coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘घुस लिएर ठूलो गल्ती गरें’

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ लाख रुपैयाँ घुस लिएको अभियोग लागेपछि आयुक्तबाट राजीनामा दिएका राजनारायण पाठकसँग बयान लिन थालेको छ। पाठकलाई मंगलबार बिहान उनकै शान्तिनगरस्थित निवासबाट नियन्त्रणमा लिएको अख्तियार अनुसन्धान टोलीले दिनभर लिखित बयान लिएको हो।

बेलुका पाठकलाई निवासमै लगेर छोडिएको छ। उनीसँगको बयान नसकिएको अख्तियार स्रोतले जनाएको छ। पाठकलाई अख्तियार र काठमाडौं प्रहरीको विशेष टोलीले २४सै घण्टा निगरानीमा राखेका छन्। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिने प्रलोभनमा कलेजका संस्थापक सञ्चालक लम्बोदर न्यौपानेबाट ७८ लाख रुपैयाँ घुस लिएको तथ्य खुलेपछि पाठकले फागुन ३ गते पदबाट राजीनामा दिएका थिए।

उच्च स्रोतका अनुसार पाठकले बयानमा कलेज विवाद मिलाइदिने प्रलोभनमा घुस लिएर ठूलो गल्ती गरेको स्विकारेका छन्। ‘विवाद मिलाइदिने भन्दै मैले घुस लिएको साँचो हो,’ पाठकको बयान उद्धृत गर्दै उच्च स्रोतले भन्यो, ‘यो मेरो जिन्दगीकै ठूलो भुल भयो।’ कलेज सञ्चालक लम्बोदर न्यौपाने बयान छलेर भागेपछि पाठकमाथि अख्तियारले निगरानी बढाएको थियो।

पाठकलाई मंगलबार बिहान उनकै शान्तिनगरस्थित निवासबाट नियन्त्रणमा लिएको अख्तियार अनुसन्धान टोलीले दिनभर लिखित बयान लिएको हो। बेलुका पाठकलाई निवासमै लगेर छोडिएको छ।

अनुसन्धान टोलीले मंगलबार बिहान पौने ८ बजे बा७च २२५७ नम्बरको बोलेरो जिपमा राखेर पाठकलाई अख्तियार पुर्याएको थियो। पाठकसँग तीन सदस्यीय अनुसन्धान टोलीले साँझसम्म लिखित बयान लिएको थियो।

‘पूर्वआयुक्तज्यूलाई बयानका लागि शान्तिनगरपस्थत निवासबाट ल्याएका हौं,’ अख्तियार उच्च स्रोतले भन्यो, ‘नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद र विवाद मिलाइदिने नाममा लिएको भनिएको ७८ लाख रुपैयाँ घुस प्रकरणबारे उहाँसँग लिखित बयान थालिएको छ।’ उनलाई पुनः बयानका लागि ल्याउने आयोगको तयारी छ। स्रोतले भन्यो, ‘लिखित बयान जारी छ, अर्को बयानमा थप तथ्य र प्रमाण जुटाउने काम हुन्छ।’

पाठक पक्राउ र उनको बयानबारे अख्तियार खुल्न चाहेको छैन। अख्तियारका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइराला अनुसन्धान भइरहेको विषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै पन्छिए।

कलेजका सञ्चालक दीपक भट्टराई पक्षले संस्थापक सञ्चालक न्यौपाने पक्षलाई स्वामित्व विवादका कारण प्रवेश नदिएपछि न्यौपाने समूह कलेजको सम्पत्ति हात पार्न बिचौलियामार्फत आयुक्त पाठकसम्म पुगेको थियो। पाठकलाई न्यौपाने समूहले ४० लाख र ३८ लाख गरी दुईपटकमा ७८ लाख रुपैयाँ बुझाएको थियो।

रकम बुझाए पनि कलेजमा प्रवेश नपाएको र अख्तियारले पनि कुनै निचोड ननिकालेको भन्दै न्यौपानेले पैसा फिर्ता गर्न पाठकसँग आग्रह गरेका थिए। पाठकले पैसा फिर्ता नगरी उल्टै धम्क्याउन थालेपछि घुस लिएको गोप्य अडियो न्यौपाने पक्षले नै सार्वजनिक गरेको थियो। न्यौपाने अहिले फरार भइइसकेका छन्। उनी भारत पुगेको आशंका गरिएको छ।

घुस लिएको अडियो टेप सञ्चारमाध्यमले फागुन १ गते सार्वजनिक गरेपछि पाठकलाई महाभियोग लगाउने विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले छलफल अघि बढाइसकेको थियो। त्यसपछि पाठकले राजीनामा दिएका थिए। पाठक २०७१ चैत तेस्रो साता अख्तियारको आयुक्तमा नियुक्त भएका थिए। घुस प्रकरणमा आयोगले पाठकका भाइ शुभनारायण पाठक र बिचौलिया ज्ञानेन्द्र झासँग बयान लिइसकेको छ। झाले घुसबापतको रकम आफूले पाठकसम्म पुर्याएको बयान दिइसकेका छन्।

नायब महान्यायधिवक्ता (विशिष्ट श्रेणी) बाट अवकाश पाएका पाठक सुशील कोइराला नेतृत्वको सरकारको पालामा मधेस केन्द्रित राजनीतिक दलको कोटाबाट आयुक्त बनेका थिए।

प्रकाशित: ६ चैत्र २०७५ ००:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App