७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरिता गिरीबारे पूर्वसमाजवादी विभाजित

जनता समाजवादीकी सांसद सरिता गिरीलाई कस्तो कारबाही गर्ने विषयलाई लिएर तत्कालीन समाजवादी पार्टी विभाजित बनेको छ। एउटा पक्ष तत्काल पार्टीको सांधारण सदस्यतासमेत नरहनेगरी कारबाही गर्नुपर्ने अडानमा छ भने अर्को पक्ष गिरीप्रति नरम देखिएको छ।

पार्टी स्रोतका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादव विराटनगरबाट काठमाडौं फर्केपछि मात्रै कारबाहीको प्रक्रिया अघि बढ्ने भएको छ। उनी असार ४÷५ गतेपछि काठमाडौं फर्कने भएका छन्। पूर्वसमाजवादीकी उपाध्यक्ष रेणु यादवले पार्टी अध्यक्ष काठमाडौं फर्केपछि संसदीय दलको बैठक बस्ने र उक्त बैठकमा गिरीलाई कारबाही गर्नेबारे छलफल हुने बताइन्।

नेता बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, रेणुका गुरुङलगायत पहाडिया मूलका सांसद गिरीलाई तत्काल पार्टीको साधारण सदस्यतासमेत नरहनेगरी कारबाही गर्नुपर्ने अडानमा छन्। त्यसो गरिए गिरीको सांसद पनि नरहने उनीहरूको भनाइ छ तर पूर्वसमाजवादी मधेसी मूलका रेणु यादव, इस्तिायक राईलगायत नेता गिरीको सांसद पद कायम रहनेगरी साधारण कारबाही गर्नुपर्ने अडानमा छन्।

‘उहाँ (गिरी) ले पार्टी ह्विप उल्लंघन गरी संशोधन विधेयकको विरोधमा भोट दिनुभएको होइन। त्यसैले उहाँबाट पार्टीको ह्विप उल्लंघन भयो भन्न मिल्दैन,’ यादवले भनिन्, ‘तर पनि अब बस्ने संसदीय दलको बैठकमा यसबारे छलफल हुन्छ।’ यसैगरी पूर्वसमाजवादीका अर्का सांसद राईले कारबाहीको प्रक्रिया सुरु गर्नुअघि गिरीलाई स्पष्टीकरण सोध्नुपर्नेमा जोड दिए।

गिरी पूर्वसमाजवादीबाट खस–आर्य कोटामा सांसद भएकी हुन्। उक्त पद गुमे त्यस ठाउँमा त्यस कोटामा पहाडी मूलका नेताहरूले अवसर पाउनेछन्। त्यसैले मधसी मूलका सांसदहरूले गिरीको सांसद पद सकेसम्म कायमै राख्न चाहेको स्रोतको भनाइ छ। ‘पूर्वसमाजवादीका सहअध्यक्ष श्रेष्ठले गिरीलाई साधारण सदस्यतासमेत नरहनेगरी कारबाहीका गरेको चिठी आइतबार नै तयार गरेका थिए तर उक्त चिठीमा पूर्वसमाजवादीका प्रमुख सचेतक उमाशंकर अरगरैयाले हस्ताक्षर गरेका छैनन्,’ स्रोतले भन्यो, ‘त्यसैले कारबाहीको प्रक्रिया ढिलो भएको हो।’  

त्यसो त संविधान संशोधन विधेयकको विरोधमा संसद्मा दर्ता गराइएको संशोधन प्रस्ताव फिर्ताका लागि पूर्वसमाजवादीका अध्यक्ष उपेन्द्र यादव मतदान गर्नुअघिसम्म गिरीलाई मनाउने प्रयास गरेका थिए। मतदान गर्नुअघि बसेको पूर्वसमाजवादीका संसदीय दलको बैठकमा यादवले गिरीलाई प्रस्ताव फिर्ता लिने अह्राएका थिए। तर बैठकमा गिरीले आफू संसद्मै बोल्ने भन्दै बैठकबाट बाहिरिएकी थिइन्। सभामुखबाट उनको प्रस्ताव अस्वीकृत भएपछि उनले बोल्न पाइनन्। त्यसपछि उनी बैठकबाट बाहिरिन्।

बैठक बहिष्कार गर्नुलाई श्रेष्ठलगायत नेता पार्टीको ह्विप उल्लंघन गरेको तर्क राख्छन् भने रेणु, अरगरैयालगायत नेता बैठक बहिष्कार गर्नुलाई पार्टीको ह्विप उल्लंघन नगरेको तर्क राख्छन्। पूर्वराष्ट्रिय जनता पार्टी नेपाल र समाजवादीबीच एकीकरण भई जनता समाजवादी पार्टी निर्माण भए पनि दुवै पार्टीको संसदीय दल अलगअलग छन्।

प्रकाशित: २ असार २०७७ ०४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App