१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

वीपीको जग्गा व्यापारीलाई दिन मन्त्री नै लागेको आरोप

प्रदेश १ को प्रमुख विपक्षी दल काँग्रेस संसदीय दलले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पत्ति व्यापारिक घरानालाई सुम्पने सेटिङ मन्त्रीकै संलग्नतामा सुरु भएको गम्भीर आरोप लगाएको छ । शनिबार बिहान भर्चुअल पत्रकार सम्मेलन आयोजना गरी संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रतिष्ठानको सम्पत्ति व्यापारिक घरानालाई सुम्पने कामको काँग्रेसले कडा प्रतिरोध गर्ने बताएका छन् ।

प्रतिष्ठानको सिनेट बैठकले चलअचल सम्पत्ति जग्गामा स्वास्थ्य सेवा विस्तार गर्न स्थानीय एवं सरोकारवालाहरुसँग छलफल गरी सम्भाव्यता अध्ययन गर्न समिति बनाउने निर्णय गरेको छ । समिति बनाउने अधिकार कार्यसमितिलाई दिएको र कार्यसमितिले सम्भाव्यता अध्ययन गर्ने एक समिति गठन गर्ने  निर्णय भएको छ । यसलाई काँग्रेसले मन्त्री र उपकुलपतिको संलग्नतामा भएको सेटिङ भनेको हो ।

यो पनि पढ्नुहोस्

वीपीको जग्गा व्यापारीलाई दिने सिनेटको एजेण्डा प्रति कर्मचारी समाजको विरोध

'स्वास्थ्य मन्त्री एवं वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहकुलपति भानुभक्त ढकाल र प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीको संलग्नतामा बीपी प्रतिष्ठानको जग्गा व्यापारीलाई सुम्पने सेटिङका आधारमा सिनेटमा प्रस्ताव लगिएको छ', कार्कीले भने 'काठमाडौंको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भइरहेको प्रतिष्ठानको सिनेट बैठकमा बीपी प्रतिष्ठानको चलअचल सम्पत्तिउपर मनोमानीपूर्वक खेलबाड गरिएको हो ।'

 

उनका अनुसार  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ४ को उपदफा ३ मा प्रतिष्ठानले व्यक्तिसरह चल र अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्ने उल्लेख छ । त्यही प्रावधानको दुरुपयोग गर्दै प्रतिष्ठानको स्वामित्वमा रहेको जग्गा आफू निकट व्यापारिक घरानालाई दिन स्वास्थ्य मन्त्री र उपकुलपति लागि परेको उउनको दलिल छ । 'यसको हामी तीव्र विरोध गर्दछौँ र प्रतिष्ठानको अस्तित्व नै समाप्त पार्ने गरी ल्याइएको प्रस्ताव सच्याउन जोडदार आग्रह गर्दछौँ ।' कार्कीले कोरोना नियन्त्रण र उपचारमा प्रदेश सरकार विफल भएको दाबी पनि गरेका छन् ।

प्रकाशित: ३१ श्रावण २०७७ ०४:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App