१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

गुटगत स्वार्थले कांग्रेसमा कलह

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सुल्झिनु साटो बल्झिएको छ। पार्टीका सबै तहका नेताहरूको ध्यान संगठन निर्माणभन्दा १४औं महाधिवेशनबाट कसरी नेतृत्वमा कायमै रहने/पुग्ने भन्नेमा केन्द्रित हुँदा समस्या बढेको हो।

संस्थापन पक्षले असन्तुष्ट पक्षको सहभागिताबिनै १४औं महाधिवेशन कार्यतालिकासहित विभिन्न निर्णय गरेपछि विवाद झन् बल्झिएको छ। संस्थापन पक्षले निर्णय नसच्याएसम्म छलफलमै नबस्ने अडान असन्तुष्ट समूहको लछ। संस्थापन पक्षले बिहीबार केन्द्रीय समिति बैठक बोलाएको छ।

राष्ट्रियसभा र प्रतिनिधिसभा सभामुखका लागि हुन लागेको निर्वाचन विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बिहीबार केन्द्रीय समिति बैठक बोलाएका हुन्। देउवाले बैठक बोलाए पनि असन्तुष्ट पक्षीय नेताहरूको मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको भेलाले बैठकमा सहभागि नहुने निष्कर्ष निकालेको छ।

‘जसले महाधिवेशन कार्यतालिका माग्यो उसको सहभागिताबिनै सभापतिले एकलौटी निर्णय गरेपछि हाम्रो सहभागिता किन चाहियो ?’ असन्तुष्ट पक्षीय एक नेताले भने, ‘जे गर्नु हुन्छ उहाँ (सभापति) हरूले गर्नु हुन्छ। हामी सहभागी हुँदैनौ।’

एक पक्षीय ढंगबाट सार्वजनिक भएको महाधिवेशन कार्यतालिका नसच्याएसम्म सभापतिसँगको छलफलमासमेत नबस्ने बताउँदै आएको असन्तुष्ट पक्षले पुस २१ गते जिल्ला सभापतिको भेला काठमाडौंमा बोलाएको छ। असन्तुष्ट पक्षले भ्रातृ तथा शुभेच्छुकसहित पार्टीका सबै निकायलाई संस्थापन पक्षको निर्णयको विपक्षमा परिचालन गर्ने निष्कर्ष निकालेको छ। पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखेर आफूहरु अघि बढ्ने बताउँदै केन्द्रीय सदस्य हृदयराम थानीले भने, ‘एकलौटी र विधानविपरीत गरिएको निर्णयकाविरुद्ध हामी हाम्रो अडानमा कायमै रहनेछौं।’

पार्टीका सबै तहका नेताहरूको ध्यान संगठन निर्माणभन्दा १४औं महाधिवेशनबाट कसरी नेतृत्वमा कायमै रहने/पुग्ने भन्नेमा केन्द्रित हुँदा समस्या बढेको हो।

बहुमतबाट निर्णय लिने र बैठक बहिष्कार गर्ने दुवै निर्णय ठिक नभएको बताउँदै आएका सिटौला सोमबार साँझ असन्तुष्ट पक्षकाका प्रभावशाली नेताहरूको बैठकमा सहभागी भए। सांसद् दिव्यमणिराज भण्डारीको निवास मण्डीखाटारमा देउवा इतरबाट सभापतिका आकांक्षी नेताहरू जुटेका थिए। पार्टीको इतिहासमै पहिलो पटक महाधिवेशन कार्यतालिका एकलौटी ढंगबाट घोषणा गरिएको भन्दै त्यसविरुद्ध एक भएर जाने समझदारी भण्डारील निवसमा भएको छ। नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र सिटौला, पूर्वसहमहामन्त्रीहरू रामशरण महत र अर्जुननरसिंह केसी, शेखर कोइराला, बलबहादुर केसी र मीनेन्द्र रिजाल सहभागी थिए। केसी र रिजालबाहेक अन्य सबै नेताले १४औं महाधिवेशनमा नेतृत्व दाबी गर्दै आएका छन्। ‘केन्द्रीय समिति बैठकमा अब हाम्रो भूमिका कस्तो हुने र महाधिवेशनमा कसरी एकताबद्ध भएर जाने भनेर छलफल सुरु गरेका छौं,’ सहभागी ती नेताले भने, ‘एकअर्कालाई विश्वासमा लिएर सभापति देउवाका गतिविधिविरुद्ध कसरी एक भएर उभिने भन्नेमै छलफल केन्द्रित छ।’

भण्डारी निवासमा भएको छलफलमा सहभागी सिटौलाले पार्टी कार्यालयबाहिर गएर कुनै पनि गतिविधि गर्नु ठिक नभएको भन्दै सबै कम केन्द्रीय कार्यालय हाताभित्रै गर्न पौडेलसहितका नेतालाई सुझाएका थिए। ‘तपाई (रामचन्द्र पौडेल) लाई वरिष्ठ नेता भनेर कोठा दिएको छ। त्यहीं बसेर छलफल गर्नुस्,’ सिटौलालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘चित्तबुझे बैठकमा सहभागी हुनुहोस्, नभए नजानुस्। तर, कार्यालय हाताबाहिर होइन भित्रै बसेर आफ्नो गतिविधि गर्नुस्।’

सभापति देउवाविरुद्ध एकताबद्ध भएर लाग्ने निष्कर्ष सोमबारको भेलाले निकाले पनि मंगलबारको भेलामा भने नेता सिटौला अनुपस्थित रहे। १३औं महाधिवेशनमा पौडेललाई अस्वीकार गर्दै सिटौला सभापतिको उम्मेदवार बनेका थिए।

कुनै पनि लोकतान्त्रिक दलभित्र फरक मत या फरक विचार देखिनु सामान्य यर्थाथ भएको जनाउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सबैको साझा अपेक्षाको विषय १४औं महाधिवेशन मिति र कार्यतालिका केन्द्रीय कार्यसमितिले सार्वजनिक गरिसकेकाले सफल बनाउन सबै लाग्नुपर्ने बताएका छन्। जननेता बिपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति प्रतिपादन गर्नुभएको पुस १६ गतेको पूर्वसन्ध्यामा पार्टीको घरेलु जीवनको एकता र मेलमिलाप सबैको साझा अपेक्षा र देशभरिका साथीको साझा भावना रहेको जनाउँदै शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘सांगठनिक जीवनका अन्य विषयवस्तु क्रमशः हल गर्दै अघि बढ्ने र निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्ने विषय अब सबैको साझा दायित्व र कर्तव्य बन्न पुगेको छ।’

राष्ट्रिय जीवनका मुलभूत प्रश्नहरुमा पार्टीभित्र साझा अभिमत रहेको जनाउँदै विज्ञप्तिमा छ, ‘विमतिहरुका बीच हार्दिक समन्वय साथ आन्तरिक जीवनमा विधिको बाटो सहमति तय गर्दै लोकतन्त्र र संघीयता रक्षाका लागि राष्ट्रिय एकता र मेलमिलापको राष्ट्रिय कर्तव्य निर्वाह गर्न नेपाली कांग्रेस सक्षम रहनेछ।’

गुटभन्दा माथि उठ्नुपर्छ : सिटौला
कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले गुटगत स्वार्थभन्दा माथि उठेर पार्टीको बृहत्तर हितमा लाग्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। केन्द्रीय समितिले बहुमतबाट १४औं महाधिवेशन कार्यतालिकासहितका विभिन्न निर्णय गरेपछि पार्टीभित्रको विवाद तीव्र बन्दै गइरहेका बेला सिटौलाले मंगलबार सभापति देउवालाई भेटी निर्णय सच्याएर अघि बढ्न आग्रह गरेका हुन्।

महाधिवेशनबाट निर्वाचित सभापतिको पहिलो र प्रमुख दायित्व अर्को महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने भएको स्मरण गराउँदै सिटौलाले दुई पृष्ठको पत्र देउवालाई बुझाएका छन्। पत्रमा उल्लेख छ, ‘यो जिम्मेवारी निर्वाह गर्न तपाई कुनै गुटको होइन नेपाली कांग्रेसको पार्टी सभापति हो भन्ने कुरा स्मरण गरेर सबै पूर्वाग्रहबाट मुक्त भएर प्रत्येक निर्णय गर्दा उदार र कुशलतापूर्वक गर्नुपर्छ।’

सिटौलाले पार्टीको बृत्तर हितमा एकतालाई मजबुत बनाउन विधान प्रयोग र सहमतिका आधारमा अघि बढ्नुपर्ने बताएका छन्। सहमतिका साथ पार्टीलाई अघि बढाउन सभापति देउवालाई नै पहल लिन आग्रह गर्दै सिटौलाले पत्रमा लेखेका छन्, ‘केन्द्रीय तहमा भएको विवादले देशभरिका साथीलाई निरास बनाएको छ।’ पत्रमा महाधिवेशन निर्णय सहमतिबाटै गर्न भनिएको छ।

प्रकाशित: १६ पुस २०७६ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App