२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रहरीको घेराबन्दीमा आयोग, आइजिपीलाई कारवाहीको निर्देशन

नेपालगन्ज– नेपाल प्रहरीको कार्यशैलीप्रति  राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर आपत्ति जनाएको छ। प्रहरीले आयोग शाखा कार्यालय नेपालगन्जलाई आइतबार राती १०ः३० बजे घेराबन्दीमा राखेर आयोगको स्वतन्त्रता, स्वयत्तता र मर्यादामाथि ठाडो हस्तक्षेप गरेको उल्लेख गरेको छ। विप्लव समूहका कार्यकर्ता रहेको आरोपमा पक्राउ परेका कोहलपुर नगरपालिका वडा नम्बर ११ एकतानगर निवासी ३५ वर्षीय दानबहादुर फडेरालाई बाँके जिल्ला अदालतले आइतबार साधारण तारेखमा छाड्ने आदेश दिएको थियो। 

रिहालगत्तै पुनः प्रहरीद्वारा गिरफ्तारीमा पर्ने डरले आयोग कार्यालयमा शरण लिन पुगेका फडेरालाई राती इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेशबहादुर सिंहको कमाण्डमा पुगेको प्रहरी टोलीले आयोगलाई घेराबन्दीमा राखेको बताइएको छ। अभद्र शैलीमा प्रस्तुत भएका प्रहरीले आयोगका सुरक्षा गार्ड हरिबहादुर केसीलाई धम्की दिनुका साथै कार्यालय परिसरमा प्रवेश गर्न खोजेको आयोग शाखा कार्यालय नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाईले बताएका छन्। 

मानव अधिकारको संरक्षण र संवर्द्धनका लागि पेरिस सिद्धान्त बमोजिम स्थापना भएको संवैधानिक र स्वायत्त निकाय राष्ट्रिय मानव अधिकार आयोगको शाखा कार्यालय नेपालगन्जमा कार्यालयको वरिपरी सुरक्षाकर्मीले अनावश्यक घेराबन्दी गरेको घटनाले गम्भीर बनाएको उनको भनाई छ। प्रहरीको उक्त कार्यशैलीको नेपालगन्जका मानव अधिकारवादी संघ, संस्थाले भत्र्सना गरेका छन्। ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सिंहले आयोगले अपराधीलाई लुकाएर राख्न नपाउने भन्दै आरोपको खण्डन गरेका छन्। 

आयोगले उक्त घटनामा संलग्न रहेका डिएसपी सिंहको काम कारबाही र व्यवहार सम्बन्धमा आवश्यक छानविन गरी विभागिय कारबाही गरी आयोगलाई जानकारी दिन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। भविष्यमा यस्ता किसिमका घटना दोहोरिन नदिन आफ्ना मातहतका सबै प्रहरी कार्यालयलाई सचेत गराउन नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पनि आयोगले निर्देशन दिएको चापागाईले बताए।

प्रकाशित: ९ वैशाख २०७६ १६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App