१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकारले सुनेन भन्दै कान थुनेर बोलिन सांसद घले

प्रदेश १ सरकारको कार्यशैलीप्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसद आक्रामक बन्दै गएका छन्। आर्थिक वर्ष २०७७–७८ को बजेटमाथिको छलफलमा भाग लिँदै प्रदेश सभामा बोल्ने अधिकतर नेकपा सांसद विपक्षीहरुभन्दा कडा रुपमा सरकारमाथि खनिन थालेका छन्।

बिहीबार संसद बैठकको शून्य समयमा पनि यसले निरन्तरता पायो। सत्तारुढ सांसद कला घलेलाई सभामुख प्रदीपकुमार भण्डारीले बोल्ने समय दिए। रोष्ट्रममा पुग्नासाथ उनले आफ्ना दुवै हातले कान थुनिन् अनि बोल्न थालिन्। उनले सुरुमै प्रश्न गरिन ‘यो प्रदेश सरकार कामकाजी हो कि नामकाजी मात्रै ?’ उनी निरन्तर कान थुनिरहेकी थिइन्। उनले थप्दै गइन् ‘आज दुःखका साथ भन्दैछु हाम्रो प्रदेशको बजेट विनियोजन न्यायोचित भएन। मन्त्रीका निर्वाचन क्षेत्रमा बजेट र योजना हुलका हुल छुट्याइएको छ , मान्नप्यहरुको क्षेत्रमा फाटफुट मात्रै। यो के हो ? जुँगाको लडाईं ?’

सत्तारुढ सांसदहरुकै कुरा पनि सरकार र मन्त्रीहरुले नसुनेको भन्दै उनले आफू कान थुनेर बोल्न बाध्य भएको बताइन। ‘आज म कान थुनेर बोल्न बाध्य भएँ’, उनले भनिन् ‘यो सरकारले सुन्दैन, सुनेन।’

यसपटकको बजेटमाथिको छलफलमा सत्तारुढ सांसदहरुले सरकारको कडा शब्दमा आलोचना गर्दै आएका छन्। सरकार एक्लै हिंड्न खोजेको, मन्त्रीहरु जथाभावी काममा अग्रसर बनेको , आफ्नो निर्वाचन क्षेत्रमा मात्रै मन्त्रीहरु केन्द्रीत बनेको आरोप सत्तारुढ सांसदहरुले लगाउँदै आएका छन्।  

 

 

 

 

 

 

प्रकाशित: ११ असार २०७७ ०७:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App