७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

राष्ट्रसंघको सैनिक सल्लाहकारमा उपरथि अधिकारीको उम्मेदवारी

<div>उपरथी प्रेमध्वज अधिकारी<br></div>

सरकारको नेतृत्व र सैनिक नेतृत्व परिवर्तन भएसँगै संयुक्त राष्ट्रसंघको सैनिक सल्लाहकार (मिलाड) पदमा नेपाली सेनाले उम्मेदवारी दिएको छ।

नेपाली सेनाले उपरथी प्रेमध्वज अधिकारीलाई सैनिक सल्लाहकारको उम्मेदवारी बनाई पठाएको हो।

यसअघि सो पदमा सैनिक अधिकृतहरूको योग्यता अभाव देखाउँदै उम्मेदवारी नदिने जनाएको नेपाली सेनाले पुनः उम्मेदवारी दिने निर्णय गर्दै उपरथीलाई सिफारिससमेत गरेको थियो।

तत्कालीन प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई उम्मेदवारीको अवसर र सम्भावित नियुक्तिलाई समेत बेवास्ता गरेका थिए। तर उम्मेदवारी दाबी गर्ने समय लम्बिएका कारण नेपाली सेनाले उक्त अवसर पाएको हो। त्यसकारण उपरथी अधिकारीले सो पदमा दाबी पेस गरेका छन्।

राष्ट्रसंघको मुख्यालय न्युयोर्कबाटै सो पदमा दाबी गर्न प्रस्ताव आए पनि गत जेठमा रक्षा मन्त्रालयले नेपाली सेनाका तर्फबाट अहिले अनुकूल उम्मेदवार नभएको जबाफ पठाएको थियो। तर अहिले प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देलबीच भएको कुराकानीपछि सो पदमा उम्मेदवारी दाबी गरिएको हो।

त्यतिबेला नेपालले सो पदमा दाबी नगर्दा योग्य सैनिक अधिकृतहरूको क्षमतामाथि प्रश्न उठेको थियो। राष्ट्रसंघको संरचनामा संसारकै शक्तिशाली सैनिक पदमध्ये एक मानिएको सैनिक सल्लाहकारमा यसअघि दाबेदारी प्रस्तुत गर्नबाट नेपाल वञ्चित भएपछि सैनिक वृत्तमा मात्र होइन, तत्कालीन सरकारमाथि नै कार्यक्षमताको प्रश्न उठेको थियो।

यो विषयमा प्रधानमन्त्री ओलीले पूर्वसेनापति शर्माको निर्णयलाई तत्काल पुनर्विचार गरी सक्षम जर्नेललाई सो पदमा दाबेदारी पेस गर्न प्रधानसेनापति सिग्देललाई निर्देशन दिएका थिए।

युएनको शान्ति सैनिक मिसनमा नेपालको सहभागिता विश्वमै नम्बर एक मुलुकका रूपमा रहेको बेला सैनिक सल्लाहकारमा दाबी नगर्दा सैनिक अधिकारीहरूले असन्तुष्टिसमेत जनाएका थिए।

नेपाली सेनाले शान्ति सेना पठाउने क्रममा उच्च तहको पदका रूपमा विभिन्न मुलुकमा सात पटक फोर्स कमान्डर हुने मौका पाएको छ।

साथै, नेपाली सेनाले संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा सहायक सैनिक सल्लाहकार हुने अवसर पाएको थियो। त्यतिबेला रथी चित्रबहादुर गुरुङ सहायक सल्लाहकार भएका थिए।

यस वर्ष राष्ट्रसंघले नेपाललाई आवेदनका लागि आग्रह गरेको सैनिक सल्लाहकार पद भने अवसरका हिसाबले अहिलेसम्मकै ठुलो भए पनि तत्कालीन प्रधानसेनापति शर्माले कसैलाई पनि पठाउन चाहेका थिएनन्।

२०७८ असोजमा गोलनहाइटमा फोर्स कमान्डर रथी ईश्वर हमालले जिम्मेवारी सम्हालेका बेला अवकाश भए पनि उनलाई जिम्मेवारी लिइरहन सरकारले अनुमति दिएको थियो।

५८ वर्ष पुगेपछि उनको रथीका रूपमा नियमित अवकाशको समय भएको थियो। दुई वर्षको जिम्मेवारी सकिन १० महिना बाँकी रहेका कारण नेपाली सेनाले फोर्स कमान्डरका रूपमा उनलाई त्यहाँ राखेको थियो।

२०७४ सालमा कंगोको फोर्स कमान्डरका लागि रथी चाहिने भएपछि त्यस बेला उपरथी रहेका गौरव तन्डुललाई प्रतिस्पर्धा गर्न रथीमा बढुवा गरी पठाइएको थियो। तर उनी प्रतिस्पर्धाबाट बाहिरिएका थिए।

प्रकाशित: ६ आश्विन २०८१ २३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App