६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले किन भेटे राष्ट्रपतिलाई ?

फाइल तस्बिर।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद तीव्र बनिरहेका बेला प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। पार्टी स्थायी कमिटी बैठक जारी रहेका बेला प्रधानमन्त्री ओलीले मंगलबार बिहान र साँझ दुई पटक राष्ट्रपति भवन शीतलनिवास पुगी राष्ट्रपति भण्डारीलाई भेटेका हुन्।  

राष्ट्रप्रमुख र सरकार प्रमुखबिच मुलुकको पछिल्लो अवस्थाबारे नियमित छलफल हुनु स्वाभाविक हो। तर, सत्तारुढ पार्टीभित्रको विवाद बढ्दै गएपछि विगतमा पनि राष्ट्रपतिले चासो र सक्रियता देखाउँदै आएकी थिइन्। सरकारप्रमुख र राष्ट्रप्रमुखको पछिल्लो भेटघाटमा नेकपाभित्रको आन्तरिक विवाद र त्यसले उत्पन्न गर्नसक्ने अवस्थाबारे छलफल भएको हुनसक्ने नेकपाकै नेताहरूको बुझाइ छ।

‘नेकपाको आन्तरिक विवादमा उहाँ (राष्ट्रपति) को अनावश्यक चासो र सक्रियता विगतदेखि नै छ,’ नेकपाका एक नेताले भने, ‘प्रधानमन्त्री र राष्ट्रपतिको पछिल्लो भेट पनि सोही सन्दर्भमा भएको सहजै अनुमान लगाउन सकिन्छ।’ राष्ट्रपतिलाई सक्रिय शासन गर्ने भोक जागेको आरोप लगाउँदै ती नेताले भने, ‘नेकपाको बैठक सुरु भएकै दिन गत बुधबार संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतालाई बोलाएर राष्ट्रपतिले सरकारले राम्रो काम गरिरहेको छ भनेर पार्टीभित्र दबाब खडा गर्न खोजिएको हो।’

मुलुकको राष्ट्रियता र सीमा विवादमा सबै राजनीतिक दल सधैँ एकै ठाउँमा उभिएको जनाउँदै राष्ट्रपतिको सक्रियताप्रति असन्तुष्ट ती नेताले भने, ‘संसद्ले नयाँ नक्सा जारी गरेकोमा राजनीतिक दललाई बधाई दिने अधिकार राष्ट्रपतिदेखि सबैलाई छ। तर, त्यो उपयुक्त समय थिएन। त्यसलाई देखाएर नेकपाभित्र अगुल्टो हान्ने काम गरिएको हो। जुन विगतमा पनि गर्दै आउनुभएको छ।’      

संसद् सचिवालयमा कार्यरत महिलामाथि यौनहिंसाको अभियोगमा तत्कालीन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा गरेपछि नयाँ सभामुख चयन, दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच यसअघि आएको दरार मिलाउनसहित विषयमा राष्ट्रपतिको सक्रियता रहेको नेकपाकै नेताहरूले बताउँदै आएका छन्।

प्रकाशित: १७ असार २०७७ ०३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App