१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको भनाइ गैरराजनीतिक: कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन भारत लागिपरेको भन्ने प्रधानमन्त्रीको धारणा आपत्तिजनक भएको बताएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय समिति बैठकमा संसद् र संसदीय दलमा स्पष्ट बहुमतमा रहेका प्रधानमन्त्रीले गैरराजनीतिक अभिव्यक्ति आउनु आपत्तिजनक भएको ठहर गरेको हो।

‘नक्साको विषयलाई आफूले दिएको अटोग्राफजस्तो सोचेर पारित भएपछि मलाई हटाउनतर्फ अमुख देश लाग्यो भन्ने अभिव्यक्ति गैरजिम्मेवार, कूटनीतिक मूल्य मन्यताभन्दा बाहिरको छ,’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘नक्सा पारित गरेको विषय एक प्रधानमन्त्रीको विषय होइन। सिंगो देश एक भएर संसद्ले पारित गरेको नक्सा हो। सबैको साझा स्वामित्व छ।’  

भूमि फिर्ता ल्याउन पहल गर्नुको साटो भारतले आफूलाई हटाउन लाग्यो भनेर प्रधानमन्त्रीले विषयान्तर गर्न खोजेको भन्दै उनले भने, ‘संविधानले बहुमतबाट सरकार बनाउने र हटाउने अधिकार दिएको छ। दुईतिहाइको सुविधा हुँदा पनि अनुकूल परिस्थितिलाई प्रतिकूलतातर्फ बदल्न खोजिँदैछ। जुन आपत्तिजनक छ।’  

कोरोना भाइरसको संक्रमणपछि पार्टीको १४औं महाधिवेशनको पूर्वार्निधारीत कार्यतालिका प्रभावित भएपछि त्यसलाई संशोधन गर्न बसेको बैठकले फागुन ७ गतेको अन्तिम मितिलाई कायमै राख्दै अन्य तालिका भने संशोधन गरेको छ।    

फागुन ६ गतेबाट काठमाडौंमा १४औं महाधिवेशन गर्ने मितिलाई कायम राख्दै बैठकले संगठन समायोजन, सदस्यता वितरण र छानविनसहित तल्लो तहका अधिवेशनका मिति दुई महिना पर धकलिएको छ।  

त्यस्तै, बैठकले संविधान र प्रचलित कानुनभन्दा बाहिर गएर संसद्को राज्य व्यवस्था समितिले नागरिकता विधेयक अघि बढाएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। संविधान र प्रचलित कानुनबाहिर गएर कुनै पनि ऐन कानुन बनाउने कुरा स्वीकार्य नहुने केन्द्रीय सदस्य रामकृष्ण यादवले बताए। बैठकले सरकार कोरोना भाइरस नियन्त्रणमा गम्भीर नभएको भन्दै असन्तुष्टि जनाएको छ।

प्रकाशित: १७ असार २०७७ ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App