coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संविधान परिमार्जन गर्न सकिन्छ : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि मूर्छित सपनालाई जगाएको बताएका छन् । संविधान दिवस मनाउन शुक्रबार टुँडिखेलमा जम्मा भएका सर्वसाधारण र सरकारी कर्मचारीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘खै त रेल, खै त पानी जहाज ? कहाँ छ सुरुङ खनेको ? कता छ सतह जलमार्गमा मालवाहक सवारी कुदेको ? अझै जोड दिएर सोध्न सकिन्छ– हामीलाई सपना किन देखाएको ? हामीमा आशा किन जगाएको ? म विनम्रताका साथ स्विकार्छु– हो, मैले मूर्छित सपनामाथि पानी छम्केकै हुँ । मैले भनेको हुँ, निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौं ।’

उनले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताउँदै विकासमा पनि सबै दल मिलेर अघि बढ्नुपर्ने र विकासका लागि कोही पक्ष र विपक्षमा बाँडिन नहुने धारणा व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा कुनै अप्ठ्यारो आइलागे क्रमशः पन्छाउँदै परिमार्जन गर्न सकिने दोहो¥याए । ‘हाम्रो लोकतन्त्र फराकिलो छ, कतिपय अतिवादी सोच र संस्थालाई पनि यसले यसै अवधिमा मूल धारमा फर्काउन सफल भएको छ । जो अझै बाटो भुलिरहेका छन् उनीहरुलाई पनि मूल धारमा आउन ढिला नगर्न मेरो आग्रह छ’, उनले भने ।

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालको हालसम्मको अवधिमा भएका आर्थिक विकास र उपलब्धिका बारेमा पनि विस्तृतमा उल्लेख गरे ।उनले लिखित सम्बोधनको क्रममा लामो संघर्ष र बलिदानपछि पाँच वर्षअघि आजकै दिन नेपालको संविधान जारी गरेको बताए । ‘यस वर्षबाट संविधान दिवसलाई सरकारी वा राजकीय दिवसजस्तो हैन, आम नेपाली जनताको उत्सवका रुपमा धुमधामसाथ मनाउनुपर्छ । यस दिवसले औपचारिकता निभाउने मात्र हैन, सारा नेपाली मनमा उत्सवको भावना सिर्जना गर्नुपर्छ भनेको थिएँ, आज यो अवस्थामा आइपुगेका छौं’, उनले भने ।

दशकौंसम्म संघर्षमा हेलिएकाका लागि आजको दिन गौरव गाथाले भरिएको दिवस भएको उनले बताए । ‘पारिवारिक विछोड, उत्पीडन र छटपटीबाट उन्मुक्ति पाएका सबै नेपालीका लागि आजको दिन स्वतन्त्रता दिवस पनि हो, प्राप्त उपलब्धिप्रति गर्व गर्ने उत्सव पनि हो । त्यसैले यो हाम्रो राष्ट्रिय दिवस न त फगत तामझाम हो, न आम जनतामा अरुचि हुने निरंकुश शासकहरुको ‘उर्दी र तामेली’ जस्तो हो’, प्रधानमन्त्री ओलीले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित उक्त समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका निकायबाट सातै प्रदेशका सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो । संविधान दिवसलाई उत्सवका रुपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।  नेपाल भ्रमण वर्ष २०२० सँग सम्बन्धित झाँकी पनि प्रदर्शन गरिएको थियो । समारोहमा सहभागीले हातहातमा राष्ट्रिय झन्डा प्रदर्शन गरेका थिए ।

सर्वसाधारणले पाएनन् प्रवेश

संविधान दिवसका अवसरमा राजधानीको टुँडिखेलमा संघीय सरकारले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन पुगेका सर्वसाधरण भने कार्यक्रम हेर्नबाटै वञ्चित भएका छन् । सरकारले सर्वसाधारण सबैलाई संविधान दिवसका दिन आयोजित कार्यक्रममा सहभागी भई भव्यताका साथ मनाउन आह्वान गरेको सुनेर विशेष कार्यक्रममा सहभागी हुन पुगेका सर्वसाधारण कार्यक्रम अवलोकन गर्नबाट वञ्चित भए । मूल कार्यक्रम स्थलमा प्रवेश नपाएपछि पर्खालबाहिर बसेर कार्यक्रम हेरिरहेका सर्वसाधारणलाई सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउँदै त्यहाँबाट पनि हटाएका थिए ।

प्रकाशित: ४ आश्विन २०७६ ०२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App