१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सांसदलाई गाउँ पठाउँदै नेकपा

नेकपाको संसदीय दलको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक गुलावजंग शाह। तस्बिरः नागरिक

वीरेन्द्रनगर– आर्थिक वर्ष २०७५/७६ मा सञ्चालन भएका योजनाको समीक्षा र २०७६/७७ को नीति तथा कार्यक्रमको जानकारी गराउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका सांसदहरू गाउँ जाने भएका छन्। नेकपाको संसदीय समितिको १० गतेदेखि १२ गतेसम्म बसेको बैठकले यस्तो निर्णय गरेको हो।

‘गत वर्ष सरकारले गरेका कामकाज कसरी सम्पन्न भए, उक्त विकास जनताले अनुभूति गर्न पाए पाएनन् यसको जानकारी लिन्छौं,’ नेकपाको संसदीय दलको बैठकले गरेका निर्णय सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा नेकपाका प्रमुख सचेतक गुलावजंग शाहले भने, ‘यस आर्थिक वर्षमा आएका नीति तथा कार्यक्रमका बारेमा पनि जानकारी गराउँछौं।’ संसदीय दलको बैठकले चारवटा निर्णय गरेको उनको भनाइ छ।

उक्त बैठकले २०७५/७६ को बजेट आफ्नो निर्वाचन क्षेत्रमा कार्यान्वयनको पाटोको विषयमा समीक्षा, २०७६/७७ को नीति तथा कार्यक्रम जनतासामु पु-याउने, दैवी प्रकोपबाट घाइते भएकालाई उपचार, बेपत्ताको खोजी र मृत्यु भएका परिवारलाई क्षतिपूर्तिमा सहयोग गर्न र आचारसंहिता समितिले तयार पारेको रिपोर्ट पेस गर्ने निर्णय गरेको थियो। सांसद धर्मराज रेग्मीको संयोजकत्वमा समितिको सातौँ बैठकले उक्त समिति गठन गरेको थियो।

उक्त बैठकमा सरकारले गरेका कामकाजको समीक्षा भए पनि पत्रकार सम्मेलनमा केही भनिएन। स्रोतका अनुसार संसदीय दलको १२ औँ बैठकमा केही सांसदहरूले सरकारको आलोचना गरेका थिए। सरकारले प्रस्तुत गरेको बजेट समानुपातिकभन्दा वितरणमुखी भएको सांसदहरूको भनाइ थियो। जसले जनताको अपेक्षाअनुसार काम हुन नसकेको भन्दै सांसदहरूबीच चर्काचर्कीसमेत भएको थियो।

यस विषयमा प्रम्रुख सचेतक शाहले कतिपय यो अभ्यास नयाँ भएकाले काम र नीति नियम सँगसँगै लिनुपर्ने बताए। सरकारले काम गरिरहेको भन्दै उनले गाउँबाट सांसदहरू फिर्ता भएपछि मात्र सरकारको कामको समीक्षा हुने बताए। सांसदहरूले करिब एक महिनासम्म निर्वाचन क्षेत्रबाट भए गरेका प्रगतिको समीक्षा ल्याइ सक्ने उनको भनाइ छ।

प्रकाशित: १२ श्रावण २०७६ ०९:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App