१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

थारु समुदायलाई मुख्य जिम्मेवारी नदिएको सांसदको आरोप

उदयपुर– प्रतिनिधिसभा सदस्य अमनलाल मोदी थारुले आदिबासी जनजाति थारु समुदाय पछि पर्नुको मुख्य कारण राजनीतिक दलहरुले उनीहरुलाई देशको मुख्य जिम्मेबारी दिन नचाहेको कारण खुलासा गरेका गरेका छन्। प्रगतिशील थारु समाज उदयपुरद्वारा आयोजित दुईदिने ‘आदिबासी थारु जातिको राजनीतिक अवस्था तथा नेतृत्व विकास’ विषयक प्रशिक्षणमा बोल्दै सांसद मोदीले सो कुरा बताएका हुन्। 

आदिवासी थारु जातिको राजनीतिक हैसियत अहिलेसम्म उक्सन नसक्नुमा देशका शासक बर्गको संकिर्णता नै मुख्य कारण रहेको उनको भनाई थियो। सांसद मोदीले देशमा भएका पटक पटकका राजनीति उथलपुथल र आन्दोलनमार्फत देशमा परविर्तन ल्याउन थारु समुदायको महत्वपूर्ण भूमिका रहदै आए पनि त्यसपछिको अवसरमा मुख्य जिम्मेबारी दिन भने कुनै पनि राजनीतिक दलहरुले साथ नदिएको गुनासो गरे। 

‘यो देशका शासक वर्गले आदिबासी थारु समुदायलाई मुख्य जिम्मेबारी दिन चाहेको अहिलेसम्म पाइएको छैन’ मोदीले भने ‘जव कि देशमा हुने गरेका पटक पटकका राजनीतिक परिवर्तनका लागि थारु समुदायको महत्वपूर्ण भूमिका रहँदै आएको छ।’ महत्वपूर्ण जिम्मेबारी नपाएकै कारण देशमा राजनीतिक परिवर्तन जतिसुकै भए पनि थारु समुदाय झन् झन् पछि पर्दै आएको उनको भनाई थियो। मुलुकको राजनीतिक परिवर्तनलाई पच्छयाउन नसकेकै कारण यो समुदाय पछाडि पर्दै आएको यथार्थता पनि उनले पस्के। 

केही थारु अगुवाहरु राजनीतिक रुपमा उदाउने गरे पनि जिम्मेबारी नपाएपछि स्वतः निस्कृय हुँदै जाने गरेको वास्तविक्ता स्मरण गराउँदै उनले यसो हुनुमा थारु समुदायमा राजनीतिक चेतनाको अभाव हुनुसमेतलाई कारण ठाने। मोदीले थारु समुदाय पनि राजनीतिमा सतिसाल झैँ अटल र अजम्बर भएर लाग्नुपर्ने भन्दै राजनीतिक, वैचारिक र व्यवहारिक हुनका लागि लगनसिलता, अध्ययन र निरन्तरता आवश्यक हुने औंल्याए। 

कार्यक्रममा नेपाली कम्युनिष्ट र प्रजातान्त्रिक आन्दोलनमा समर्पित तत्कालीन एमालेका ६ जना नेतालाई सम्मान गरियो। लामो समय नेपाली बामपन्थी आन्दोलनमा रहेर काम गरेका हरिलाल चौधरी, पूर्व सांसद लक्ष्मीनारायण चौधरी, बच्चुलाल चौधरी, सीताराम चौधरी, भगवानीप्रसाद चौधरी र धनीराम चौधरीलाई दोसल्ला र प्रशंसापत्रसहित सम्मान गरिएको हो। 

बिहीबार र शुक्रबार २ दिन सञ्चालन भएको प्रशिक्षणमा पहिलो दिन ‘नेकपाको राजनीतिक दृष्टिकोण, नीति र नेपालको संविधान २०७२’ बारे र दोस्रो दिन ‘राजनीतिक नेतृत्वको भूमिका, जिम्मेबारी र चुनौती’ लागयत विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो। प्रशिक्षण नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बलदेव चौधरी, सांसद मोदी, पूर्व सांसदहरु मञ्जुकुमारी चौधरी, शान्ताकुमारी चौधरी र भगवती चौधरीले दिएका थिए। 

सांसद मोदीले ‘थारु राजनीतिक नेतृत्वको भावी रणनीति’ विषयमा, भगवतिले ‘राजनीतिक नेतृत्वको आर्थिक तथा समाजिक सवलीकरण’, ‘नेकपामा राज्य पुनर्संंंचनामा आदिवासी थारु जाति र महिलाको अवस्था’ विषयमा मन्जुले प्रशिक्षित गरेको आयोजक प्रगतिसिल थारु समाज उदयपुरका अध्यक्ष श्यमानन्द चौधरीले बताए। अध्यक्ष चौधरीका अनुसार प्रशिक्षणमा उदयपुरका त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका विभिन्न वडामा रहेका थारु जनप्रतिनिधि र नेकपाको विभिन्न पूर्व पदाधिकारीहरुको सहभागिता रहेको थियो।

प्रकाशित: ३० चैत्र २०७५ ००:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App