coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

जसपामा पदाधिकारी छान्न सकस

जनता समाजवादी पार्टीमा पदाधिकारी, राजनीतिक समिति र केन्द्रीय समिति चयन गर्न पार्टीअध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवलाई सकस परेको छ। पार्टी दर्ता गर्न निर्वाचन आयोगमा बुझाइएको डकुमेन्टमा ५१ सदस्यीय कार्यकारिणी समितिको नाम राखिएको छ। कार्यकारिणी समितिमा राखिएका सबै सदस्य पार्टी पदाधिकारी रहेको बताइएको छ। तर, कुन व्यक्तिलाई कुन पद दिने भन्नेबारे निर्णय गर्न पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवलाई अप्ठयारो परेको छ। ठाकुर र यादवले अहिलेसम्म पार्टी अध्यक्षबाहेक कुनै पद चयन गर्न सकेका छैनन्। हाल पार्टीमा सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, सहमहासचिव, कोषाध्यक्ष र प्रवक्ता सबै पद खाली छन्।  

यसैगरी संसदीय दलको नेता कसलाई बनाउने भन्नेमा पनि पार्टीभित्र विवाद सुरु भएको छ। राजेन्द्र महतोले सुरुदेखि नै संसदीय दलको नेता हुन चाहेका छन्। बाबुराम भट्टराईलाई राष्ट्रिय परिषद्को अध्यक्षको जिम्मेवारी दिने सहमति यसअघि  करिब करिब भएको नेताहरू बताउँछन्। तर, यसबारे निर्णय गर्न ठाकुर र यादवले सकेका छैनन्।  

जनता समाजवादीले एक सय २१ सदस्यीय राजनीतिक समिति तथा ७ सय ५१ सदस्यीय केन्द्रीय समिति मनोनयन गर्न बाँकी छ। तत्काल राजनीतिक समिति र केन्द्रीय समिति मनोनयन गर्न पार्टीका दोस्रो तहका नेताले पार्टी नेतृत्वलाई लगातार दबाब दिइरहेका छन्। कार्यकारिणी समितिमा नअटाएकाहरूलाई पदाधिकारी र केन्द्रीय समितिमा राख्ने आश्वासन ठाकुर र यादवले दिएका छन्। 

राजनीतिक समिति तथा केन्द्रीय समिति बनाउन हामी (पूर्वसमाजवादी) बाट त्यति समस्या छैन, उता (पूर्वराजपा)मा टुंगो लगाउन ढिलो भएको हो। –उपेन्द्र यादव 

पूर्व राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले राजनीतिक समिति र केन्द्रीय समिति चयन गर्न पार्टीभित्र आन्तरिक छलफल भइरहेको बताए। उनले भने, ‘यसबारे नेताहरूले प्रयास गरिराख्नु भएको छ।’

पूर्व राजपाका केन्द्रीय सदस्य साढे आठ सय छन्, पदाधिकारी एक सय ३१ जना छन्। महासचिव मात्र ३१ जना छन्। पूर्व समाजवादी पार्टीमा चार सयको हाराहारीमा केन्द्रीय सदस्य छन्। तत्कालीन राजपा र समाजवादी पार्टीका पदाधिकारीको व्यवस्थापन कसरी गर्ने भन्ने अर्को समस्या छ। राजपा र समाजवादीका केन्द्रीय सदस्यलाई एकीकृत पार्टीको केन्द्रीय समितिमा राख्ने हो भने केन्द्रीय सदस्यको संख्या १३ सयभन्दा बढी हुन्छ तर जसपाको केन्द्रीय समिति ७ सय ५१ सदस्यीय भन्दा ठूलो नबनाउने सहमति भएको छ।  

पूर्व राजपाका केन्द्रीय सदस्य सबर प्रजापतिले नवगठित पार्टीको राजनीतिक समिति र केन्द्रीय समिति तकाल गठन गर्नुपर्ने माग राखेका छन्। ‘राजनीतिक समिति र केन्द्रीय समिति गठन गर्न जति ढिलो हुन्छ, त्यति नै अन्योल थपिँदै जान्छ,’ उनले भने, ‘त्यसैले यस विषयमा पार्टी नेतृत्व गम्भीर हुनुपर्छ ।’

प्रकाशित: १० श्रावण २०७७ ०४:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App