१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

परराष्ट्रले भन्यो : प्रधानमन्त्रीको भनाईमा कसैको संवेदनामा ठेस पुर्‍याउने नियत छैन

   सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २०७ औँ भानु जयन्तीका अवसरमा दिएको अभिव्यक्तिप्रति विविध व्याख्या र प्रस्तुतीकरण भएकामा गम्भीर ध्यानाकर्षण भएको बताएको छ। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले कसैको भावना र संवेदनामा ठेस पुर्‍याउने नियत नरहेको स्पष्ट गरेको छ ।      

    नेपाली भाषामा रामायणका लेखक आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा सोमबार प्रधानमन्त्रीले दिएको अभिव्यक्ति कुनै पनि राजनीतिक विषयसँग सम्बन्धित नरहेको र कुनै पनि व्यक्तिको संवेदना र भावनामा ठेस पुर्‍याउने नियत नरहेको जनाएको छ।      

    श्रीराम र उनीसँग सम्बन्धित धेरै स्थानका बारेमा बहुधा कल्पित कथा र प्रसङ्ग रहेको र सोही सन्दर्भमा प्रधानमन्त्रीले रामायण र श्रीरामसम्बन्धी विशाल सांस्कृतिक भूगोलका साथै राम र रामायणसँग सम्बन्धित उन्नत सभ्यताको थप अध्ययन–अनुसन्धान गर्नुपर्ने महत्व दर्शाउने क्रममा टिप्पणी गरेको मन्त्रालयले जनाएको छ। “अयोध्याको महत्व र त्यसको सांस्कृतिक मान्यता अवमूल्यन गर्नेतर्फ प्रधानमन्त्रीज्यूको अभिव्यक्ति लक्षित थिएन”, विज्ञप्तिमा भनिएको छ।      

    परम्परागत रुपमा विवाह पञ्चमी महोत्सवको आयोजना हुने गरेको र भारतको अयोध्याबाट नेपालको जनकपुरमा हरेक वर्ष जन्ती आउने गरेको उल्लेख गर्दै विज्ञप्तिमा दुई वर्षअघि नेपाल र भारतका प्रधानमन्त्रीले जनकपुर–अयोध्या यात्रु बस सेवा प्रारम्भ गरेको स्मरण गरिएको छ। ‘यी वास्तविकताले लामो समय देखिको नेपाल र भारतका साथै दुवै देशका जनताको सम्बन्धलाई पुष्टि गर्दछ’, परराष्ट्र मन्त्रालयले भनेको छ।      

 

प्रकाशित: ३० असार २०७७ १४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App