१० माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारी जग्गामा दलहरूको मनपरी

वीरेन्द्रनगरको हटियाचोकस्थित तत्कालीन नेकपा एमालेको पार्टी कार्यालय। दुईतले यो भवनको माथिल्लो तला भाडामा छ। तस्बिर :नगेन्द्र /नागरिक

सुर्खेत – लोकतन्त्र स्थापनाका लागि लडेको भन्दै नगर विकास समिति सुर्खेतले विभिन्न मितिमा जिल्लास्थित सातवटा राजनीतिक दललाई भोगाधिकारका लागि वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा एक–एक कट्ठा जमिन उपलब्ध गरायो। पार्टी कार्यालय स्थापनाका लागि उपलब्ध गराइएको जमिनमा दलहरूले भने ‘व्यापार’ गरिरहेका छन्। सो जग्गामा केही राजनीतिक दलले घर बनाएर भाडामा लगाएका छन् भने केहीले भट्टी पसल सञ्चालन गर्न भाडामा दिएका छन्।

नगर विकास समितिले हटियाचोकमा उपलब्ध गराएको जग्गामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालय छ। ऋषिस्मृति भवन नाम दिइएको सो कार्यालय दुईतले छ। माथिल्लो तलाका नौवटा कोठा भाडामा दिइएको छ। भाडाबापत नेकपाले मासिक एक लाख रुपैयाँभन्दा बढी पाउँछ। भवनको माथिल्लो तलामा एउटा एग्रोभेट, एउटा डिमार्टमेन्टल स्टोर र सातवटा फेन्सी पसल छन्। तल्लो तलामा पार्टी कार्यालय छ। तत्कालीन एमालेले प्रयोग गरेको सो भवनमा अहिले नेकपा कार्यालय छ। ‘राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले जिल्लास्थित राजनीतिक दलहरूलाई विभिन्न मितिमा एक–एक कट्ठा जमिन दिने निर्णय भएको हो,’ नगर विकास समितिका अमिन महेशप्रसाद पौडेलले भने, ‘तर दलहरूले उद्देश्यविपरीत काम गरिरहेका छन्।’

नेकपा पार्टी कार्यालयनजिकै तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको एक कट्ठा जमिन छ। उसले नगर विकास समितिबाट भोगाधिकारका लागि प्राप्त गरेको जमिन भाडामा लगाएको छ। सो जमिनमा तीनवटा भट्टी पसल छन्। एउटा पसलले मासिक १० हजार रुपैयाँ भाडा बुझाउँछन्। ‘हामी आफैंले छाप्रा बनाएर पसल सञ्चालन गरेका हौं,’ फोरमलाई प्राप्त जमिनमा बसेका एक व्यापारीले भने, ‘तीनवटा पसलले मासिक १० हजारका दरले पैसा बुझाउने गरेका छौं।’ ती पसलेले भाडाको रकम बुझ्नेको नाम भन्ने खुलाएनन्। विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अहिले नेपाली कांग्रेसमा विलय भइसकेको छ।

फोरम लोकतान्त्रिका नाममा दिइएको जमिनको छेउमै तत्कालीन नेकपा माओवादीको दुईतले पार्टी कार्यालय छ। उसले पनि कार्यालयको तल्लो तलाका सटर भाडामा लगाएको छ। खाली रहेको जमिनमा चिया पसल सञ्चालन छ।

त्यस्तै बुलबुले तरकारी तथा फलफूल बजार छेउमा राष्ट्रिय जनमोर्चाले नगर विकासबाट प्राप्त जमिनमा घर बनाएको छ। उसले पनि भवन भाडामा लगाएको छ। हटियालाइनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्राप्त जमिनमा पनि फेन्सी पसलहरू सञ्चालनमा छन्।

सुर्खेत उद्योग वाणिज्य संघसँगै जोडिएको जमिनमा नेपाली कांग्रेसले तीनतले भवन बनाएको छ। उसले पार्टी कार्यालयका कोठा भाडामा नदिए पनि नजिकैको खाली जमिनमा चमेना–गृह छ। ‘हामीले भोगाधिकारका लागि दिएको जमिनमा घर बनाएर राजनीतिक दलहरूले होटल, डिपार्टमेन्टल स्टोर, फेन्सी पसललगायत व्यापार सञ्चालन गर्न दिएका छन्,’ अमिन पौडेलले भने, ‘राजनीतिक दलहरू नै नियमविपरीत काममा लागेका छन्।’ राजनीतिक दलहरूले पार्टी कार्यालयका सटर र तला कार्यकर्तालाई भाडामा पसल सञ्चालन गर्न दिएका छन्। तर ती पसले यसबारे कुरा गर्न मान्दैनन्।

नगर विकास समितिका अनुसार तत्कालीन एमाले, नेकपा माओवादी, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई पार्टी कार्यालयका लागि जग्गा उपलब्ध गराइएको हो।

राजनीतिक दलका नेताहरू पार्टी कार्यालय भवनलाई भाडामा दिएको र त्यहाँ भएको व्यापारलाई सामान्य रुपमा लिन्छन्। नेकपाका सचिव कृष्ण जिसीले पार्टी कार्यालयको सुरक्षाका लागि सटर भाडामा दिएको बताए। ‘पार्टीका लागि आवश्यकभन्दा बाँकी कोठा भाडामा दिएका छौं,’ उनले भने, ‘यसलाई ठूलो इस्यु बनाउनुहुन्न।’ नगर विकास समितिले २०५८ देखि २०६६ सालसम्म विभिन्न मितिमा पार्टीलाई जमिन दिन निर्णय गरेको थियो। २०५८ मंसिर २२ गते तत्कालीन नगर विकास समितिका अध्यक्ष नरेन्द्र कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेलाई जग्गा दिने निर्णय गरेका थिए।

त्यसपछि २०६४ असोज १५ गते जितबहादुर राना अध्यक्ष हुँदा तत्कालीन एकीकृत माओवादी, राष्ट्रिय जनमोर्चा र राप्रपा नेपाललाई एक–एक कट्ठा जमिन उपलब्ध गराइएको थियो। यस्तै, २०६६ साल असार १६ गते श्यामसुन्दर अग्रवाल अध्यक्ष हुँदा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जग्गा उपलब्ध गराउने निर्णय भएको थियो।

प्रकाशित: २५ मंसिर २०७६ ००:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App