७ वैशाख २०८१ शुक्रबार
राजनीति

व्यक्तिभन्दा पार्टी महत्वपूर्णः दाहाल

बरमझियामा आयोजित स्मृतिसभामा सहभागी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल। तस्बिरः सुरेश/नागरिक

जनकपुर - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व कसले गर्ने भन्ने कुराभन्दा नेकपाको सरकार पाँच वर्ष चल्ने कुरा महत्वपूर्ण भएको बताएका छन्। जनकपुर एयरपोर्टमा पत्रकारसँग बोल्दै अध्यक्ष दाहालले अहिलेको सरकारको एक वर्षको कामको समीक्षा गरेर अगाडि बढ्ने बताए। उनले प्रधानमन्त्री को हुने भन्दा पनि सरकार नेकपाको हुने कुरा महत्वपूर्ण भएको बताए।

धनुषाको बरमझियामा तत्कालीन माओवादी नेता रामवृक्ष यादवको २५ औं स्मृतिसभालाई सम्बोधन गर्न जनकपुर आएका दाहालले प्रदेश २ मा भ्रष्टाचार बढ्नुका साथै विपद्को घडीमा सरकारको उपस्थिति अपेक्षाकृत नहुँदा जनताले दुःख पाइरहेको बताए।

‘प्रदेश २ मा सरकार गठन भएयता भ्रष्टाचार झनै बढ्यो। विकासको कामले गति पाउन सकेन। परेको बेला सरकारको भरपर्दो उपस्थिति हुँदैन यसले जनतालाई दुःख थपियो भन्ने सुनिन्छ। सरकारको उपस्थिति जनताले अनुभूति गर्न सकेको छ त ? के यसैका लागि हामीले लडेको हो ?,’ उनले भने।

दाहालले मधेसमा कटान र डुबान, मरुभूमीकरण तथा आगलागीबाट बर्सेनि दोहोरिरहने समस्याको स्थायी समाधानका लागि गुरुयोजना बनाएर काम गर्नुपर्ने उल्लेख गरे। निकट भविष्यमा प्रधानमन्त्री केपी ओली र आफूसँगै तराई–मधेसमा आएर यहाँका हरेक समस्या सम्बोधन हुनेगरी अभियान थाल्ने योजना सुनाए। ‘चुरे संरक्षणबिना तराईमा हरेक वर्ष आउने बाढी र डुबानको समस्या समाधान गर्न सकिँदैन। यसका लागि रणनीतिक योजना बनाएर काम गर्नुपर्ने आवश्यकता छ,’ दाहालले भने।

पूर्वप्रधानमन्त्री दाहालले थपे, ‘हुलाकी राजमार्ग, पूर्व–पश्चिम रेलमार्ग, निजगढ हवाइ अड्डा, फास्ट ट्र्याक र सुनकोसी–मरिन–कमला डाइभर्सन (सिँचाइ आयोजना) निर्माणबिना तराई–मधेसको समृद्धि सम्भव छैन।’ केही दिनभित्रै प्रधानमन्त्री ओली र आफूसँगै आएर यी सबै योजना कार्यान्वयनको सुनिश्चितता गर्ने अभियानको घोषणा गर्ने तयारीमा रहेको र यसका लागि विश्वस्त रहन उनले सभाका सहभागीलाई आग्रह गरे। ‘यसका साथै चुरे संरक्षण, सबै नदी, खोलामा जनता तटबन्ध निर्माण र सीमापारि बाँधको रुपमा बनाइएको सडक व्यवस्थापन गर्न भारतीय पक्षसँग पहल गर्ने योजना छ,’ दाहालले भने।

तराई–मधेससँग परेको ‘लभ’ नतोड्ने वाचा दोहो¥याउँदै दाहालले पार्टी र सरकारको नेतृत्वसँगै आएर समृद्ध तराई–मधेस अभियान सुरु गर्न लागेको बताए। वीरेन्द्रबजार–महिनाथपुर सडकलाई रामवृक्ष–मार्ग नामकरणका लागि सरकारसमक्ष पहल गर्ने आश्वासन दिँदै उनले नेकपा नेतृत्वकै सरकारले समृद्ध मधेस निर्माण अभियानलाई निष्कर्षमा पु¥याउने जिकिर गरे।

‘राष्ट्रपति र दुई तिहाइ नजिक रहेको हाम्रै पार्टी नेतृत्वको सरकार भएको बेला गर्न नसके भोलि जुनसुकै पार्टीको सरकार आए पनि केही गर्न सक्छ भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘सिँचाइ मात्रै व्यवस्थित भइदिए सिंगो मुलुकलाई पाल्न आवश्यक खाद्यान्न उत्पादन गर्न सक्ने क्षमता रहेको मधेशमा राज्यको ध्यान नपुगेरै पछि परहेको हो।’

‘रामवृक्ष यादवलाई राष्ट्रिय हिरो बनाउँछु’

नेकपा अध्यक्ष दाहालले सशस्त्र विद्रोहको तयारी क्रममा धनुषामा मारिएका तत्कालीन माओवादी नेता रामवृक्ष यादवलाई राष्ट्रिय हिरो बनाउने बताए। ‘विद्रोह तयारीका लागि चितवनमा बसेको विस्तारित बैठकबाट घर फर्किने क्रममा मार्साब (यादव) लाई प्रतिक्रियावादी तत्वले निर्मम हत्या ग¥यो,’ २०५२ साल भदौ २ गतेको घटना सम्झिँदै दाहालले भने, ‘मार्साबको हत्या खबरले हाम्रो समूहमा आक्रोशको आगो बल्यो र तत्कालै हतियार उठाएर द्वन्द्वमा होमियौं। उहाँको त्यो हत्या नभएको भए हुन सक्छ, त्यति चाँडो यति धेरै युवाको ज्यान अनाहकमा जाने परिस्थिति सिर्जना हुँदैनथ्यो होला कि !’

नेकपाका अर्का नेता माधव नेपालले पार्टी कमिटीको वरीयतामा असन्तुष्टि व्यक्त गरे। ‘पार्टी एकीकरणका बेला झलनाथ खनालजी अपमानित हुनुभयो। अहिले म भए,’ उनले भने। विधानविपरीत भएका कार्यमा अन्तरसंघर्ष हुने नेपालले बताए।

प्रकाशित: ३ भाद्र २०७६ ०१:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App