२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बन्दका कारण पश्चिम नेपालकाे जनजीवन प्रभावित

नेपालगन्ज - विप्लव निकट नेकपाले गरेको बन्दले बिहीबार पश्चिम नेपालका जिल्लाको जनजीवन प्रभावित बन्यो। बन्दका क्रममा कतै गाडी जलाइए भने मुख्य सहरहरूमा शंकास्पद वस्तु भेटिए। सडक बजारमा बन्दकर्ता नभेटिए पनि बजारहरू बन्द थिए। लामो तथा छोटो दूरीका सवारीसाधन चलेनन्। बन्दका कारण प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका जिल्लाको जनजीवन प्रभावित बन्न पुगेको हो।

कैलालीमा बसमा आगजनी गरियो भने तीन ठाउँमा शंकास्पद वस्तु फेला प¥यो। नेपालगन्ज, बर्दिया, बुटवलमा पनि शंकास्पद वस्तु फेला प-यो। विप्लवका कार्यकर्ताले कैलालीको गौरीगंगा नगरपालिकाको बडैपुरमा जन्ती पु¥याएर फर्किएको बसमा बिहीबार बिहान १ बजेतिर आगजनी गरेका छन्। भजनी नगरपालिकामा जन्ती पु¥याएर फर्कने बेला रोइनाको रूख ढालेर सडक अवरुद्ध गरी ८–९ जनाको समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताए। बसमा रहेका यात्रुलाई ओरालेर उनीहरूले आगो लगाएका थिए।

‘विवाहमा गएका ब्याण्डबाजा टोलीका १० जना तथा चालक र सहचालक गरी १२ जनालाई ओरालेर म १ ख ४४१ नम्बरको बसमा ८–१० जनाको समूहले डिजेल छर्केर आगजनी गरेका हुन्,’ प्रहरी उपरीक्षक तिम्सिनाले भने। यसै गरी बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले साढेपानीमा एउटा ट्रकमा सामान्य तोडफोड गरेका छन्। यातायात बन्द गराइरहेको अवस्थामा कैलाली गोदावरी नगरपालिकाको गोदावरीबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। कञ्चनपुर दैजीका कोषराज भट्ट, कञ्चनपुर भीमदत्त नगरपालिकाका सुशील चन्द र डोटीको बिपीनगरका धनबहादुर बमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज विवेक कुमालले उनीहरू तीनैजना आफ्नो पार्टीको कुनै पनि संगठनमा आवद्ध नरहेको बताए।

बन्दका क्रममा कैलालीका तीन ठाउँमा शंकास्पद वस्तु फेला परेका छन्। जोशीपुर गाउँपालिका–५, को वडा कार्यालय अगाडि तथा पूर्वपश्चिम राजमार्गको सुखड र साढेपानीमा राजमार्ग नजिक बमजस्तो शंकास्पद बस्तु फेला परे पनि ती बम नभएको प्रहरी उपरीक्षक तिम्सिनाले बताए। यस्तै बाँके नेपालगन्ज उपमहानगरपालिकाको राँझास्थित मुख्य सडकमै बम फेला परेको छ। सानो बाल्टिनजस्तो देखिने भाँडोमा बाहिरपट्टि ‘खतरा’ लेखेर छाडिएको उक्त वस्तु बम नै भएको आशंका गरी प्रहरीले डिस्पोजका लागि राँझास्थित नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो। सोही टोली आएर उक्त बस्तु निस्कृय पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) अरुण पौडेलले जानकारी दिए।

बर्दियास्थित पूर्वपश्चिम राजमार्गमा फेला परेको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ। कुकरमा राखिएको वस्तु बम भएको आंशकामा सेनाले डिस्पोज गरेको प्रहरीले जनाएको छ। बाँसगढी–३ मा पर्ने डडुवाखोलामा शंकास्पद वस्तु फेला परेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए। बुटवल–भैरहवाको मुख्य सडक छेउमा पनि शंकास्पद वस्तु भेटिएपछि त्रास पैदा भयो। सिद्धार्थ राजमार्गको बुटवल कालिकाचौकमा डिभाइडरमाथि राखिएको बिस्फोटक पदार्थलाई नेपाली सेनाले डिस्पोज ग-यो।

बन्दकर्ताबिना नै बन्द
बन्दको अघिल्लो दिन बुधबार राति रुकुम (पश्चिम)को आठबीसकोट नगरपालिका राँके जुलुस प्रदर्शन गरियो। आठबीसकोट–९, राडीबजारभन्दामाथिको डाँडामा प्रदर्शन गरिएको जुलुुसले यहाँका सर्वसाधारण मात्र होइन, जनप्रतिनिधि र कर्मचारीहरू समेत त्रसित बने। उक्त राँके जुलुसको त्रासका कारण बिहीबार बन्दकर्ताबिना नै बन्दको प्रभाव प-यो। कुनै पनि ठाउँमा बन्दकर्ता बन्द गराउन सडक तथा बजारमा नभए पनि जिल्लाको जनजीवन प्रभावित बनेको थियो। यसैबीच रुकुम (पूर्व)को जिल्ला अदालत अगाडि भेटिएको शंकास्पद वस्तु बम नरहेको पुष्टि भएको छ।

डोल्पामा भने विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव परेन। यहाँ यातायात निर्वाध सञ्चालनमा रहे। विद्यालयहरू पनि सञ्चालनमा आए भने अप्रिय घटना नभएको प्रहरीले जनाएको छ।

प्रकाशित: १ चैत्र २०७५ ०१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App