१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सत्तापक्ष रचनात्मक, विपक्षी आक्रामक

दाङ - सत्तारुढ नेकपाले उम्मेदवार चयन गरेसंगै दाङ क्षेत्र नम्बर ३ (ख)मा चुनावी गतिविधी सुरुवात गरिसकेको छ। उम्मेदवार, दल र दलका नेताहरुले मतदाताहरुसंगको भेटघाटलाई बाक्लो बनाइरहेका छन्। नेकपाले यो क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित उत्तरकुमार ओलीकी पत्नी विमला ओलीलाई उम्मेदवार चयन गरेको छ। सांसद ओलीको निधनपछि १४ मंसिरमा हुने उपनिर्वाचनमा नेकपाले उनकी पत्नी विमलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

यो क्षेत्रमा अर्को मुख्य प्रतिपर्धी दल नेपाली कांग्रेसले मंगलबार अपराह्नसम्म उम्मेदवार चयन गर्न सकेन। फलतः नेकपाले उम्मेदवार चयन गरिसकेर चुनावी गतिविधिका लागि गाउँ पसिसक्दासम्म पनि कांग्रेसले चुनावी गतिविधि गाउँ केन्द्रीत बनाउन सकेको छैन। विगतका चुनाव हेर्दा यस चुनावी क्षेत्रमा मूलतः सत्तारूढ नेकपा र प्रतिपक्ष नेपाली कांग्रेसबीचमै कडा प्रतिस्पर्धा हुने देखिएको छ। त्यसमा पनि यी दुवै दलले ‘सत्ता’लाई केन्द्रबिन्दुमा राखेर जनमत रिझाउने रणनीति अबलम्बन गरेका छन्।

स्वर्गीय सांसद उत्तरकुमार ओलीप्रतिको सहानुभूतिको मतको आशा राखेको नेकपाले उनै सांसद पत्नी ओलीलाई उम्मेदवारका रूपमा अघि सा¥यो। यससँगै सत्ताको नेतृत्व गरेका हिसाबले पनि यो क्षेत्रको जनमत आफ्नो पक्षमा पर्नेमा नेकपा विश्वस्त देखिन्छ। वर्तमान सरकारले गरेका सफल र राम्रा कामको फेहरिस्त मतदातासामु पस्केर नेकपाले ०७४ मा प्राप्त जनमतलाई फेरि आफ्नो पक्षमा पार्ने रणनीतिमा लाग्नेछ। ‘सर्वप्रथमतः हामीले पार्टीको कार्यदिशा, नीति र सिद्धान्तबारे मतदातालाई प्रष्ट पार्छौ,’ नेकपाका जिल्ला सचिव सुवास पुनले भने, ‘योसँगै सरकारले गरेका कामको प्रभावकारिता र अधुरा विकासे योजना वर्तमान सरकारकै पालामा पूर्णता दिने विश्वाससहित हामी मतदातासमक्ष पुग्नेछौँ।’

यता सरकारविरुद्ध केही समयअघि दुई चरणको गाउँ जागरण अभियान थालेको कांग्रेसले उक्त अभियानबाटै निर्वाचन जित्ने एउटा आधार तयार भैसकेको बताएको छ। प्रदेश निर्वाचन क्षेत्रसम्म पुगेर जागरण अभियानका क्रममा सरकारले गरेका गलत कामको फेहरिस्त सुनाएको कांग्रेसले यसपटकको उपचुनाव जित्ने बलियो आधार पनि यसैलाई बनाउने देखिएको छ। निर्वाचनपश्चात बनेको वर्तमान सरकारले अहिलेसम्म गरेका गलत कदम तथा गर्न नसकेका अधुरा कामलाई मतदातासमक्ष पु¥याउने प्रयासमा कांग्रेस रहने छ।

सरकारको आलोचनाले सरकारको नेतृत्व गरिरहेको नेकपाको विपक्षमा जनतम पर्ने र त्यसको फाइदा आफूलाई मिल्नेमा कांग्रेस बढी आशावादी देखिएको छ। ‘वर्तमान सरकारले अहिलेसम्म के के काम गर्यो ? कति जनहितका पक्षमा भए र कति विपक्षमा भए ?,’ नेपाली कांग्रेसका जिल्ला उपसभापति कमानसिंह भारतीले भने, ‘अहिलेसम्म उसले गरेका कुनै पनि काम जनहितको पक्षमा हुन सकेनन्, हामीले सरकार र नेकपाले गरेका यिनै जनविरोधी कदमबारे मतदातालाई थप प्रष्ट पार्नेछौँ।’ सरकारको यही कार्यशैलीका कारण मतदातामा सरकार र सरकारको नेतृत्व गरेको नेकपाप्रति जनताको मनोभाव नकारात्मक बनिसकेको भन्दै उनले थपे, ‘हामी ढुक्क छौँ, यसपटकको उपचुनावमा नेपाली कांग्रेसले आफ्नो पकड पक्कै जमाउने छ।’ मूलत ः कांग्रेसले निर्मला हत्या प्रकरण, महँगी , भ्रष्टाचारलगायत मुद्दालाई मतदातासम्म चुनावी अजेन्डाका रूपमा प्रस्तुत गर्ने तयारीमा रहेको छ।

यस्तै गत प्रदेशसभा निर्वाचनमा तेस्रो शक्ति बनेको कमल थापा नेतृत्वको राप्रपाले पनि आफूलाई पहिलो शक्तिको रूपमा स्थापित हुने लक्षका साथ चुनावी मैदानमा उत्रनेछ। उम्मेदवार चयन गरेर चुनावी अभियान थालिसकेको राप्रपाले आफूभन्दा बलिया नेकपा र कांग्रेसको खेदो खन्ने छ। राप्रपाले प्रदेशसभाका लागि भूपाल रावतलाई उम्मेदवार तोकेको छ। ‘नेकपा र कांग्रेसले सरकारको नेतृत्व गरिरहँदा जनहितका लागि कति सम्म के के काम गरे ?,’ राप्रपाका जिल्ला नेता उमाकान्त भण्डारीले भने , ‘ठूला दल भनिएकाबाट हुन नसकेका कामहरुलाई जनता सामु प्रष्ट पार्नु जरुरी छ, यसर्थ हामीहरू यहि अभियानका साथ मैदानमा जाने छौँ।’ यसैगरी उम्मेदवार चयन गरेर चुनावी मैदानमा होमिएका अन्य साना दल विवेकशील, राष्ट्रिय जनमोर्चालगायतका दल पनि ठूला दलका विपक्षमा रहेर मतदाता फकाउने रणनीतिमा छन्।

प्रकाशित: २४ कार्तिक २०७६ ०१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App