१६ चैत्र २०८० शुक्रबार
राजनीति

मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं – राष्ट्रियसभाले पत्रकारले लाइसेन्सको परीक्षा दिने व्यवस्था हटाएर ‘नेपाल मिडिया काउन्सिल विधेयक २०७६’ पारित गरेको छ। राष्ट्रियसभाको बिहीबारको बैठकले विधायन समितिले तयार गरेको प्रतिवेदन परिमार्जन गर्दै विधेयक पारित गरेको हो। नेपाल पत्रकार महासंघले विज्ञप्ति नै जारी गरेर परीक्षा लिने प्रावधानको विरोध गरेको थियो।

राष्ट्रियसभाको विधायन समितिले पत्रकारले पत्रकारिता गर्नुअघि लाइसेन्स लिनुपर्ने व्यवस्था राखेर मिडिया काउन्सिल विधेयक प्रतिवेदन तयार गरेको थियो। पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था हटाउन माग गर्दै राष्ट्रियसभामा सांसद खिमलाल भट्टराईले प्रस्ताव गरेका थिए। उनको प्रस्ताव सर्वसम्मत भएपछि लाइसेन्सको व्यवस्था हटाएर विधेयक अघि बढेको थियो। विधेयकमाथिको छलफलमा कांग्रेस सांसद राधेश्याम अधिकारीले परीक्षाको विषयमा विधायन समितिमै आफ्नो असहमति दर्ता भएको उल्लेख गरेका थिए। ‘पत्रकार हुन परीक्षा दिएर लाइसेन्स लिनुपर्ने भन्ने कुरा जब आयो, हामीले त्यो उपयुक्त छैन भन्यौं, उनले भने।

समाजवादी पार्टीका सांसद् रामप्रीत पासवानले विधेयक टेबुल हुँदा नै धेरै आलोचना भएको भए पनि परिमार्जन गरी समृद्ध बनेको बताए। विधेयकमा परीक्षा लिने प्रावधान राखेमा त्यो संविधानको मर्मविरुद्ध हुने भएकाले हटाउने कुरामा आफ्नो समर्थन रहेको उनले बताए। यो विधेयक अब प्रतिनिधिसभामा जानेछ।

प्रकाशित: २४ माघ २०७६ ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App