दाङ – पहिलो संविधानसभा निर्वाचन २०६४ मा जिल्लाभर जनमत गुमाएपछि दाङ कांग्रेसले हारको प्रमुख कारण निक्र्योल ग-यो– अन्तरघात। पछिल्लो संविधानसभा निर्वाचन २०७० मा भने दाङ कांग्रेसले जनमत आफ्नो पक्षमा फर्कायो। तर पनि यो जितलाई कांग्रेसले ‘पार्टीभित्रको एकता’ का कारण चुनाव जितेको संज्ञा दिएन। अन्तरघातका अतिरिक्त पनि चुनाव जितेको भन्ने ठान्दै कांग्रेसले त्यो बेला निष्कर्ष निकाल्यो, ‘अन्तरघात नभइदिएको भए मतान्तर अझ बढी हुने थियो।’
२०७४ मा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पुनः खुम्चिएको कांग्रेसले त्यो बेला पनि आफ्नो संगठन कमजोर भएको महसुस गरेन। संगठन बलियो रहँदारहँदै पनि उही अन्तघातकै कारण पराजित बन्न पुगेको पार्टीको आन्तरिक निष्कर्षमा रह्यो।
हरेक निर्वाचनलाई पार्टीभित्रकै ‘अन्तरघात’ ले प्रभावित पार्ने गरेको निष्कर्षमा पुग्दै आएको दाङ कांग्रेसको सो निष्कर्ष ‘भ्रमपूर्ण’ रहेको प्रमाणित भएको छ। मंसिर १४ गते सम्पन्न उपनिर्वाचनले कांग्रेसले अन्तरघातका कारण नभई आफ्नो कमजोर सांगठनिक अवस्थाका कारण हार ब्यहोर्नुपरेको प्रमाणित गरिएको छ। यतिमात्रै हैन, उपचुनावको परिणामले दाङ कांग्रेससामु बलियो संगठनात्मक संरचना निर्माण लागि चुनौती खडा गरिदिएको छ।
यो उपचुनावपछि भयो कांग्रेस हारको कारण ‘अन्तरघात’ ठान्ने भ्रमबाट मुक्त बनेको छ। कांग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्काले नागरिकसँग भने, ‘यसपटकको हारको कारण अन्तरघात हैन, हामी गहिराइमा पुग्न सकेनौं, अर्थात् हामी सांगठिनक रूपमा कमजोर भयौं।’
अघिल्लो निर्वाचनमा तत्कालीन माओवादीको समर्थनमा दाङ क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा उम्मेदवार बनेका उत्तरकुमार ओली २३ हजार नौ सय ७० मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेससँगको मतान्तर ६ हजार चार सय ३५ थियो। कांग्रेसका बुद्धिराम भण्डारीले १७ हजार पाँच सय ३५ मत प्राप्त गरेका थिए। दुई वर्षपछि भएको उपनिर्वाचनमा विजयको लक्ष्य बोकेको कांग्रेसले थोरैमात्र मतान्तर घटाउन सक्यो। नेकपाभन्दा पाँच हजार एक सय चार मतले पछि परेको कांग्रेसले दुई वर्षको अवधिमा नेकपासँगको मतान्तर एक हजार तीन सय ३१ ले कम ग-यो। नेकपाकी विमलाकुमार खत्री २४ हजार दुई सय ८६ मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेसका केशवराज शर्मा आचार्यले १९ हजार एक सय ८१ मत प्राप्त गरे।
पश्चिम क्षेत्रमा बेमेलमा उत्रने भनिएकै नेताहरू एक भई चुनावी प्रचारमा खटिएका थिए। पार्टीभित्रको एकताका कारण पनि यो उपचुनावको नतिजा आफ्नो पक्षमा जानेमा कांग्रेस बढी विश्वस्त थियो। ‘दाङ कांग्रेसको इतिहासमै यो उपचुनावमा पार्टीभित्र कुनै अन्तरघात भएको छैन,’ पार्टी सभापति खड्काले भने, ‘सबै नेताहरूबीचको एकताले चुनाव जित्ने बलियो आधार देखेका थियौं तर हामी सांगठनिक रूपमै कमजोर रहेछौं भन्ने थाहा भयो।’
क्षेत्र नम्बर ३ (ख) मा रहेका २५ वडामध्ये कांग्रेसले तीनवटा वडामा मात्रै अगुवाइ ग-यो, त्यो पनि झिनो मतले। आफ्नै बलियो पकड क्षेत्र भनेर तोकिएका वडाहरूमै जनमत गुमाउनुले पनि कांग्रेसभित्रको सांगठनिक संरचना कमजोर छ भन्ने कुरा प्रमाणित गरिदिएको छ। बबई गाउँपालिका–७ मा कांग्रेसले एक सय १६ मतले अगुवाइ गरेको थियो। बलियो पडक रहेको भनिएको यो वडामा कांग्रेसले नौ सय चार मत पाएको थियो भने नेकपाले सात सय ८८ मत पाएको थियो। आफ्नो बलियो पकड क्षेत्र भनेर कांग्रसले तय गरेको दंगीशरण गाउँपालिकाको वडा नम्बर एकमा जम्मा ७१ मत बढायो। कांग्रेसले ६ सय २८ मत प्राप्त गर्दा नेकपाले पाँच सय ५७ मत पाएको थियो।
यसैगरी, शान्तिनगर गाउँपालिका–३ मा कांग्रेसले नेकपासँगको मतान्तर दुई सय २४ पु-याएको थियो। कांग्रेसले एक हजार ८० मत प्राप्त गर्दा नेकपाले आठ सय ५६ मत पाएको थियो। यी तीन वडाबाहेक कांग्रेस २२ वडामा नेकपाभन्दा पछि परेको छ। शन्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका र तुलसीपुरका वडा नम्बर १० र ११ मा ठुलो मतान्तरले आफू अगाडि रहने कांग्रेसको विश्वास चुनावी मत परिणामले भत्काइदिएको छ। कांग्रेसले बलियो पकड रहेको मानेका यी सबै क्षेत्रमा नै कांग्रेस नेकपाभन्दा निकै कमजोर देखियो।
पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता गेहेन्द्र गिरीले उपनिर्वाचनमा कांग्रेसलाई प्राप्त कमजोर मत परिणामको कारण विगतमा भनिएजस्तो अन्तरघात नरहेको बताए। ‘हामीले विभिन्न वडालाई हाम्रो पकड एरिया भनेर विश्लेषण ग-यौं तर हामीले गलत विश्लेषण गरेका रहेछौं,’ उनले भने, ‘विगतमा भनिएजस्तो कांग्रेसभित्र कुनै पनि अन्तरघात भएको छैन, मुख्य कुरा हामी गहिराइमा पुग्न सकेनौं। तथापि दुई वर्षको अवधिमा कांग्रेसले पहिलेको जस्तै मत पाउनुलाई सन्तोषजनक उपलब्धि मान्नुपर्ने हुन्छ।’
अघिल्लो प्रदेशसभा निर्वाचनमा दाङ ३ (ख) मा कांग्रेसले प्राप्त गरेको मत १७ हजार पाँच सय ३५ लाई अहिले बढाएर १९ हजार एक सय ८२ पु-याएको छ। ‘अहिले कांग्रेसले प्राप्त गरेको मतलाई सन्तोषजनक मत मान्नुपर्छ, किनकि दुई वर्षको अवधिमा कांग्रेसले एक हजार ६ सय ४७ मत बढाएको छ,’ पूर्वसांसद गिरीले भने ‘दुई ठूला पार्टी पूर्व एमाले र माओवादी एक भएको अवस्थामा पनि कांग्रेसले बढाएको यो मत कम हैन।’
कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले नेपाली कांग्रेसले चुनावी शैलीलाई परिवर्तन गर्न नसकेका कारण पनि अपेक्षित मत आउन नसकेको बताए। पार्टीकै कार्यकर्ता तहमा अलमलिएको कांग्रेस तटस्थ मतदातासम्म पुग्न नसक्नु कांग्रेसको पराजयको एउटा कारण रहेको उल्लेख गर्दै केन्द्रीय सदस्य दीपक गिरीले भने, ‘चुनावी प्रचार भाषण र आमसभा शैलीमा बढी गरियो, यसले कार्यकर्ताहरूसँगको पहुँचमा मात्र पार्टी पुग्यो। तटस्थ मतदातासम्म पुग्ने घरदैलो भेटघाट कार्यक्रम कम भयो, यसले घाटा भयो।’
कुनै बेला कांग्रेसले पश्चिम दाङलाई आफ्नो किल्ला ठान्दै आएको थियो। तर त्यो किल्ला नेकपाले खोसिदिएको छ। गत प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको सो गढ तोडेको नेकपाले पुनः उही क्षेत्रमा जित दोहो¥याएको छ। लगातार दुईवटा (२०४८ को संसदीय र २०५१ को मध्यावधी) निर्वाचनमा कांग्रेस नेता खुमबहादुर खड्का निर्वाचित भएपछि पश्चिम क्षेत्रलाई कांग्रेसले आफ्नो पकडमा राख्दै २०५६ मा जितको ह्याट्रिक पूरा गरेको थियो। पहिलो संविधानसभा निर्वाचन २०६४ मा आफ्नो जनमत खस्काएको कांग्रेसले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने सो क्षेत्रमा पुनः झन्डा गाडेको थियो। तर २०७४ को प्रतिनिधि र प्रदेशसभाको निर्वाचन अनि २०७६ को प्रदेशसभा उपनिर्वाचनमा भने कांग्रेसले नेकपालाई विरासत जिम्मा लाएको छ।
प्रकाशित: २ पुस २०७६ ०१:३३ बुधबार