३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

रगतकाे नमुना दिन महरालाई आदेश

काठमाडौं – महिलामाथि यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिएनए परीक्षणका लागि रगत दिन काठमाडौं जिल्ला अदालतले आदेश गरेको छ। जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले बिहीबारदेखि लागू हुनेगरी ७ दिन अनुसन्धानको समय थप्दै परीक्षणका लागि रगत दिन आदेश दिएको हो।

प्रहरी अनुसन्धान अधिकृतले डिएनए परीक्षण नगरी आरोपबारे अनुसन्धान गर्न नसकिने भन्दै आदेशको माग गरेका थिए। प्रहरीको मागबमोजिम डिएनएका लागि नमुना रगत उपलब्ध गराउन महराका नाममा आदेश भएको जिल्ला अदालतका प्रवक्ता आनन्दप्रसाद श्रेष्ठले बताए। महराले डिएनए परीक्षणका लागि रगत दिन अस्वीकार गरेका थिए।

महराको मुद्दामा तेस्रोपटकसम्म गरी अनुसन्धानका लागि अदालतले २५ दिन म्याद दिएको छ। कानुनअनुसार अनुसन्धानमा बढीमा २५ दिनसम्म म्याद थप्न पाउने व्यस्था छ। प्रहरीलाई तिहार बिदा सकिएलगत्तै अभियोग पत्र दायर गर्नुपर्ने कानुनी बाध्यता छ। अहिले थपिएको म्याद पनि सकिएपछि कि त मुद्दा नचलाउने निर्णय गर्नुपर्ने कि अभियोगपत्र दर्ता गर्नुपर्ने हुन्छ।

अनुसन्धानका लागि दोस्रोपटक थपेको म्याद सकिएपछि बिहीबार ७ दिन समय थपिएको छ। पक्राउ परेको तीन दिनपछि महरालाई नर्भिक अस्पताल भर्ना गरिएको थियो। उनी अझै अस्पतालमै छन्। उनीमाथि संसद् सचिवालयमा कार्यरत रोशनी शाहीले असोज १२ मा आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन्। महराले सरकारी वकिल र प्रहरीसमक्ष बयान दिँदै आफू रोशनीको कोठामा गएको स्विकार गरेका छन्। तर उनले रोशनीलाई आफूले त्यस समयमा नभेटेको बताएका छन्। कर्मचारी समायोजनको कुरामा रोशनी तनावमा रहेकाले भेट्न गएको र त्यहाँ गएर फोन गर्दा उनी नभेटिएकाले फिर्ता भएको बयान उनले दिएका छन्।

महरालाई यौन दुव्र्यवहारको आरोप लगाएकी रोशनी काठमाडौं जिल्ला अदालतमा उपस्थित ‘महरा निर्दोष’ भएको र ‘प्रहरीले जर्बजस्ती बयान दिन बाध्य पारेको’ दाबीसहितको निवेदन दिएकी छन्। यसअघि उनले आफ्नै कोठामा रहेको मदिराको बोतल, भाँचिएको चस्मालगायतका सामग्री महराको भन्दै प्रमाणस्वरुप प्रहरीलाई दिएकी थिइन्।

प्रकाशित: ८ कार्तिक २०७६ ०१:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App