२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

राहतको ठेक्कामा मिलेमतोः अख्तियारद्वारा कागजपत्र नियन्त्रणमा

नागरिक समाचार प्रभाव

कारोनाको महामारीबाट बच्न डेढ महिना लामो लकडाउनका कारण भोकभोकै बस्नुपर्ने ज्यालामजदुरी गर्ने मजदुर र गरिव परिवारलाई राहत वितरण गर्न २ करोड ६१ लाखको ठेक्का मिलेमतोमा दिएको र किरा परेको चामल वितरण भएको भन्दै कारवाहीको व्यापक माग उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान महेन्द्रनगरको टोलीले धनगढी उपमहानगरपालिका कार्यालयमा बिहीबार छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ ।  

संकटको बेलामा मिलेमतोमा करौडांैका ठेक्का दिएर सर्वसाधारणको स्वास्थ्यमाथी खेलवाड गर्ने गरि कुहिएको चामल वितरण गरेको भन्दै स्थानीय आक्रोशित भएका छन्। अख्तियार अनुसन्धान आयोग महेन्द्रनगरका निमित्त प्रमुख महेश पाण्डेले धनगढी उपमहानगरपालिकाका राहत खरिद सम्बन्धी सम्पुर्ण कागजपत्र नियन्त्रणमा लिएको बताएका छन् । नागरिक दैनिक पत्रिकामा छापिएको समाचारलाई उजुरी मानेर छानबिन शुरू गरेको उनले बताए ।  

धनगढी उपमहानगरपालिका–४ उत्तरवेहेडीमा राहत स्वरुप वितरण भएको राहतको चामलमा किरा परेको पाइएको थियो । किरा परेको चामल स्थानीयले फिर्ता गरेका छन्। स्थानीयले किरा परेको चामल वितरण गरेको भन्दै वडा नम्वर २ को कार्यालयमा ताल्चा लगाएका छन्। किरा परेको चामल उपलब्ध गराउने ठाकुर ट्रेड लिंकलाई कारवाही हुनुपर्ने माग राखेका हुन् । धनगढी उपमहानगरपालिकाले २ करोड ६१ लाखको राहत समाग्री खरिदका लागी प्रतिस्पर्धा नगराई प्रक्रिया पुर्याएर मिलेमतोमा ठेक्का दिएको भन्दै स्थानियले अनियमिततामा संलग्नलाई सबैलाई कारवाही गर्नुपर्ने बताएका छन्।

वडाबासीको गुनासोपछि धनगढी उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले चामलको अनुगमन गर्दा भण्डारणमा राखिएका चामलका बोरा खोलेर हेर्दा कुहिएको र किरा परेको पाइएको थियो ।

धनगढी उपमहानगरपालिकाले प्रक्रिया पुर्याएर मिलेमतोमा ठेक्का दिएको आरोप लागेको छ । टेण्डरको स्पेकिफिकेसन बनाउँदा नै आफुले चाहेकोलाई ठेक्का दिने र वितरण गर्ने चामल लगायत समाग्रीको गुणस्तर किटान नगरी बनाइएको छ ।

उपमहानगरपालिकाले ठाकुर ट्रेड लिंकसँग दुई करोड ६१ लाख रुपैयाँमा तीन हजार तीन सय क्विन्टल चामल, आठ सय क्विन्टल दाल लगायतका सामाग्री आपूर्तिका लागि सम्झौता गरेको थियो ।

तीन हजार तीन सय क्विन्टल चामल, तीन सय ९९ सय क्विन्टल दाल, दुई सय नौ क्विन्टल नुन, २२ हजार पाँच सय लिटर तेल, दुई सय ६५ क्विन्टल चिनी र ५१ हजार नौ सय वटा सावुनका लागि ठेक्का दिएको थियो । वैशाख ११ गते टेण्डरको सूचना दिएको वैशाख १४ गते टेण्डर खोलिएको थियो । टेण्डरको शर्तमा सम्झौता भएको २४ घण्टाभित्र दुई करोड बरावरको खाद्य सामग्री उपलब्ध गराउनुपर्ने र नभएर सम्झौता रद्ध गरी धरौटी जफत गरिने उल्लेख छ । ठाकुर ट्रेड लिंक सँग वैैशाख १५ गते ठेक्का सम्झौता गरिएको थियो । टेण्डरमा मध्यम मसिनो चामल भनिए पनि अन्य गुणस्तर खुलाइएको छैन । टेण्डरको चामलमा बिग्रेको दाना, कनिका, चक्कीदाना, चिस्यान, बाह्य पदार्थ कति राख्न पाइने वा नपाइने भनेर पनि स्पष्ट हुनुपर्ने विज्ञहरू बताउँछन् । यस्तै अन्य सामग्रीको पनि स्पष्ट नखुलाएर आफूले चाहेको सामान दिन सक्ने ठाउँ राखिएको छ ।

चामल प्रतिकिलो ४४, दालप्रति किलो १ सय २५, नुन प्रतिकिलो २५, चिनी प्रतिकिलो ७६,तेल १ सय ६५ लिटर, सावुन ४ पिसको १ सय १४ दररेट निर्धारण गरेको छ । बजारमा खुद्रा पसलमा पाइने मुल्य भन्दा पनि यो धेरै महंगो रहेको छ ।

प्रकाशित: १ जेष्ठ २०७७ १३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App