५ आश्विन २०६९ ०८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App