१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुपर्ने निर्णय कोहलपुरको नगर सभाबाट पारित

कोहलपुर नगरपालिकाले बाँके र बर्दियालाई प्रदेश पाँचबाट अलग गरेर कर्णाली प्रदेशमा गाभ्नुपर्ने निर्णय गरेको छ । नगरपालिकाको हालै सम्पन्न सातौं नगर सभाबाट कर्णाली प्रदेशमा गाभ्नुपर्ने निर्णय सर्वसम्मत रुपले पारित गरेको हो । यसअघि नेपालगन्ज उपमहानगरपालिकाले पनि बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने नगर सभाबाट पारित गराएको थियो ।  

प्रदेश पाँचको स्थायी राजधानी अन्ततः बुटवललाई नै कायम गर्ने सम्भावना रहेको भन्दै कोहलपुर नगरपालिकाको नगर सभाले कर्णालीमा गाभिने निर्णय गरेको नगर प्रमुख लुटबहादुर रावतले बताए । ‘पाँच नम्बर प्रदेशको राजधानी अहिलेसम्म निश्चित नभएको अवस्था, अर्को कुरा बहुमतको आधारमा राजधानी उतै बुटवल बन्छ भन्ने कुरा यहाँका आम जनताले बुझिसकेपछि अब बुटवलभन्दा हामीलाई कर्णाली नै पायक पर्ने भएको हुँदा बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुपर्ने निर्णय सभाले पारित गरेको हो,’ नगर प्रमुख रावतले भने ‘कर्णाली प्रदेशको राजधानी सुर्खेत हरेक हिसाबले बाँके र बर्दियालाई उपयुक्त छ, बिहान सुर्खेत पुगेर दिनभर काम गराएर पनि बेलुका सबेरै घर फर्किन सकिन्छ, तर बुटवल पुगियो भने एक दिनमा फर्किन सम्भव हुदैन ।’ कर्णाली प्रदेशमा गाभेको खण्डमा बाँके र बर्दियाका जनतालाई न्याय हुने नगर प्रमुख रावत बताउँछन् ।  

बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने भन्दै विगतदेखी नै यहाँ विभिन्न दवाव मुलक कार्यक्रम हुदै आएका छन् । नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्वमा पटक–पटक छलफल, अन्तरक्रिया गर्नुका साथै दवाव समिति समेत निर्माण गरिएको थियो । प्रदेश पाँचको अस्थायी राजधानी बुटवललाई तोकेपछि बाँके र बर्दियाबासीले कर्णालीमा मिल्नुको विकल्प नभएको बताउँदै आएका छन् । कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी थारु प्रदेश पाँचको राजधानी बुटवल अपायक पर्ने भएका कारण कर्णालीमा गाभिनुपर्ने आम जनताको माग रहेको बताइन् । ‘बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुपर्ने विषयमा मन्त्री र सांसदलाई पटक पटक अनुरोध गरेका हौं, तर कतै सुनुवाई नभएपछि नगर सभाबाट सर्वसम्मत रुपमा पारित गराएका छौं,’ उनले भनिन् ।  

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलसम्शेर राणाले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नु नै उत्तम विकल्प भएको बताए । ‘हामीले त एक÷डेढ वर्ष पहिले देखी नै यो मुद्दालाई प्रमुख रुपमा उठाउँदै आएका छौं, जबसम्म हाम्रो माग पुरा हुदैन, तबसम्म यो मुद्दालाई छाड्ने वाला छैनौं,’ उनले भने ‘बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नका लागि हामीले पटक पटक छलफल तथा अन्तरक्रिया गरेका छौं, समिति गठन गरेर पनि दवाव मुलक कार्यक्रम गरिरहेका छौं ।’

प्रकाशित: २९ असार २०७७ १५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App