१५ चैत्र २०८० बिहीबार
राजनीति

युवा भन्छन् – यस्तो लोकतन्त्र काम छैन

२०६२/६३ को जनआन्दोलनले दुई सय वर्ष पुरानो शाह वंशीय शासनलाई सधैंका लागि अन्त्य गराइदियो।

१९ दिनसम्म चलेको आन्दोलन वैशाख ११ गते साम्य भयो। विघटित संसदको पुनस्र्थापना भएको घोषणा भयो। जनताले इतीहासमै पहिलोपटक लोकतन्त्रलाई आत्मसात गर्न पाए। 

राजा ज्ञानेन्द्र नेपालको अन्तिम राजामा दर्ज भए।

राजतन्त्र नेपालका लागि इतिहास बन्यो।

१३ वर्षअघि सम्पन्न भएको जनआन्दोलनले शासनसत्तालाई मात्र परिवर्तन गरेन, नेपालको राजनीतिक, आर्थिकलगायत समाजका सम्पुर्ण पक्षहरूमा फेरबदल ल्याइदियो। मुलुक लोकतन्त्र हुँदै गणतन्त्रमा प्रवेश गर्याे। सविंधानमै धर्म निरपेक्षताको व्यवस्था भयो। मुलुक संघीयतामा गयो। जनताका छोराछोरी राष्ट्रपति बन्न पाउने भए।

मुख्यतः जनताले चुनेर पठाएका सभासद्हरूले नै सविंधान सभामार्फत संविधानको निर्माण गरे।

२०६० को दशकमा जन्मिएको पुस्ता उमेरकै कारणले पनि जनआन्दोलनमा संलग्न भएन भनेर सहजै अनुमान लगाउन सकिन्छ। केही छिटपुट उदाहरण अपवादको रुपमा आउन सक्छन्। 

अहिलेसम्म आइपुग्दा २०६० को दशकमा हुर्किएको पुस्ताले लोकतन्त्रलाई बिभिन्न तरिकाले बुझिरहेको छ। यसलाई व्याख्या गर्ने, बुझ्ने तरिकाहरू फरक–फरक छन्।

लिभरपुल कलेज, बानेश्वरमा कक्षा १२ मा अध्ययनरत विवेक अधिकारी भन्छन्, ‘लोकतन्त्र आएपछि नेपालबाट राजा हट्यो। त्यही त हो, लोकतन्त्र।’

युवापुस्ताले लोकतन्त्रको प्रभावलाई भिन्न–भिन्न रुपमा विश्लेषण गरेको पाइन्छ। 

धेरैले त बैशाख ११ भन्ने बित्तिकै राजतन्त्रको अन्त्य भएको दिनको रुपमा मात्र लिन्छन्। त्यसभन्दा अघि नेपालमा राजा रहेको र आन्दोलनले राजतन्त्रलाई हटाएर लोकतन्त्र ल्याएको उनीहरूको एकसरो बुझाइ छ। 

लिभरपुल कलेज, बानेश्वरमा कक्षा १२ मा अध्ययनरत विवेक अधिकारी भन्छन्, ‘लोकतन्त्र आएपछि नेपालबाट राजा हट्यो। त्यही त हो, लोकतन्त्र।’

अधिकारीले बुझेझैँ लोकतन्त्र आएसँगै नेपालबाट राजतन्त्र ढलेकै हो। तर, राजतन्त्रसँगै कैयौँ मुल्यमान्यता पनि ढलेको हुन्। राजनीतिक दलहरूले भनेझैँ ‘सामन्ती सत्ता’ पनि ढलेको हो। एउटै परिवारले नेपाली जनतालाई शासन गर्ने दिन पनि सकिएको हो। 

अधिकारी भन्छन्, ‘लोकतन्त्रले बाहु, छोरा, नातीलाई लहरै राजा बनाउने चलनलाई हटायो। देशमा राष्ट्रपती हुने दिन आयो।’ 

लोकतन्त्र आयो, राजतन्त्र विस्थापित भयो। राजतन्त्र हट्नु ठिक भएपनि लोकतन्त्रमा आएर जनताले सुबिधा पाएजस्तो चाहीँ लाग्दैन, रत्नराज्य कलेजमा बिए दोस्रो वर्ष पढ्दै गरेका मनोज खातीलाई। 

‘देशमा लोकतन्त्र आयो, राम्रो भयो। जनता नै सर्वेसर्वा भए। तर, हामीले चुनेर पठाएका नेता बेइमान भए,’ उनी भन्छन्, ‘नेताहरूलाई धनी बनाउन लोकतन्त्र ल्याएजस्तो भयो।’

लोकतन्त्रसँगै राजनीतिक अस्थिरता बढेको पनि मन परेको छैन उनलाई। 

नेताहरूले विकासमा ध्यान दिनुको सट्टा कुर्सीकै खीचातानीमा समय बिताएको आरोप लगाउँछन्, खाती। भन्छन्, ‘केटाकेटी भएकाले राजतन्त्र कस्तो थियो भन्ने कुराको हेक्का भएन। तर, लोकतन्त्र आएपछि अब देश विकास हुन्छ भनेर कुरा गर्थे बुवाहरूले। त्यस्तो त देखिएन।’ 

पछिल्लो समय स्थिर सरकार भएकाले ‘केही होला कि’ भन्ने आशा छ उनलाई। सरकारले भनेझैँ विकास÷समृद्धि आयो भने लोकतन्त्र आएको पनि सार्थक हुने बताउँछन्।

लोकतन्त्र पछि जुन अपेक्षा गरिएको थियो त्यो प्रतिफल जनताले पाइरहेका छैनन्। विकास होला भन्ने जनताको चाहना पुरा भएको छैन। बरु, राजनीतिक खिचातानीले देशलाईलाई झनै बर्बाद बनाएको धेरैको मुल्यांकन छ। मुल्यांकन गलत पनि हैन। शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा सुधारको प्रत्याभुती गर्न पाइएको छैन। 

शिक्षा, स्वास्थ्यमा मात्र हैन, देशमा अवसर नै देख्दैनन्, अधिकारी। सबैभन्दा ठुलो अभाव त रोजगारी कै देख्छन् उनी। पढेर पनि मान्छेले जागिर पाएको छैनन्। 

भन्छन्, ‘पहिला राजा हुँदा कस्तो अवस्था थियो, थाहा छैन। तर लोकतन्त्र आएपछि चाहीँ रोजगारी छैन। मान्छेले पढ्यो, पढ्यो, अन्तीममा काम छैन।’

उनले बुझेको लोकतन्त्रचाहीँ वाक स्वतन्त्रतामा देखियो। 

‘राजा हुँदा राजाको कुरा काट्न पनि पाइँदैन थियो भनेर गाउँमा भन्थे। आफ्नो कुरा भन्न पनि पाइँदैन थियो रे,’ उनी थप्छन्, ‘अहिले त आफूलाई मन लागेको कुरा फेसबुकमा लेख्न पाइन्छ। बोल्न पाइन्छ। यो त ठिक कुरा हो। बोल्नै नपाउने त हुनुहुँदैन।’

लोकतन्त्र आएसँगै महंगीपनि टाँसिएर आएको देख्छन्, महेन्द्ररत्न कलेजमा बिए प्रथम वर्षमा अध्ययनरत भुवन खड्का। भन्छन्, ‘अहिले कति महगीं छ, बाफ रे। बजारमा गइसाध्य छैन। केही किन्न सकिँदैन। थारै पैसा कमाउने मान्छेको त काठमाडौंमा बिजोगै छ।’

महंगीमाथि टिप्पणी गर्ने खड्का मात्र हैनन्। आम जनता यसको मारमा परेका छन्। दिनादिन आवश्यक सामाग्रीहरूको भाउ बढिरहेको छ। 

खड्का भन्छन्, ‘जनतालाई मारमा पार्न लोकतन्त्र ल्याएको हो ? सामान्य मान्छे कसरी बाँच्ने ?’

जनताले १९ दिनसम्म लडेर लोकतन्त्र ल्याए पनि नेताहरूले यसलाई दुरुपयोग गरेको आरोप नौलो हैन। बरु, चुनाव जितेर गएका नेताहरूले लोकतन्त्रलाई भजाउने काम मात्र गरेको बताइन्छ। 

कोटेश्वर बस्दै आएकी सविता सापकोटा(१८) भन्छिन्, ‘भ्रष्टचार बढेको छ। वाइडबडीमा भ्रष्टचार गरे भनेर समाचार आयो। नेताहरूले सरकारी जग्गा हडपेको कुरा आइरहेको छ। जनतालाई केही छैन, नेताहरूलाई मोज छ। यस्तो लोकतन्त्र काम छैन।’

प्रकाशित: ११ वैशाख २०७६ १२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App