११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सेना र प्रहरीमा अझै सामन्ती राजतन्त्रको धङधङी छः पम्फा भुसाल

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले नेपाली सेना र प्रहरीमा राजतन्त्रको धङधङी बाँकी रहेको बताएकी छिन्। 

आइतबारको प्रतिनिधिसभा बैठकअन्तर्गत विशेष समयमा बोल्दै सांसद भुसालले श्रीमती संघको नाममा सेना र प्रहरीमा अझै पितृ सत्तावादी, सामन्ती राजतन्त्रको धङधङी विद्यमान रहेको बताइन्। 

‘व्यक्तिले जन्मको आधारमा होइन, कर्म योग्यता र क्षमताको आधारमा, जनमतको अधारमा अघि बढ्न पाउनुपर्छ भनेर गणतन्त्रको स्थापना गरेको १० वर्षभन्दा बढी भइसकेको छ’, उनले भनिन्, ‘तर देशमा अझै पनि पितृ सत्तावादी र सामन्तवादी प्रवृति जगजाहेर छ।’ 

सांसद भुसालले राष्ट्रप्रमुखसँग सम्बन्ध गाँसेवापत महारानी हुने, उनका छोराछोरी युवराज, युवराज्ञी हुने र नागरिकभन्दा माथि हुने व्यवस्था अन्त्य गरेर गणतन्त्र ल्याइएको भन्दै तर अहिलेपनि महत्वपूर्ण निकायमा त्यो परिपाटी विद्यमान रहेकोमा त्यसको अन्त्य गर्नुपर्ने बताइन्। ‘श्रीमानको जागिरका आधारमा श्रीमतीले सुविधा लिने, परिवारका नाममा परिवारका सदस्यले सुविधा लिने व्यवस्थाको अन्त्य गर्नुपर्छ’, उनले भनिन्।

नेपाली सेनामा सैनिक श्रीमती संघ विद्यमान रहेको र नेपाल प्रहरीमा नेपाल प्रहरी श्रीमती संघ, सशस्त्रमा प्रहरी परिवार श्रीमती संघ तथा निजामति कर्मचारीमा निजामति कर्मचारी श्रीमती संघ रहेको उल्लेख गर्दै उनले हिजोको परिवार, वंशवाद र पितृ सत्तावादी सामन्ती राजतन्त्रात्मक व्यवस्थाको कार्यकालमा बनेका यी संस्थाहरुमा राजतन्त्रको धङधङी विद्यमान रहेको दोहोर्याइन्। ‘त्यसकारण गणतन्त्रसँग मेल नखाने, राज्यका स्रोत साधनबाट परिचालित हुने, आफ्ना श्रीमानको हैसियतबाट हैसियत निर्माण गर्ने यी सामान्ती पितृ सत्तावादी संस्थाहरुको यथासम्भव खारेज गरियोस्’, उनले भनिन्। 

प्रकाशित: २२ असार २०७६ १०:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App