१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कोरोनाबाट संक्रमित र मृतकको सबै ठेगाना खुलाउ : सूचना आयोग

राष्ट्रिय सूचना आयोगले कोरोनाबाट संक्रमित तथा मृत्यु भएका व्यक्तिको ठेगानाको विषयमा सर्वसाधारणमा भ्रम तथा अन्यौलता सिर्जना भएको भन्दै स्थायी र अस्थायी ठेगाना स्पष्ट खुलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ।  

आयोगले मंगलबार स्वास्थ्य मन्त्रालयबाट प्रवाह गरिने सूचनामा संक्रमित वा मृतक व्यक्तिको बारेमा उल्लेख गरिएको ठेगानाले सर्वसाधारण नागरिकमा भ्रम सिर्जना भएको भन्दै त्यसतर्फ विशेष ध्यान दिन निर्देशन दिएको हो। ‘कोरोनाबाट संक्रमित वा मृतक व्यक्तिको बारेमा उल्लेख गरिएको ठेगानाले नागरिकमा भ्रम सिर्जना गरेको छ, संक्रमित वा मृत्यु भएका व्यक्तिको स्थायी ठेगाना र अहिले बसोबास गरिरहेको ठेगाना संक्रमण हुँदाको स्थान फरक हुनसक्दछ, एउटा मात्रै ठेगाना उल्लेख गर्दा सर्वसाधारणमा भ्रम तथा अन्यौलता सिर्जना भएको पाइएको छ,’ आयोगका प्रवक्ता कमला ओली थापाले भनिन् ‘यसरी प्रवाह भैरहेको सूचनामा थप स्पष्ट गराई सर्वसाधारणमा सिर्जना भएको अन्यौलता हटाउन कोरोना भाइरसको संक्रमण र यसको कारण मृत्यु भएका व्यक्तिहरुको विवरण सार्वजनिक गर्दा संक्रमण वा मृत्यु हुँदा बसोबास गरिरहेको स्थान र स्थायी ठेगाना उल्लेख गर्न सूचनाको हकसम्वन्धी ऐन २०६४ को दफा १९ बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको छ।’  

हाल कोरोनाबाट संक्रमित र मृतकको गोपनियताको कारण नाम खुलाउने गरिएको छैन। तर यसरी संक्रमित तथा मृतकको नाम र दुवै ठेगाना गोप्य राख्दा संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरु पत्ता लगाउन कठिन हुने भन्दै परिचय खुलाउन समेत माग उठिरहेका वेला आयोगले स्थायी र अस्थायी ठेगाना खुलाउन निर्देशन दिएको हो। यसैगरि आयोगको मंगलबार बसेको बैठकले कोरोना भाइरसको सूचनाको विषयमा सरकारलाई १६ बुँदे निर्देशन दिएको छ।  

निर्देशन अनुसार कोरोना भाइरसको नियन्त्रण, रोकथाम र राहतका लागि संघ, प्रदेश र स्थानीय तहबाट भएका कामका बारेमा नियमित रुपमा सार्वजनिक गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ। त्यसैगरि आयोगले उपलब्ध, वितरण भएका र वितरण गरिने औषधी तथा राहत सामाग्रीका विषयमा समेत सम्वन्धित निकायबाट सार्वजनिक गर्ने व्यवस्था मिलाउन भनिएको छ। स्वास्थ्य संस्था, होम क्वारेन्टिन, आइसोलनमा भएका व्यक्तिहरुको एकिकृत तथ्यांक सार्वजनिक गराउने, लकडाउनको समयमा खाद्य सामाग्री, औषधी लगायतका अत्यावश्यकीय बस्तुहरुको विक्रि वितरण गर्ने, स्थान, पालना गनुपर्ने नियम र समयको बारेमा समेत सर्वसाधारणलाई जानकारी हुने गरि सार्वजनिक गर्न भनिएको छ।  

आयोगले संघ, प्रदेश र स्थानीय तहमा स्थापना भएका राहत कोषमा जम्मा भएको रकम, कार्यविधी र त्यसको खर्च विवरण समेत सार्वजनिक गर्न भनेको छ। साथै महिला, बालवालिका, सिमान्तकृत र पिछडीएका समुदायका लागि कुनै कार्यक्रम ल्याइएको भए सो पनि सार्वजनिक गर्न आयोगले निर्देशन दिएको छ। कोरोनाबाट बच्न सर्वसाधारणले गर्न हुने र नहुने कुराहरुलाई स्पष्टसंग खुलाई विभिन्न भाषामा सन्चार माद्यम मार्फत प्रशारण तथा प्रकाशन गर्न भनिएको छ। आयोगले विदेशबाट नेपाल आउन चाहने नेपाली नागरिकहरुलाई नेपाल ल्याउने सम्वन्धमा स्पष्ट सूचना सार्वजनिक गर्न भनेको छ। विदेशमा रहेका नेपालीलाई ल्याउने वा नल्याउने भन्ने विषयमा अन्यौलता देखिएको बेला आयोगले यस्तो निर्देशन दिएको हो। सार्वजनिक सूचना प्रवाहमा संग्लन आमसन्चारकर्मीको स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउन आवश्यक प्रवन्ध गर्ने, सार्वजनिक निकायबाट व्यक्तिगत सूचना पनि दिने गरेको पाइएको र यसले दुखदायी अवस्था निम्त्याउन सक्ने भएकाले यसलाई नियन्त्रण गर्न आयोगले सरकारलाई भनेको छ।  

कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा अन्यौलता भएको भन्दै आयोगले थप स्पष्ट गराउनुपर्ने भए स्पष्ट गराउन र व्यवस्थापनका लागि गरिएको तयारी नागरिकले बुझ्ने गरि सूचना सार्वजनिक गर्न गराउन भनिएको छ।

 

 

प्रकाशित: ६ जेष्ठ २०७७ १४:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App