१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘अतिक्रमित भूमि फिर्ता गर्छौं’

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा कालापानी र लिपुलेक फिर्ता ल्याउने बताएका छन् ।सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले अतिक्रमित भूमि समेटेर मन्त्रिपरिषद्ले नयाँ नक्सा पारित गरेको बताउँदै थपे, ‘नयाँ नक्सा पारित भइसकेको छ, अब प्रकाशित हुन्छ, त्यसपछि संविधानसंशोधन गर्छौं र भूमि फिर्ता गर्न कूटनीतिक वार्ता गर्नेछौं ।भूमि फिर्ता लिने अठोटका साथ काम अगाडि बढाइनेछ ।’ उनले थपे, ‘हाम्रो भूमि बेकारको अकुपाई गरेर भारतले आफ्नो बनाएको छ । यो विषय सेलाउन दिइनेछैन,कूटनीतिक पहलबाट फिर्ता ल्याइनेछ ।’

प्रधानमन्त्रीले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा २०१८ सालसम्म जनगणना भएको र त्यहाँ बस्नेले नेपाल सरकारलाई तिरो तिर्ने काम भइरहे पनि त्यसपछि त्यहाँ जान रोकिएको बताए । सन् १९६२(वि.सं २०१९) मा कालापानीमा भारतीय सेना बसेपछि त्यसभन्दा पश्चिम जान रोकिएको उनले बताए ।  

उनले आफ्नो भूमि फिर्ता ल्याउने कुरा कुनै चलाखी र तथाकथित राष्ट्रवाद नभएको पनि बताए ।‘यो देखाउनका लागि होइन, यो कुनै तमासा होइन ।’ उनले कसैको उक्साहटमा नलागी आफ्नो भूमि फिर्ता लिन खोजेको बताए । ‘म सबैले बुझ्ने भाषामा भन्न चाहन्छु, हामी समान सार्वभौमसत्तामा विश्वास गर्छौं, कसैको दबाब,उक्साहट र निर्देशनमा चल्दैनौं,’ प्रधानमन्त्री ओलीले भने। केही दिनअघि भारतीय सेनाका प्रधानसेनापति मनोज मुकुन्द नरभानेले ‘नेपालले अरु कसैको निर्देशनमा लिपुलेकको मुद्दा उठाएको हुनसक्छ’ भन्ने अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्री ओलीले लिपुलेक क्षेत्रमा भारतसँगको सीमा विवादबारे उत्तरी छिमेकी चीनसँग पनि कुरा भइसकेको बताए । लिपुलेक क्षेत्रमा भारतले सडक बनाएकोबारे नेपाली अधिकारीले चिनियाँ पक्षसँग कुरा गरिसकेको जानकारी उनले दिए । ‘हाम्रा अधिकारीहरूले चीनसँग कुरा गरिसकेका छन् । उनीहरूले पनि आफूले भारतसँग गरेको सम्झौता सीमाका बारेमा नभई मानसरोवरको तीर्थयात्राका लागि भएको बताएका छन् । प्रधानमन्त्री ओलीले भने,‘उनीहरूले त्यही कुरा भारतलाई पनि भनिसकेका छन् ।’ प्रधानमन्त्री ओलीले लिपुलेक फिर्ता ल्याउने  विषयमा भारतसँग सौहाद्र्रपूर्ण वार्ता गरिने बताए। ‘अहिले त मित्रभन्दा पनि हाम्रो जमिन मिचेको छ जस्तो लाग्छ, हामी त्यो समस्या हल गरेर भारतसँग सुमधुर सम्बन्ध बनाउन चाहन्छौं,’ प्रधानमन्त्री ओलीले भने । उनले भारतको अहिलेको सरकारले लिपुलेकको समस्या सिर्जना नगरेकाले उसले पनि नेपालसँग वार्ता गर्ने विश्वास लिएको बताए ।

प्रधानमन्त्रीओलीले कुनै पनि राष्ट्रको राष्ट्रियता सानोठूलो नहुने बताए । ओलीले भने, ‘कुनै देश भूगोल वा जनसंख्यामा ठूलो–सानो र विकासमा अगाडि–पछाडि हुन सक्छ तर राष्ट्रियता सानोठूलो हुन सक्दैन, सबै राष्ट्रले बराबर स्वाधीनताको प्रयोग गर्न पाउनुपर्छ, आफ्नो नीति आफूले नै तय गर्न सक्छ ।’ उनले दुई ठूला देशको बीचमा रहेको मुलुकले तथाकथित राष्ट्रवाद वा लम्पसारवादको बाटो समाउन नहुने बताए।  

‘भारतको एउटा प्रतीक चिह्न भारत भनेर चिनिने अशोकाले स्थापना गरेको चारमुखे सिंह छ’ उनले भने,‘त्यसको मुनि सत्यमेव जयते लेखेको छ । म सोध्नेवाला छु, सत्यमेव जयते कि सिंहमेव जयते ?’ उनले थपे,‘नेपाल विश्वास गर्छ, सत्यमेव जयते । हामी हाम्रो भूमि फिर्ता गर्न सक्छौं किनभने सत्यमेव जयते ।’ उनले अब प्रकाशित हुने नयाँ नक्सालाई संविधानले वास्तविक ढंगले चिन्नुपर्छभन्दै उनले संविधान संशोधन विधेयक छिटै संसदमा प्रस्तुत गर्ने बताए । संविधानको अनुसूची ३ मा रहेको नेपालको निसानाछापमा रहेको नेपालको नक्सा सबैभन्दा पहिला परिवर्तन गर्नुपर्ने उनले स्पष्ट पारे । त्यसपछि सांसदको लोगो, पाठ्यपुस्तकलगायतमा परिवर्तन गरिने उनले बताए ।

मन्त्रिपरिषद्ले जारी गरेको नक्साले भूमि फिर्ता गर्ने दृढतालाई प्रतिध्वनित गर्छ भन्दै उनले थपे, ‘त्यसैले भूमि फिर्ता गर्न सजिलो छ भनेको छैन तर भूमि फिर्ता गर्छौं,यो हाम्रो दृढता हो,कठिन होला तर गर्छौं, यस ममलामा दृढ छौं ।हामी उत्तेजनामा छैनौं, आवेगमा छैनौं, गम्भीर छौं ।’ नेपाल र भारतको मित्रता ऐतिहासिक र एकआपसमा बाँधिएको भन्दै उनले थपे, ‘यसका कुनै कुराले दरार पैदा गर्न दिनुहुँदैन ।’  

प्रधानमन्त्री ओलीलेभारतसँग तनावरहित, सुमधुर, समस्यारहित सम्बन्ध नेपालले चाहेको बताए । ‘भारतसँग सुमधुर, समस्यारहित सम्बन्ध चाहन्छौं,इतिहासका गल्ती सच्याउनुपर्छ ।’ उनले आ–आफ्नो भूमि आफूले चिन्नुपर्ने बताए ।  

प्रधानमन्त्री ओलीले नेपालको भूमि पुर्खाले उहिल्यै लडाइँ गरेर प्राप्त गरेको बताए । उनले भने, ‘सुगौली सन्धि लडाइँपछिको सम्झौता हो, लडाइँका बेला स्विकारिएका कुरा सामान्य अवस्थामा आउँदा नस्विकार्नु कदापि वाञ्छनीय, ग्रहणीय हुनसक्दैन ।’ उनले थपे, ‘सीमा विवाद वार्ताद्वारा टुंग्याऊँ भनेको दुस्मनी होइन, कृपया हाम्रो भूमि फिर्ता गर्नुस् ।’

सरकार पाँच वर्षलाई

प्रधानमन्त्री ओलीले आफ्नो सरकार पाँच वर्षका लागि भएको बताए । त्यसभन्दा बढी भन्दा कसैको चित्त दुख्ला भन्दै उनले यो सरकारलाई जनताको व्यापक समर्थन रहेको दाबीसमेत गरे । कुनै विदेशी राजदूतले भूमिका खेलेर टिक्ने र ढल्ने कल्पना नगर्न पनि उनले आग्रह गरे । ‘केहीले भनेको सुनियो–गइसक्या थियो, फलाना देशका राजदूतले भूमिका खेलेर अड्याइदियो,’ ओलीले भने,‘अहिले नेपाली जनताको स्वाभिमानमाथि यस्ता निम्छरा वचन नबोल्दिए राम्रो हुन्थ्यो। यो सरकार नेपाली जनताबाट बनेको हो । कुनै देशको आशीर्वादले टिक्ने वा ढालिने कल्पना नगरे हुन्छ।’

केही राजनीतिक स्वतन्त्रतासहित सीमित अधिकारको सतही लोकतन्त्र नभई आफूहरूले पिँधमा रहेका जनताको जीवन उकास्ने लोकतन्त्र खोजेको उनले बताए । ‘हाम्रा सडक बालबालिका फोहोरमा कुकुरसँगै लड्दै खानेकुरा खोजिरहेका छन्। हाम्रा वृद्धवृद्धाको सहारा छैन भने त्यस्तो लोकतन्त्रको के काम,’ प्रधानमन्त्री ओलीले भने,‘त्यसैले यो सरकार बनेको दुई वर्षमै सडक बालबालिकामुक्त बनाएको छ।’उनले पूर्वअमेरिकी राष्ट्रपति अब्राहम लिंकनको प्रजातन्त्रको परिभाषा उद्धृत गर्दै ‘अफ द पिपुल, फरद पिपुल र बाई द पिपुल’मा आाधारित भएर जनताको परिपूर्ण लोकतन्त्र ल्याउन खोजेको बताए ।‘राज्य जनताको शासक होइन सेवक हुनुपर्छ भनिएको हो, यसमा नबुझिने कुरा के छ र ।’ उनले थपे, ‘जिडिपी र पर क्यापिटा इनकमका आधारमा होइन,खुसीकाआधारमा लोकतन्त्रको मापन हुनुपर्छ।’

ज्यान जोगाउन असफल भएको स्वीकार

प्रधानमन्त्री ओलीले कोरोना संक्रमणबाट कसैले ज्यान गुमाउनुनपरोस् भन्ने प्रयास विभिन्न कारणले असफल भएको बताए। उनले कोरोनाका कारण मुलुक असामान्य अवस्थामा रहेको भन्दै थपे, ‘त्यसकै कारणले नभए पनि अन्य कारणले भए पनि २ जनाको निधन भएको छ, म दुः ख व्यक्त गर्न चाहन्छु ।’अरू कुनै कारणले बिरामीको मृत्यु भए पनि कोरोना देखिएमा कोरोनाबाट नै मृत्यु भएको मान्नुपर्ने विश्व स्वास्थ्य संगठनको मान्यता भएको उनले बताए ।  

प्रधानमन्त्री ओलीले भारतबाट आएकाहरुका कडा खालको कोरोना भाइरससंक्रमण देखिएको बताए।‘वुहान, इटाली र दुबईबाट आएको भाइरस कडा खालको थिएन तर भारतबाट आएको भाइरस कडा खालको देखिएको छ’, उनले भने ।पछिल्लो समय भारतबाट आएका धेरैमा संक्रमण देखिएको उनले बताए । यसरी आएकाहरु लुकेर बस्दा झन् समस्या भएको उनको भनाइ थियो ।  ओलीले नेपाललाई कोरोना मुक्त देश बनाउन लक्ष्य राखिएको बताए । अबका दिनमा व्यक्तिको रहनसहन रखानपानमा सुधार ल्याइने बताउँदै उनले थपे,‘अहिल्यै महाप्रलयको कुरा गर्ने होइन, यसलाई नियन्त्रण गरी विकासको काम अघि बढाउने हो ।’  

प्रधानमन्त्रीले विदेशमा रहेका लाखौं नेपालीलाई नेपाल ल्याएर व्यवस्थापन गर्न कठिनाइ हुने भएकाले समस्या हेरेर मात्र ल्याउने प्रयास गरिएको बताए । ‘एक दुई सय जना ल्याएजस्तो होइन, लाखौंलाख ल्याउँदा कति जहाज चाहिन्छ, कहाँ राख्ने, समुदायमा गएमा कोरोनाले सबै सोत्तर पर्छन् त्यसैले यस्तो जोखिमपूर्ण काम गर्न सकिँदैन’, उनले भने ।  

लकडाउनलाई जनताको समर्थन

प्रधानमन्त्री ओलीले लकडाउनलाई जनताबाट व्यापक समर्थन भएको बताए । जुन देशले लकडाउनको राम्ररी पालना गरे त्यहाँ कोरोना संक्रमण कम भएको र जुन देशले यसको महŒव बुझेनन् त्यहाँ अवस्था भयावहदेखिएको उनको भनाइ थियो । नेपालमा पनि सुरुमै लकडाउन गरिएकाले कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा राख्न सकेको दाबी उनले गरे। चेतनाको कमी, जनप्रतिनिधिको दबाब र सीमामा आएर बस्नेहरूका कारण संक्रमण बढे पनि धेरै नागरिकले लकडाउन पालना गरेको उनले बताए।

आत्मनिर्भर बन्ने बेला

प्रधानमन्त्री ओलीले कोरोना महामारीले विश्वव्यापी असर पारिरहेका बेला नेपालआत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढ्नुपर्ने बताए।कोरोना रोकथाम र नियन्त्रणपहिलो प्राथमिकता भएको उनले स्पष्ट पारे । विश्वका १८ देशबाहेकअरुको अवस्था ऋणात्मक भएको बताउँदै उनले यसैगरी संक्रमण फैलिएमा विदेशी सहयोगमा कमी आउने हुँदा आत्मनिर्भरम हुने नीति लिने प्रस्ट्याए । उनले अर्थतन्त्रमा पारेको प्रभावले उत्पादनमा ह्रास आएको र राजस्व कम उठेको, रेमिन्ट्यान्समा असर परेको जनाउँदै यसको सामना गरेर जीवन र समाज चलाउनुपर्ने बताए । उनले सम्भव हुनेसम्म रोजगारीका अवसर अपलब्ध गराउने र आयआर्जन सुनिश्चित गर्नु दिगो व्यवस्थापन हुने भएकाले अर्थतन्त्रलाई कमजोर हुन नदिन सरकार त्यस बाटोमा अग्रसर हुने बताए ।

ओम्नीबारे थाहा नभएको दाबी

प्रधानमन्त्री ओलीलेस्वास्थ्य सामग्री खरिद गर्न ठेक्का दिएकोओम्नी कम्पनी कसको के हो भन्नेबारे आफूलाई थाहा नभएको बताए।ओम्नी कम्पनी बालुवाटारसँग सम्बन्धित छ भन्नेकतिपय सञ्चारमाध्यममा देखिने गरेको भन्दै उनले आफूले ओम्नीकोनाम पनि नसुनेको बताए।‘कतिपय सञ्चारमाध्यममा ओम्नी भन्ने नामको कुनै कम्पनी वा संस्था आदिको कुरो आउँछ। ओम्नी भन्ने मैले सुनेको पनि थिइनँ,’ प्रधानमन्त्री ओलीले भने,‘यसलाई बालुवाटासँग जोडियो । म व्यापार बिजनेस गर्दिनँ, डिल पनि गर्दिनँ, रुचिपनि छैन ।’ सामग्री खरिदको काम स्वास्थ्य विभागका महानिर्देशकले गरेको भएको बताउँदै उनले थपे, ‘कसैले भ्रष्टाचार गरेको छ भने छानबिन हुन्छ, कारबाही हुन्छ ।’

पहिलो प्राथमिकता ज्यान जोगाउनु  

प्रधानमन्त्री ओलीले पहिलो प्राथमिकता कोरोनाको महामारीबाट ज्यान जोगाउनु भएकोबताए । पहिलो प्राथमिकता अर्थतन्त्र नभईज्यान भएको उनको भनाइ थियो । ‘कोरोनाले ठूलोसानो, धनीगरिब चिन्दैन,’ उनले भने, ‘पहिलो प्राथमिकता मान्छे बचाउने नै हो, निजी क्षेत्रका व्यक्तिको पनि ज्यान गुमाउन नदिनु पहिलो कुरा हो ।’सुरक्षित स्थानमा गएपछि अर्थतन्त्र उठाउने र देशको विकास गर्ने उनले बताए । ‘हामीले यो यत्तिकै भनिरहेको छैनौं, योजनाबद्ध ढंगले भनिरहेका छौं’, उनले भने,‘कोरोनाविरुद्ध राहत प्याकेज ल्याउने तयारी छ । राज्यको स्रोतले धान्न सक्ने राहत प्याकेज ल्याउँछौं ।’ उनले शारीरिक रुपमा अशक्त र रोजगारी गुमाएका व्यक्तिलाई पहिलो प्राथमिकतामा राखिने बताए ।

रोस्ट्रमा बसेर जबाफ

प्रधानमन्त्री ओलीले रोस्ट्रम उभिएर आधा घण्टासम्म बोलेपछि सभामुखतर्फ फर्केर आफूलाई उभिएर बोल्न गाह्रो भएको बताएका थिए । उनले बसेर बोल्न सकिन्छ भने व्यवस्था गरिदिन आग्रह गरे ।सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई आफ्नो सिटमै गएर सम्बोधन गर्न आग्रह गरे।त्यसपछि प्रधानमन्त्रीले अगाडि बसेर बोल्दा सबैतिर देखिने भएकाले रोस्ट्रमबाटै बोल्ने बताए । लगत्तै उनलाई रोस्ट्रममा नै कुर्सीमा बसेर बोल्ने व्यवस्था गरिएको थियो । उनले अपरेसनका कारण आफू धेरै बेर उठ्न नसकेको बताएका थिए ।  

नीति तथा कार्यक्रम पारित  

सरकारको आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकले नीति तथ कार्यक्रम बहुमतले पारित गरेका हुन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरे पनि बहुमत सदस्यले पक्षमा मतदान गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । नीति तथा कार्यक्रम माथि आइतबार र सोमबार दुवै सदनमा छलफल भएको थियो ।

प्रकाशित: ७ जेष्ठ २०७७ ०१:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App