८ वैशाख २०८१ शनिबार
राजनीति

दाहाललाई पूरानै ‘रोग’ बल्झिने डर

काठमाडौं– तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रबीच एकतापछि दुई तिहाईको नेतृत्व गर्दै प्रधानमन्त्रीमा निर्वा्चित भएका केपी शर्मा ओलीले ०७४ फागुन ३ गते सपथ लिएका थिए। ओली प्रधानमन्त्रीमा निर्वा्चित भएको ठिक १५ महिनामा बितेलगत्तै नेतृत्व हेरफेरको बिषयमा चर्चा हुन थालेको छ। तर यो विषयमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल निकटका नेताहरु खासै बोल्न चाहँदैनन्। ओलीले यस विषयमा बिरलै बोल्छन् भने दाहाल पनि खासै मुख खोल्न चाहँदैनन्।

केहि दिनअघि पार्टी एकता ताका ओली–दाहालले हस्ताक्षर गरेको पाँच बुँदे सहमति पत्र सार्वजनिक भएको छ। ०७५ जेठ २ गते ओली र दाहालसँगै ओलीका विश्वास पात्र विष्णु पौडेल र दाहालका विश्वास पात्र जनार्दन शर्माद्वारा हस्ताक्षरित उक्त सहमति पत्र सार्वजनिक भएपछि नेकपाभित्र राजनीतिक बहस शुरु भएको छ। उक्त सहमतिपत्रमा ‘बुँदा नम्बर ४ मा समानता र समान अवधिका आधारमा आवश्यकता अनुरुप दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख गरिएको छ। पाँच वर्षे सरकार सञ्चालनको अवधिमा कति वर्ष ओलीले र कति वर्ष दाहालले सरकारको नेतृत्व गर्ने भन्ने उल्लेख छैन्। एकताका एक डिजाइनर तथा दाहालका विश्वास पात्रका अनुसार त्यतिबेला आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको हो। नाम उल्लेख नगर्ने सर्तमा उनले भने ‘त्यतिबेला कि सरकार आलोपालो चलाउने कि पार्टी नेतृत्व एउटाले लिने देशको नेतृत्व अर्कोले लिने भन्ने सहमति भएको हो। ओली–दाहालले साढे २रसाढे वर्ष सरकारको नेतृत्व गर्नेछन्।’

त्यसो त एकताका डिजाइनर मध्यका एक हुन् नेकपाका नेता वामदेव गौतम। उनले सार्वजनिक कार्यक्रममा नै नेकपाले ५ वर्षको म्यान्डेट पाएकाले सरकारको नेतृत्व ओली–दाहालले आलोपालो गर्नुपर्ने बताएका छन्। गौतमले पहिलाको सहमति अनुसार नभए पार्टी एकता प्रक्रियामासमेत असर हुने बताएका छन्। ‘दुइ अध्यक्षबीच भएको सहमति कार्यन्वयन हुनुपर्छ’ गौतमले भने ‘एउटै व्यक्ति प्रधानमन्त्री र पार्टी अध्यक्ष हुनु हुँदैन्। त्यसोत गौतमले पहिला भएको सहमति कसैले उल्लंघन गर्न नसक्ने दाबी पनि गरेका छन्।

ओली–दाहालः सधैं एक अर्काको रक्षा

एकता हुनुअघि ओली–दाहाल एकले अर्कालाई चर्को बिरोध गर्थे। पार्टी एकतापछि दाहालले सरकार र पार्टी अध्यक्ष ओलीको विरोध खासै गर्दैनन्। दाहालले ओलीको विरोध गरेको विरलै मात्र छन्। पछिल्लो पटक भेनेजुएला प्रकरणमा दाहाल–ओलीको सवाल जवाफ नै भएको थियो। उक्त प्रकरणमा ओली देश बाहिर गएका बेला अध्यक्षको नाताले दाहालले भेनेजुएलाको समर्थन गर्दै विज्ञप्ति जारी गरेका थिए। तर ओली स्वदेश फर्किएलगत्तै जिब्रो चिप्लिएर दाहालले यस्तो बताएको भनेका थिए। ओलीको उक्त वाक्यलाई दाहालले मौखिक खण्डन गर्दै चितवन पुगेर आफुले जानेरै गरेको बताएका थिए। यी बाहेक दाहालले खासै ओलीको विरोध गरेको पाइदैन्। तर दाहाल जति ओलीबिरुद्ध बौल्दैनन् त्यतिनै उनी निकटका नेताहरु ओलीबिरुद्ध बोल्छन्। केहि समयअघि मात्रै दाहाल निकटका सांसदहरु अग्निप्रसाद सापकोटा, गजेन्द्रबहादुर महतलगायतले संसद बैठकमै सरकारको चर्को आलोचना गरेका थिए। नेकपाका एक नेता भन्छन् ‘ओलीबिरुद्ध दाहाल खासै बोल्दैनन् तर उनले अरुलाई प्रयोग गर्छन्।’ त्यसोत ओली पनि दाहालबिरुद्ध खासै बोल्दैनन्। सार्वजनिक कार्यक्रममा ओली सधैं दाहालको प्रशंसा गर्छन्। तर ओली पनि कम भने छैन्। ति नेताले भने ‘ओलीको पनि बानी दहालसँग मिल्दोजुल्दो छ आफु नबोल्ने अरु नै प्रयोग गर्छन्।’

नेकपाभित्र अर्को शक्ति छ वरिष्ठ नेता माधवकुमार नेपालको। तत्कालिन एमालेभित्र ओलीको चर्को आलोचना गर्ने नेपाल समूहको ‘रोग’ एमाले–माओवादी एकतापछि पनि निको भएको छैन्। संसद् होस वा कुनै सार्वजनिक कार्यक्रममा होस् नेपालले सधैं ओलीको विरोध गरेको पाइन्छ। केहि समयअघि ओली–दाहाल देश बाहिर रहँदा कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका नेता नेपालले सरकारको खुलेर विरोध गरेका थिए। त्यसोत उनले दाहालको विरोध गरेको विरलै पाइन्छ भने ओलीको सधैं गरेको पाइन्छ।

ओलीसँग दाहालको असन्तुष्टि के ?
दाहाल निकट नेताहरुलाई आधार मान्ने हो भने सरकार अहिले जसरी सञ्चालन भइरहेको छ त्यो उनलाई मन परेको छैन्। सरकार सञ्चालनबारे दाहालले ओलीलाई हरेक छलफलमा सुझाव दिएका हुन्छन्। तर ओलीले त्यसलाई हुन्छ भन्ने तर फेरि पहिलाको जस्तै व्यवहार देखाउने उनीहरुको आरोप छ। सरकार र पार्टी एकै व्यक्तिले चलाउँदा पार्टी एकता प्रक्रिया टुंग्याउन ढिला भएको दाहाल निकट नेताहरु बताउँछन्। ति नेताका अनुसार बजेटमा पनि दाहालको केहि असन्तुष्टि हुनसक्ने उनले बताए। त्यसोत एकता प्रक्रियाको महत्वपूर्ण कामहरु अझैं बाँकि छन्। पोलिटव्यूरो गठनमा पनि दाहालले केहि हिस्सा बढी खोजेका हुनसक्छन्’ उनले भने।

पूरानै ‘रोग’ बल्झिने डर
०७२ असोज २४ गते ओली पहिलो पटक प्रधानमन्त्रीमा निर्वा्चित भए। तत्कालिन माओवादी केन्द्रको समर्थनमा उनी प्रधानमन्त्री बनेका थिए। तत्कालिन एमाले र माओवादीबीच अर्को पटक दाहाललाई प्रधानमन्त्री बनाउने सहमतिमा उनी प्रधानमन्त्री बनेका थिए। तर सहमति भएअनुसार ओलीले दाहाललाई सहजै सत्ता हस्तान्तरण गरेनन्। माओवादीले नेपाली कांग्रेससँग मिलेर सत्ता छाड्न ओलीलाई बाध्य र्पायो। अन्तत ओलीले ०७३ साउन ९ तत्कालिन व्यवस्थापिका संसदबाट राजीनामा घोषणा गरेका थिए। तत्कालिन माओवादी र कांग्रेसको आलोपालो सरकारको नेतृत्व गर्ने सहमति बमोजिम पहिला दाहालले सरकारको नेतृत्व गर्ने र अर्को पटक कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने। सोहि अनुसार दाहालले कांग्रेससँग मिलेर ओलीलाई हटाएर दोस्रो प्रधानमन्त्री बनेका थिए। ‘ओलीले दाहाललाई पहिला पनि सत्ता हस्तान्तरण गरेका थिएनन्’ नेकपाका एक स्थायी कमिटी सदस्यले नागरिकसँग भने ‘यो बिचमा सत्ता परिवर्तनको कुरा उठ्नु पहिलाको जस्तै नहोस भनेर झकझकाउनु पनि हो।’

प्रकाशित: १९ जेष्ठ २०७६ ०१:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App