६ वैशाख २०८१ बिहीबार
राजनीति

सिटाैलासँग देउवाकाे भेट : तेस्राे धारसँग दूरी घटाउने उद्देश्य

काठमाडौं– नेपाली कांग्रेसभित्र देखिएको संवादहीनताको अवस्थालाई तोड्न सभापति शेरबहादुर देउवाले सक्रियता देखाएका छन्। सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई भागबन्डामा चलाउन खोजेको आरोप लगाउँदै आएको तेस्रो धारका नेताहरुसँग देउवाले छलफल गरेका छन्।

तेस्रो धारको रूपमा दाबी गर्दै आएका नेता कृष्णप्रसाद सिटौला समूहसँग दूरी घटाउने उद्देश्यले देउवाले शनिबार आफ्नै निवास बूढानीलकण्ठमा बोलाएर छलफल गरेका हुन्। पछिल्लो समय सिटौला समूह देउवा र पौडेल समूहसँग असन्तुष्टि जनाउँदै आएको थियो। सभापति देउवाले वार्ताको पहल नगर्दा सार्वजनिक कार्यक्रमको मञ्चमा बाहेक अन्य ठाउँमा सिटौलासँग वार्ता हुन सकेको थिएन।

सिटौला समूहसँग दूरी बड्दा विभागहरु गठनलगायत भ्रातृ संगठनका विवादित विषय टुंग्याउने सन्दर्भमा देउवालाई समस्या परेको थियो। गत चैत २१ गते बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा कर्यसम्पादन समिति गठनमा भागबन्डा गर्दा सिटौला समूहलाई बाइपास गर्न खोजेपछि पार्टीभित्र संवादहीनताको अवस्था आएको थियो।

भेटमा देउवाले सिटौला समूहलाई विभाग भ्रातृ संगठनको विवाद र विभाग गठनमा सहयोग गर्न आग्रह गरेका थिए। कांग्रेसको ‘नर्सरी’ रहेको नेविसंघको तदर्थ समिति गठन र तरुण दल विस्तारका लागि सहयोग गर्न देउवाले आग्रह गरेका थिए।

‘तपाईंले मलाई १३ औं महाधिवेशनमा पनि सहयोग गर्नुभएकै हो। अब हामी मिलेर अघि बढौं। एमाले र माओवादी छुट्टै पार्टी त एक भए हामी किन नहुने?’, देउवाको भनाइ उदृत गर्दै बूढानीलकण्ठ पुगेका एक नेताले भने, ‘म त तपाईंहरुसँग सहकार्य गरेर अघि बढ्न तयार छु। तपाईंहरु पनि साथ दिनुहोस्।’

सिटौलाले भने अब पार्टीलाई यसरी लथालिङ्ग अवस्थामा छाड्न नहुने बताएको सिटौला निकट एक नेताले बताए। उनले पार्टी मिलाएर लैजाने जिम्मेवारी सभापतिको भएको भन्दै यसका लागि उद्धार हुन आफूहरु तयार भएको बताए। ‘तपाईं सिंघो पार्टीको सभापति हो।

तपाईंले सबैलाई मिलाएर लानसक्नुपर्छ। सबैको भावनालाई समेट्ने जिम्मेवारी तपाईंको हो’, सिटौलाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईं सबैलाई समेटेर लैजान सक्नुहुन्छ भने म त सहयोग गर्न तयार छु।’

पछिल्लो समय सिटौला समूहले भागबन्डाको विरोध गर्दै सार्वजनिक रूपमा पार्टी नेतृत्वको चर्को आलोचना गर्दै आएको थियो। सिटौला समूह पार्टीभित्र तेस्रो धार मानिए पनि निर्णयक मत उनीसँग भएको १३ औं महाधिवेशनबाट पुष्टि हुन्छ। सिटौला समूह नेविसंघ, नेपाल महिला संघ, ट्रेड युनियन कांग्रेसलगायत भ्रातृ संगठनमा बलियो छ।

देउवाले सिटौलालाई भेट्न बोलाएपछि सिटौलाले भने आफूनिकटका सबै नेता लिएर बूढानीलकण्ठ पुगेका थिए। सिटौलासँग नेताहरु उमाकान्त चौधरी, प्रदीप पौडेल, भीमेसनदास प्रधानलगायत पुगेका थिए।

प्रकाशित: १४ वैशाख २०७६ ११:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App