७ वैशाख २०८१ शुक्रबार
राजनीति

कतै उत्साह, कतै निराशा

कर्णाली ब्यूरो
सुर्खेत - सुर्खेतको भेरीगंगा नगरपालिका–३ रामघाटकी नवीना विकले पहिलोपटक पार्टीका ‘ठूला नेता’सँग प्रत्यक्ष संवाद गर्ने मौका पाइन्। केही दिनअघि पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकामा आयोजित जनजागरण अभियान कार्यक्रममा उनले पार्टीले चुनाव हार्नुमा नेताहरूकै कमजोरी भएको औल्याइन्। ‘पार्टीका नेता र जनप्रतिनिधिहरू चुनाव र भोजमा मात्रै गाउँ आउन थाले’ उनले मञ्चमा रहेका नेताहरूलाई भनिन्, ‘जनताको पीडामा मल्हम लगाउने र सुख, दुःखको साथी नबन्दासम्म कांग्रेसले आफ्नो गति समात्न सक्दैन।’

नवीनाले व्यक्त गरेका भनाइ मञ्चमा रहेका कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीलगायतका वक्ताले डायरीमा टिप्दै थिए। झट्ट हेर्दा सार्वजनिक सुनुवाइ कार्यक्रम चलिरहेको आभाष हुन्थ्यो। नेताले भाषण गर्ने र कार्यकर्ताले सुन्ने परम्परा तोड्दै यहाँ कांग्रेसले जनजागरणमार्फत नयाँ अभियानको थालनी गरेको छ। ‘नेताले भाषण सुनाउने र कार्यकर्ताले सुन्ने परम्पराले दूरी बढ्दै गएको आभास भयो,’ भेरीगंगा नगर कार्यसमितिका सभापति वेदु गिरीले भने, ‘त्यसैले जनता र कार्यकर्ताका गुनासा र समस्या सुन्नका लागि कार्यक्रमको मोडालिटी परिवर्तन गरेका छौं।’

यो कार्यक्रममा एक घन्टाको अवधिमा १९ जना कार्यकर्ताले जनप्रतिनिधि र मञ्चमा रहेका नेताहरूलाई आफ्ना प्रश्न, जिज्ञासा र सुझाव दिए। ‘अहिले एकले अर्कालाई आरोप–प्रत्यारोप गर्ने होइन, सबै एक भएर जनताका आवाज सम्बोधन गर्ने बेला हो’ कांग्रेस कार्यकर्ता भूमिसरा पुनले भनिन्, ‘भाषण मात्रै गरेर हुँदैन, जनताको मनभित्र बस्ने गरेर काम गर्नुपर्छ।’

कार्यकर्ताको प्रश्नको नेतृत्वले आफ्ना भाषणमार्फत उत्तर दिए। कांग्रेस केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले जनस्तरसम्म पुगेर जनताका समस्याको पहिचान गर्नु अहिलेको आवश्यकता रहेको बताए। ‘पार्टीका भातृ र शुभेच्छुक संघ–संस्थालाई चलायमान बनाउँदै जनताको घरदैलोसम्म कांग्रेसलाई पु¥याउने अबको लक्ष्य हो,’ केन्द्रीय सदस्य शाहीले भने, ‘त्यसैका लागि पहिलो चरणमा जागरण अभियान सञ्चालन भइरहेको छ।’ कांग्रेसले सुर्खेतका नौ वटै स्थानीय तहमा जनजागरण अभियान सञ्चालन गरिरहेको छ। पालिकास्तरमा भइरहेका जागरण अभियानमा ‘जनता’ भने उपस्थित देखिँदैनन्। अधिकांस ठाउँमा जनजारण अभियान कार्यकर्ता प्रशिक्षण जस्तो भइरहेको छ। ‘पहिलो चरणको कार्यक्रममा कार्यकर्तालाई प्रशिक्षित बनाउने हो,’ शाहीले भने, ‘दोस्रो र तेस्रो चरणको अभियानमार्फत जनताको घरदैलोमा पुग्छौं।’ कांग्रेसले सुर्खेतका नौ वटा स्थानीय तह मध्ये सात वटामा पालिका स्तरीय जनजागरण अभियान सम्पन्न गरिसकेको छ।

आरोप प्रत्यारोप मात्रै
कांग्रेसले गाउँस्तरसम्म संगठन सुधार गर्ने भन्दै गत वैशाख २५ बाट देशभर एकैसाथ जागरण अभियान सञ्चालन गरिरहेको छ। रुकुम (पश्चिम)मा केन्द्रीय प्रतिनिधिका रूपमा राजनप्रसाद पन्त खटिएका छन्। यहाँ सञ्चालन भएको अभियानले संगठनमा नयाँपनभन्दा पनि नेताबीच एकअर्कालाई आरोप–प्रत्यारोप लगाउनमै सीमित रह्यो। केन्द्रमा जस्तै यहाँ पनि दुई खेमामा नेताहरू विभाजित छन्। जनतालाई जागरुक गर्ने, वर्तमान सरकारले गरेका नराम्रा कामको जानकारी जनस्तरसम्म पु-याउनुपर्ने जनगरण अभियान भने आरोप–प्रत्यारोपमै सीमित देखिएको छ।

सदरमुकाम खलंगाबाट सुरु भएको अभियानको क्रममा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुले पार्टी संगठन सुधार हुन नसक्नुमा एकले अर्कालाई दोष लगाएर। संगठन निर्माण गर्न प्रायः गाउँ नजाने नेताहरु अहिले जिल्लाका छ वटै स्थानीय तहमा पुगेर कार्यक्रम सञ्चालन गरिरहेका छन्। गुटकै कारण केन्द्रले दिएको निर्देशनसमेत कार्यान्वयन नगरेर जिल्लास्थित सबै नेता तथा भातृ संस्थाका नेताहरुलाई कार्यक्रममा वक्ता बनाइएको कार्यकर्ताको गुनासो छ। जिल्ला सभापति प्रेमप्रकाश ओलीले भने जागण अभियानले कांग्रेस रुकुममा नयाँपन र ऊर्जा थपिएको दाबी गर्छन्। आफूहरूले योभन्दा पहिले पनि जिल्लाका सबै स्थानीय तहमा पुगेर कार्यक्रम गर्दै आएको र अहिलेको जागरण अभियानले पनि संगठन सुधारमा महŒवपूर्ण भूमिका खेलेको उनले दाबी गरे। ‘यो कार्यक्रमले पार्टीका लागि निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,’ सभापति ओलीले भने, ‘विभिन्न पार्टीबाट कांग्रेसमा ३ सय ३२ जना प्रवेश गरेका छन्।’

औपचारिकता मात्रै
नेपाली कांग्रेसले थालेको जनजागर अभियान जुम्लामा औपाचारिकतामै सीमित देखिएको छ। हरेक स्थानीय तहमा औपचारिक कार्यक्रमबाहेक कार्यकर्ता भेटघाट–छलफल हुन सकेको छैन। जनजागरण अभियान केन्द्रले निर्देशन गरेअनुसार अघि बढेको युवा नेता लक्ष्मण शाहीले जानकारी दिए। ‘स्थानीयस्तरमा खासै नौला कार्यक्रम तर्जुमा भएका छैनन्,’ उनले भने, ‘केन्द्रकै कार्यतालिकाअनुसार कार्यक्रम भइरहेका छन्।’ पातारासी गाउँपालिकाबाट सुरु भएको जनजागरण कार्यक्रम तातोपानी गाउँपालिकामा आएर सकिएको छ। पहिलो चरणमा पालिकास्तरमा कार्यक्रम भएकोमा अब वडास्तरमा जनजागरण अभियान सुरु गर्ने कांग्रेस जुम्लाले जनाएको छ। कांग्रेस केन्द्रीय सदस्य रमा पौडेल जनजागरण अभियानको नेतृत्व गर्दै जुम्ला पुगेकी छन्।

अभियानका क्रममा कार्यकर्ताले कांग्रेसले खासै प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको दुःखेसो गरेका थिए। उनीहरूले कांग्रेस जिम्मेवार प्रतिपक्षको भूमिकामा अघि बढ्न नसकेको, पार्टीभित्रको गुटगत राजनीतिको अन्त्य नभएको, सरकारलाई खवरदारी गर्ने खालका कार्यक्रम सञ्चालन नभएको उनीहरुको भनाइ छ। ‘कांग्रेस समर्थक जनता र कार्यकताको एउटै मात्र अपेक्षा भावनात्मक एकता थियो,’ उनले भने, ‘आगामी निर्वाचनलाई कांग्रेसको पक्षमा पार्न अहिलेदेखि नै कसरत गर्नुपर्नेमा स्थानीयले जोड दिए।’

कांग्रेस जागरण अभियानमा आयोजित कार्यक्रमलाई केन्द्रीय सदस्यदेखि सांसदसम्मले सम्बोधन गर्दै आइरहेका छन्। पहिलो चरणको कार्यक्रम औपचारिकतामै सीमित रहे पनि अबका कार्यक्रमलाई जनताको घरदैलोसम्मै पु¥याउने कांग्रेसले जनाएको छ। जुम्लामा एक नगरपालिकासहित सातवटै गाउँपालिकामा अभियानअन्र्तगत कार्यक्रम भएका छन्। अब ६० वटै वडामा पुगेर जनता तथा कार्यकर्ता भेटघाट कार्यक्रम सञ्चालन गर्ने कांग्रेस जुम्लाका सभापति दीपबहादुर शाहीले जानकारी दिए। नगेन्द्र उपाध्याय/सुर्खेत, डिबी बुढा/जुम्ला र लोकेन्द्र खनाल/रुकुम (पश्चिम)

प्रकाशित: १२ जेष्ठ २०७६ ०१:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App