१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रभावकारी कूटनीतिक सम्बन्ध विस्तारमा दुई महिला राजदूत

छिमेकी तथा मित्र राष्ट्रसँग सम्बन्ध सुमधुर बनाउन राज्यले ठूलो लगानी गरे पनि त्यसअनुसारको नतिजा प्राप्त नभएको भन्दै विदेशमा रहेका कतिपय नेपाली नियोग प्रमुखको आलोचना हुने गरेको छ । सरकारको ढुलमूले विदेश नीति तथा नियुक्ति लिएर जाने नियोग प्रमुखको भूमिकासमेत सशक्त नहुँदा बेलाबेलामा यस्ता आरोप लाग्दै आएका छन् । कूटनीतिक क्षेत्रमा लामो अनुभव प्राप्त व्यक्तिलाई जिम्मेवारी दिएर पठाउँदासमेत अन्य मुलुकसँगको सम्बन्ध विस्तार प्रभावकारी ढंगले हुन नसकिरहेका बेला राजनीतिक नियुक्तिमा नियोग प्रमुख भएर गएका दुई महिला राजदूतले भने नेपालको कूटनीतिक सम्बन्ध प्रभावकारी बनाउँदै लगेका छन् । ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल तथा इजरायलका लागि राजदूत डा. अञ्जान शाक्य नेपालसँगको कूटनीतिक सम्बन्ध बलियो पार्ने काममा अब्बल देखिएका हुन् ।  

नेपालीहरूको मुख्य श्रम गन्तव्य खाडी क्षेत्रमा एउटा पनि आफ्नै दूतावास भवन नभएको अवस्थामा राजदूत पराजुलीको सक्रियतामा ओमानको राजधानी मस्कटमा आफ्नै भवन बनाउने प्रक्रिया अघि बढेको छ । नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणका लागि मंगलबार नेपाल सरकार र ओमान सरकारबीच जग्गा प्राप्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नेपाली दूतावास भएका देशमा आफ्नै भवन बनाउने सरकारको नीतिअनुसार जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको दूतावासले जनाएको छ ।  

ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबी र नेपालका तर्फबाट राजदूत पराजुलीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार ओमानको कूटनीतिक हाताभित्र ४१०० वर्ग मिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको छ । २० वर्षपछि आपसी सहमतिमा सम्झौताको अवधि बढाइने ओमानस्थित नेपाली दूतावासले जनाएको छ । आफ्नै दूतावास भवन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी सम्झौतापछि नागरिकसँग कुरा गर्दै राजदूत पराजुलीले यसलाई कूटनीतिमा ऐतिहासिक क्षण भएको बताइन् । ‘यो नेपाल हाम्रा मित्र राष्ट्रहरूसँग आफ्नो सम्बन्ध विस्तारका लागि पूर्ण रूपमा प्रतिबद्ध छ भन्ने अरब मुलुकहरूका लागि एउटा सन्देश हो,’ उनले भनिन् । ‘यो यहाँ बस्ने सबै नेपालीका लागि पनि गर्वको कुरा हो,’ उनले थपिन् । ओमानमा आफ्नै भवनसहितको दूतावास हुँदा खाडी क्षेत्रमा रहेका करिब १५ लाख नेपालीको सुरक्षा तथा स्थायित्वमा पनि योगदान पुग्ने विश्वास गरिएको छ । दुईपक्षीय भेटमा नेपाल र ओमानबीच व्यापार, लगानी, पर्यटनलगायतका क्षेत्रमा समेत आगामी दिनमा सहकार्य बढाउँदै लैजानेबारे कुराकानी भएको थियो ।  

इजरायलका लागि नेपाली राजदूत शाक्यले पनि नेपालीको श्रम गन्तव्य मुलुकमा रहेर रोजगारीका अवसर सिर्जना गर्ने तथा इजरायलको सहयोगमा नेपालमा महत्वपूर्ण परियोजना अघि बढाउने विषयमा पहल गर्दै आएकी छिन् । विश्व कोभिड–१९ को संकटबाट गुज्रिरहँदा रोजगारदाता मुलुकबाटसमेत धमाधम नेपाली फर्किरहेका बेला नेपालबाट इजरायलको नर्सिङ क्षेत्रमा केयरगिभर लैजाने सम्बन्धमा हालै छलफल सम्पन्न भएको छ ।  

नेपालीको इमान्दारी, कामप्रतिको लगनशीलताका कारण इजरायल नेपालबाट केयरगिभर लैजान सकारात्मक बनेको हो । नेपालीको आकर्षक रोजगार गन्तव्यसमेत रहेको इजरायलमा विगतमा सुरक्षालगायतका कारणले नेपालबाट श्रमिक पठाउने प्रक्रिया रोकिएकोमा दूतावासको पहलमा हालै सरकारीस्तरमा सम्झौता गरेपछि नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, डे केयर सेन्टरलगायत) मा नेपाली केयरगिभर पठाउने बाटो खुलेको छ ।  

कामदारको सुरक्षाका हिसाबले पनि इजरायल सुरक्षित मुलुक रहेकाले त्यहाँको श्रम बजारमा नेपाली श्रमिक पठाउन नेपाल तयार भएको हो । हालै भएको सहमतिअनुसार नेपाल सरकारले स्वीकृति दिनासाथ पहिलो वर्ष करिब ५०० नर्सिङ क्षेत्रका नेपाली इजरायल जानेछन् । पहिलो प्रयास सफल भएमा यसले आगामी वर्षमा समेत निरन्तरता पाउने, संख्या पनि थपिने र घरेलु केयरगिभिङ तथा अन्य क्षेत्रमा पनि नेपालीलाई पठाउन बाटो खुल्ने दूतावासले जनाएको छ ।

त्यस्तै इजरायलको सहयोगमा नेपालमा एग्रिकल्चरल सेन्टर अफ एक्सेलेन्स खोल्ने तयारीसमेत भएको छ । यसले नेपालमा कृषि क्षेत्रमा हुने अध्ययनमा ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ । हालै मात्र नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा (भिषा) आवश्यक नपर्ने सम्झौतासमेत भएको छ । इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा दुई देशबीच भएको सम्झौताअनुसार कूटनीतिक राहधानीबाहक नेपाली तथा इजरायली नागरिकलाई बढीमा ९० दिनसम्म भिषा लिन नपर्ने भएको छ । उक्त सम्झौतामा नेपालका तर्फबाट राजदूत डा. अञ्जान शाक्य र इजरायलका तर्फबाट परराष्ट्रमन्त्री गाबी आश्केन्जीले हस्ताक्षर गरेका थिए ।

प्रकाशित: १० भाद्र २०७७ ०२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App