१६ चैत्र २०८० शुक्रबार
राजनीति

कांग्रेस सुदृढिकरणका लागि जागरण अभियान, नेताबीच मतभेद उस्तै

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी सुदृढिकरण र सरकार गलत गतिविधिको भण्डाफोर भन्दै जागरण अभियानको घोषणा गरिसकेको छ। हिमाल, पहाड, तराई–मधेस, नेपाली कांग्रेस नाम दिएको जागरण अभियान बैशाख २५ गतेदेखि हुँदैछ।

यसअघि बैशाख ११ गतेदेखि सुरु हुने भनिए पनि पार्टी नेता रामकृष्ण ताम्राकारको निधनका कारण अभियानलाई केही समय पछि सरकेको हो। कांग्रेसले जिल्लादेखि स्थानीय तहसम्म गर्ने यो जागरण अभियान माघ अन्तिमसम्म चल्नेछ। जब कि कांग्रेसको नियमित महाधिवेशन फागुनभित्र गर्नुपर्ने छ। पार्टीको महाधिवेशन भएको दुई महिनाभित्र गठन गर्नुपर्ने विभागहरू अहिलेसम्म गठन हुनसकेको छैन।

पार्टीको महासमिति बैठकपछि विभाग गठनमा ताम्सिएको संस्थापन समूह पछिल्लो समय नेताहरूबीच मतभेद बढेपछि सेलाएको छ। कार्यसम्पादन समिति गठनमा तेस्रो धार भनिएको नेता कृष्णप्रसाद सिटौला समूहले असन्तुष्टि जनाएपछि नेताहरूबीच अहिले सम्वादहीनताको अवस्था आएको छ।

अहिले शीर्ष नेताहरू जिल्ला केन्द्रित भ्रमणमा छन्। जागरण अभियानअघि कार्यासम्पादन समिति गठन हुने सम्भावना न्यून छ। अभियानका क्रममा पार्टीले खटाएका केन्द्रीय प्रतिनिधि एक महिनासम्म स्थानीय क्षेत्रमै खटिनुपर्ने नियम बनाइएको छ। यसकारण पनि जागरण अभियान सुरु भएको एक महिनासम्म कार्यसम्पादन समिति गठन हुने सम्भावना निकै कम छ।

‘अहिले त यसै भन्नसक्ने अवस्था नै छैन। हामीले समिति गठनका लागि पहल त गरेका हौं’, सहमहामन्त्री डा. प्रकाशशरण महत भन्छन्, ‘पहिला उहाँ (संस्थापनइतर समूह) ले पहिला क्रम संख्याअनुसार केन्द्रीय समितिमा रहेका नेतालाई मौका दिने भन्नु भएको थियो। अहिले त्यसरी हैन भन्नुहुन्छ।’ सभापति शेरबहादुर देउवाले पछिल्लो समय कार्यसम्पादन समितिका लागि सम्वादको वातावरण नै नबनाएको तेस्रो धारका एक नेता बताउँछन्।

संस्थापनइतर समूहले भने जागरण अभियान संस्थापन समूहले गुट दह्रो बनाउन र महाधिवेशन छल्न मात्रै ल्याएको असन्तुष्ट खेमाका एक नेता बतउँछन्। ‘कार्यसम्पादन समिति अब अहिले बन्ला जस्तो छैन। यो अभियान नै अलअल्याउन ल्याइएको हो’, उनले भने, ‘रोजेको क्षेत्रमा आफूनिकटका नेता पठाउने अनि गुट दह्रो बनाउने खेल मात्रै हो।’

महाधिवेशन छल्नका लागि यो अभियान ल्याएको उनको आरोप छ। ‘अब माघसम्म अभियान भन्छन्। अनि फागुनमा महाधिवेशन नगरी टालटुल गर्ने लाग्नुभयो विभाग गठन र महाधिवेशनका कार्यक्रम अघि बढाउन उहाँहरू चहानुहुन्न’, उनले नागरिकसँग भने, ‘त्यसपछि बहुमतको प्रयोग गर्दै सहजै एक वर्ष म्याद थप्ने योजना मात्रै हो। अभियानबाट केही हुन्न।’

 अभियानको सट्टा पार्टीका खाली संरचना भर्नतर्फ लाग्न नेतृत्वलाई सुझाव दिए। ‘अहिले प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा पार्टी संगठन छैन। स्थानीय तहमा पछिअ छैन। अनि निर्वाचन क्षेत्र र स्थानीय तहमा कार्यक्रम गर्ने भनेको छ। संगठनबिना कसरी अभियान हुन्छ?’, उनले भने, ‘त्यसकारण अभियान भन्दा पनि संक्रमणकालीन व्यवस्थाबाट संघीय संरचनाअनसार पार्टीको संगठन विस्तारतर्फ लाग्नुपर्छ।’

 

प्रकाशित: १२ वैशाख २०७६ १०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App