२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रभावकारी विकास सहायता परिचालनको नेतृत्वमा नेपाल

काठमाडौं – प्रभावकारी विकास सहायता परिचालनसम्बन्धी एसिया–प्रशान्तस्तरीय समितिको सञ्चालक नेपालले यही असार २७ गते न्युयोर्कमा विकासका निम्ति बाह्य जगतबाट प्राप्त सहायता र त्यसको परिचालनबारे बृहत् छलफल गर्ने भएको छ।

आगामी ११ वर्षभित्रमा संयुक्त राष्ट्रसंघले निर्धारण गरेका महत्वाकाक्षी दिगो विकासका लक्ष्य हासिल गर्न विकासशील राष्ट्रहरूले प्रभावकारी विकास सहायता सुनिश्चित गर्नु अपरिहार्य भएको सन्दर्भमा नेपालले एसिया–प्रशान्त क्षेत्रका नीति निर्माता र उच्च सरकारी अधिकारीसँग त्यस्तो छलफल गर्न लागेको हो।

असार २८ र २९ गते सोही महानगरमा प्रभावकारी विकास सहयोगका लागि विश्वव्यापी साझेदारी (जिपिइडिसी)को उच्चस्तरीय बैठकको पूर्वसन्ध्यामा बंगलादेशसँगको साझेदारीमा नेपालले उक्त छलफल आयोजना गरेको हो।

दिगो विकाससम्बन्धी संयुक्त राष्ट्रसंघको राजनीतिक मञ्च जिपिइडिसीमा एसिया–प्रशान्त क्षेत्रका विकासका समस्या तथा तिनको समाधानका निम्ति सम्बन्धित देशले गरेका प्रयत्न, तथ्य र प्रमााणमा आधारित विषयका साथै सुझाव प्रस्तुत गरिने अर्थ मन्त्रालयका एकजना वरिष्ठ अधिकारीले बताए।

राष्ट्र विकासको यज्ञमा आन्तरिक, बाह्य,निजी तथा सार्वजनिक वित्तको प्रभावकारी परिचालन र प्रभावकारी विकास सहायताको सुनिश्चितताका लागि नेपालले अन्तर्राष्ट्रियरुपमा प्रतिबद्धता जनाएको छ।

अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल दिगो विकासका लक्ष्य हासिल गर्न वार्षिक पाँच अर्ब ८५ करोड रुपैयाँ परिचालन गर्नुपर्ने अहिलेको अवस्थामा निजी क्षेत्रको लगानी, नीतिगत एवं संस्थागत संरचना निर्माण गर्नु उत्तिकै अपरिहार्य भएको बताए।

‘विकासका साझेदार, दातृ निकाय, सांसद, नागरिक समाज, निजी क्षेत्रसमेतको उपस्थितिमा हुने उच्चस्तरीय बैठकमा स्रोत परिचालनका समस्या, स्रोतको अधिकतम उपयोग, विश्वभर भएका असल अभ्यास, सम्भावना र अवसरको खोजीजस्ता सबै विषयमा गहन छलफल हुनेछ,’ नेपाललगायत देशले उच्चस्तनरीय बैठकमा प्रस्तुत गर्ने विषयवस्तुवबारे जानकारी दिँदै उनले भने।

नेपालजस्ता अतिकम विकसित तथा भूपरिवेष्टित देशका विकासका लागत, यातायात र ढुवानीमा हुने अधिक खर्च, गरिबी र सामाजिक संरचनालाई केन्द्रमा राखेर देशगत प्रस्तुति हुने उनको भनाइ छ।  बैठकमा नेपालले विश्वका ८६ देशसँग आफ्ना अनुभव र विकासका प्रयास तथा विकास सहायताका प्रभावकारिता पेस गर्नेछ।

करिब ७८ प्रतिशत विकास सहायता बजेट प्रणालीमा आइसकेको, दिगो विकासका लक्ष्य हासिल गर्ने लक्ष्य र उद्देश्यका साथ नेपालले प्रारम्भदेखि नै नीतिगत एवं संरचनागत व्यवस्था गरेको, राष्ट्रिय बजेट र १५औं पञ्चवर्षीय योजनामा पनि ती विषयलाई समावेश गरेकाले नेपाल एसिया–प्रशान्त क्षेत्रबाट समितिमा चयन भएको हो।

दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा कुनै पनि राष्ट्र पछाडि नपरून् र सबै देशले सामूहिक रुपमा आ–आफ्ना क्षेत्रबाट सघाउने, सामाजिक–मानवीय पुँजी निर्माण, अधिकभन्दा अधिक रोजगारीका अवसरहरूको सृजना, निजी क्षेत्रको लगानी, नीतिगत समानता, अस्पष्टताको अन्त्यलाई नेपालले जोड दिने प्रमुख नेपाल बताउँछन्।

उच्चस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थसचिव राजन खनालसहित उच्चस्तरीय नेपाली अधिकारी यही असार २४ गते न्युयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। न्युयोर्कमा नेपालले आयोजना गर्ने छलफलमा बंगलादेशका अतिरिक्त म्यान्मार, फिलिपिन्स, क्याम्बोडिया, इण्डोनेसिया, जापान तथा एसिया–प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका अधिकारीहरु सहभागी हुनेछन्। रासस

प्रकाशित: २० असार २०७६ ११:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App