६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

भीम रावलले शिर्ष नेताहरुलाई भने : 'एमसिसीबारे जथाभावी नबोल्नुस'

काठमाडौं- मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को विषयमा अध्ययन गर्न गठित कार्यदलका सदस्य भीम रावलले एमसिसीको विषयमा जथाभावी नबोल्न शीर्ष नेताहरुलाई चेतावनी दिएका छन्। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसमिति बैठकले गठन गरेको कार्यदलका सदस्य रावलले अध्ययन भइरहेको विषयमा जथाभावी नबोल्न चेतावनी दिएका हुन्।

नेकपाको दोस्रो पूर्ण केन्द्रीय समिति बैठकले गम्भीर विषयमा छलफल गर्ने अधिकार समितिलाई दिएको उल्लेख गर्दै नेकपा स्थायी कमिटी सदस्य समेत रहेका रावलले केन्द्रीय समिटीको कार्यादेश विपरित कुनै पनि व्यक्तिले अन्यथा कुरा गर्‍यो भने त्यो औचित्यहिन हुने बताए। केन्द्रीय समितिले दिएको अधिकार अनुसार आफूहरुले एमसिसी सम्झौता र योसँग जोडिएका विषयमा छलफल भइरहेको भन्दै एमसिसीका सम्बन्धमा निर्णय सुनाउने अधिकार केन्द्रीय कमिटीले कसैलाई नदिएको उनले बताए।

कार्यदलले समेत छलफलको समयमा सार्वजनिक अभिवयक्ति नदिने विषयमा आचारसंहिता बनाएको उनले बताए। कार्यदलले सुझाव र निष्कर्षसहित प्रतिवेदन बुझाउने भएकाले केन्द्रीय समितिको कार्यादेश विपरित अभिव्यक्ति दिनु भनेको केन्द्रीय कार्यसमितिको अपमान गरेको ठहरिने उनले बताए।

रावलले संसदमा प्रस्तुत भएका बाहेक अन्य दर्जन भन्दा बढी सम्झौताहरु पनि कार्यदलले फेला पारेको खुलासा गरेका छन्। अहिलेसम्म संसदमा प्रस्तुत भएको बाहेक दर्जन बढी सम्झौता फेला परेको र अझै अरु पनि हुन सक्ने उनले बताए। संसदमा प्रस्तुत भएको बाहेक अन्य सम्झौताहरुको विषयमा आचारसंहिताका कारण बोल्न नमिल्ने उनले बताए।

कार्यदलको समय १० दिनका लागि थप गरिएको छ। 'थपिएको १० दिनमा प्रतिवेदन तयार हुन्छ?’ भन्ने प्रश्नमा, रावलले सम्झौताहरुको अध्ययन गर्नुपर्ने भएकाले समय थप गरिएको र तोकिएको समयभित्रै प्रतिवेदन तयार हुने विश्वास व्यक्त गरे। पहिले जानकारीमा नआएका कुराहरु पनि अध्ययनका क्रममा आएकाले समय लागेको उनको भनाई छ।

प्रकाशित: ४ फाल्गुन २०७६ १२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App