coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जनता समाजवादीमा राजकिशोर र झालाई मनाउने प्रयास

नवगठित जनता समाजवादीका शीर्ष नेताले असन्तुष्ट नेता राजकिशोर यादव र अनिल झालाई पार्टीको कार्यकारिणी समितिमा कोटा दिएर मनाउने प्रयास गरेका छन्। असन्तुष्टलाई मनाउन यादव र झालाई पार्टीको कार्यकारिणी समितिमा एक/ एकवटा कोटा दिने तयारी भएको स्रोतले जनाएको हो।

पार्टीअध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव तथा नेताद्वय बाबुराम भट्टराई र राजेन्द्र महतो राजकिशोर र झालाई कार्यकारिणी समितिमा एक÷एक सिट दिन सहमत भएका छन्। यादव विराटनगरबाट काठमाडौ फर्केपछि पार्टीका शीर्ष नेताले बैठक गरी राजकिशोर र झाको असन्तुष्टिलाई सम्बोधन गरिने तयारी भएको पार्टीका एक नेताले जानकारी दिए। निर्वाचन आयोगमा बुझाइएको विधानमा पार्टीको कार्यकारिणी समिति ५३ सदस्यीय हुनेछ भनिएको छ। आयोगमा ५१ जनाको मात्र नाम बुझाइएको छ। बाँकी दुईजनाको नाम बुझाउन बाँकी नै छ। दुई सिटमा राजकिशोर र झालाई समेटिने भएको छ।

नवगठित पार्टीको कार्यकारिणी समितिमा तत्कालीन राष्ट्रिय जनता नेपालको तर्फबाट ठाकुर र महतोनिकट आठ÷आठजना, शरतसिंह भण्डारी र महेन्द्र यादवनिकट दुई/दुईजना निकट नेताहरूको नाम राखिएको छ तर राजकिशोर र झाको सिफारिसमा एक जनालाई पनि कार्यकारिणी समितिमा राखिएको छैन। आफू निकट एक व्यक्तिलाई पनि कार्यकारिणी समितिमा नसमेटिएपछि राजकिशोर र झाले आफूलाई अपमानित महसुस गरेका छन्। तापनि उनीहरूले सार्वजनिक रूपमा असन्तुष्टि पोख्न सकेका छैनन्। आफूनिकट व्यक्तिहरूलाई उकासेर पुरानो राजपालाई ब्युँझाउने  प्रयास गरेका छन्।

पुरानो राजपा ब्यँुझाउने प्रयासमा यादव र झा अगाडि नदेखिएपछि यो प्रयास पनि प्रभावकारी हुन सकेको छैन। राजकिशोर र झा सुरुदेखि नै पार्टी एकीकरण प्रक्रियाप्रति असन्तुष्ट हुँदै आएका छन्। उनीहरूको असन्तुष्टिका बाबजुद पनि तत्कालीन राजपा र समाजवादीबिचको पार्टी एकीकरण प्रक्रिया सफल भएको छ।

प्रकाशित: ४ असार २०७७ ०६:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App