१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विदेशबाट नेपाली फर्काउन आलटाल गर्दै सरकार

रोजगारी तथा विभिन्न कारणले विदेशमा रहेका नेपालीले कोरोनाको प्रभावका कारण स्वदेश फर्किन चाहे पनि सरकार भने तत्काल स्वदेश फर्काउने पक्षमा नरहेको पाइएको छ । विभिन्न मुलुकमा रहेका नेपाली दूतावास र परराष्ट्र मन्त्रालयले पनि समस्यामा परेका नेपालीलाई फर्काउन चाहे पनि प्रधानमन्त्री कार्यालय तथा गृहमन्त्रालयले स्वीकृति नदिँदा उक्त प्रक्रिया अघि बढ्न नसकेको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ । कतिपय गर्भवती महिला तथा जागिर गुमाएकाहरू समस्यामा परे पनि सरकारले भने सकेसम्म नेपालीहरूलाई स्वदेश फर्काउने प्रक्रिया लम्ब्याउन खोजिरहेको स्रोत बताउँछ । 

‘मलेसिया, कुबेत, युएईलगायत मुलुकले आफ्नै खर्चमा नेपालीहरूलाई स्वदेश पठाउन खोजिरहेका छन्, कतिपय मुलुकबाट नेपालीहरू आफ्नै खर्चमा पनि स्वदेश फर्कन खोजिरहेका पनि छन् तर सरकारले अनुमाति नदिँदा यो प्रक्रिया अघि बढ्न सकिरहेको छैन,’स्रोतले भन्यो । हाल नेपालीहरूलाई स्वदेश फर्काउँदा राज्यको ढुकुटीबाट खर्च हुने अवस्था नभए पनि त्यसका लागि आवश्यक तयारी नभएकाले सरकारले स्वदेश फर्काउन नचाहेको स्रोत बताउँछ ।

‘सरकारसँग पर्याप्त क्वारेन्टिन स्थल तथा संक्रमितहरूलाई राख्ने ठाउँको अभाव देखिन्छ । विदेशबाट आएकाहरूलाई कहाँ, कसरी राख्ने भन्ने तयारी नहुँदा तत्काल स्वदेश फर्काउने प्रक्रिया अघि बढ्न नसकेको हो,’स्रोतले भन्यो । परराष्ट्र मन्त्रालय स्रोत भन्छ, ‘विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउने कुरा त टाढाको विषय हो, यस बारेमा अहिलेसम्म उच्चस्तरीय बैठकमा गम्भीर ढंगले छलफलसमेत भएको छैन ।’

सरकारले विदेशमा रहेका नेपालीलाई फर्काउने बारेमा हाल अध्ययन भइरहेको र प्राथमिकताका आधारमा स्थिति सामान्य हुँदै गएपछि मात्र फर्काउन सकिने जनाएको छ । ‘लकडाउन खुल्नुभन्दा पहिले फर्काउने कुनै योजना छैन र फर्काउन सम्भव पनि हुँदैन,’मन्त्रालय स्रोतले भन्यो । सरकारले हालसम्म विदेशमा रहेकालाई कसरी फर्काउने भन्ने मोडालिटीसमेत तयार नपारेको मन्त्रालय स्रोत बताउँछ ।

विदेशमा गएकाहरूमध्ये रोजगारीका लागि, छोटो अवधिका लागि, विद्यार्थी र लामो समय उतै बस्ने नेपालीहरूलाई प्राथमिकताका आधारमा स्वदेश फर्काइने सरकारको तयारी रहेको छ । सुरुमा वैदेशिक रोजगारीमा गएकाहरूलाई स्वदेश फर्काउने तयारीमा सरकार रहेको छ । उनीहरूको अवस्था र स्वदेश कसरी फिर्ता ल्याउने भन्ने बारेमा परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयमार्फत समन्वयको काम भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशमा रहेका नेपाली श्रमिक तत्काल स्वदेश फर्किने अवस्था नहोस् भनेर सरकारले त्यहाका सरकार प्रमुख तथा परराष्ट्रमन्त्री तहमा समेत छलफल गरिरहेको छ । खाडीलगायत मुलुकमा संक्रमित श्रमिकहरूमा औषधि उपचारमा कुनै विभेद नभएको पनि सरकारको दाबी छ । विदेशमा रहेकालाई स्वदेश फर्काउन सरकारसँग सीमित स्रोत–साधन र विकल्प भएकाले अवस्था सामान्य हुँदै गएपछि प्राथमिकताका आधारमा नेपालीहरूलाई फिर्ता ल्याइने मन्त्रालयले जनाएको छ । 

नेपालभित्र समेत कोरोनाको प्रभाव बढ्दै गर्दा विदेशमा कोरोनाबाट दर्जनौंको संख्यामा नेपालीको मृत्यु भइसकेको छ भने उल्लेख्य संख्यामा नेपालीहरू कोरोना संक्रमित भइरहेका छन् । शनिबारसम्मको तथ्यांकअनुसार बेलायतमा ६३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघले गत साता सार्वजनिक गरेको विवरण अनुसार विदेशमा ८० जना भन्दा बढी नेपालीको मृत्यु भइसकेको छ भने विभिन्न मुलुकमा पाँच हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका अनुसार सबैभन्दा बढी बेलायतमा नेपालीको मृत्यु भएको छ । त्यस्तै अमेरिका, संयुक्त अरब इमिरेट्स्ट (युएइ) आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, बहराइन र स्विडेनलगायत मुलुकमा पनि नेपालीहरूको मृत्यु भएको छ । तर एक सय ६० भन्दा बढी मुलुकमा आफ्नो कुटनीतिक सम्बन्ध विस्तार गरेको र अधिकतर मुलुकमा कुटनीतिक संयन्त्रसमेत निर्माण गरेको सरकारसँग भने यसको यकिन तथ्यांकसमेत छैन । परराष्ट्र मन्त्रालयले विदेशमा कोरोनाबाट मृत्यु भएका तथा संक्रमित भएका नेपालीहरूको यकिन तथ्यांक नभएको जनाएको छ ।

प्रकाशित: ३ जेष्ठ २०७७ २२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App