१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पार्टीभित्र गम्भीर समस्या छ तर पार्टी फुट्दैन : अध्यक्ष दाहाल

चितवनको भरतपुरमा आइतबार पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर : सूर्यप्रकाश/नागरिक

पार्टीभित्रको समस्याले समाधान नपाएपछि तनाव छल्न शनिबार चितवन आइपुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र गम्भीर समस्या सिर्जना भएको तर पार्टी नफुट्ने दाबी गरेका छन् । नेकपा जिल्ला कार्यालय भरतपुरमा आइतबार दिउँसो जिल्ला तहका कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘तपाइहरु सबैलाई थाहै छ, पार्टीभित्र गम्भीर समस्या सिर्जना भएको छ । तर, यो होइन कि पार्टी फुटिहाल्छ ।’ उनले हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन आफू हदैसम्म लचकताकासाथ लागिपरेको भन्दै ठूलो पार्टीमा विवाद आउनु नौलो नहुने बताए ।

पार्टी विधि र पद्धतिमा चल्नुपर्ने भन्दै अध्यक्ष दाहालले जारी बैठकको निष्कर्ष नआउँदै अध्यक्षले बोल्नु उपयुक्त नहुने धारणा व्यक्त गरे । उनले पार्टी एकताबाट भाग्ने वा बहानाबाजी गर्ने छुट कसैलाई नभएको बताए । कार्यकर्तामाझ बोल्दै उनले भने, ‘पार्टीलाई विधि र पद्धतिमा हिँडाएर एकतावद्ध बनाउन तपाईं कार्यकर्ताहरुको रचनात्मक दबाव आवश्यक छ ।’ दुई ठूला पार्टीबीचको एकता अभूतपूर्व भएकोले यसलाई बचाइराख्नु पार्टीमा रहेका सबैको दायित्व भएको उनको भनाइ थियो ।

राष्ट्रिय हित र अखण्डताको लागि आफूहरुबीच कुनै असहमति नरहेको प्रष्ट्याउँदै अध्यक्ष दाहालले भने, ‘पार्टीको स्थायी समितिको बैठकबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा प्रकाशन गर्न सर्वसम्मत निर्णय गरी सरकारलाई निर्देशन गरिएको थियो ।’ सरकारले नयाँ नक्सा जारी गरेकोमा सरकार र प्रधानमन्त्रीलाई जारी बैठकले धन्यवाद समेत दिएको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले आयोजना गरेको उक्त कार्यकर्ता भेला जिल्ला अध्यक्ष यमबहादुर परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।  

यसैबीच, अध्यक्ष दाहालले आइतबार बिहान जिल्ला विपद व्यवस्थापन समिति चितवनको बैठकलाई सम्बोधन गर्दै कोरोना महामारी र प्राकृतिक प्रकोपको एकजुट भएर सामना गर्न आग्रह गरेका छन् । उनले अहिले बाढी, पहिरोको उच्चजोखिम रहेको भन्दै यस्तो बेलामा पार्टीको बैठकभन्दा जनतासँग जाने कुरा मुख्य हो भनेर आफूहरुले बैठक रोकेको बताए ।

प्रकाशित: २८ असार २०७७ १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App