१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय शोकको घोषणा, आज सार्वजनिक बिदा

काठमाडौं - हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको निधन भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउन बिहीबार सार्वजनिक बिदाको निर्णय पनि गरेको छ। दुर्घटनामा परी निधन भएका सातैजनाको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णयसमेत गरिएको छ। बैठकले शोक प्रस्ताव पारित गरेको जानकारी दिँदै गृहमन्त्री रामबहादुर थापाले सरकारले देशभित्र र विदेशमा रहेका नेपाली नियोगहरूमा शोक मनाउँदै राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको जानकारी दिए।

छानबिन समिति गठन
बैठकले दुर्घटनाको छानबिन गर्न पूर्वपर्यटन सचिव यज्ञ गौतमको नेतृत्वमा चार सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ। समितिमा सहायक रथी दीपकप्रसाद बास्तोला, पूर्वमहासेनानी क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्। मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री केपी ओलीसहित सबै मन्त्री अधिकारी निवास पुगेका थिए। यस्तै गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले पाथीभरा मन्दिर दर्शन गरेर उडेको हेलिकोप्टर खराब मौसमका कारण दुर्घटना भएको बताएका छन्। सुवेदीले गृह मन्त्रालयमा आकस्मिक रूपमा पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएका थिए।

नेताहरू भन्छन् : जुझारु नेताको अवसान
राष्ट्रपति विद्यादेवी भण्डारीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले बुधबार हेलिकोप्टर दुर्घटना परी पर्यटनमन्त्री अधिकारीसहित सातजनाको निधन भएकोप्रति गहिरो दुःख व्यक्त गरेका छन्। मुलुकले एक जुझारु नेताका साथै पर्यटन व्यवसायी गुमाएको उनीहरूको भनाइ छ।

राष्ट्रपति भण्डारीले लोकप्रिय युवानेता अधिकारीको निधनले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्दै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, क्याप्टेन प्रभाकर केसी तथा अन्य राष्ट्रसेवक कर्मचारीको निधनले मुलुकलाई अपूरणीय क्षति पुगेको बताएकी छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त रूपमा शोक वक्तव्य जारी गर्दै पर्यटनमन्त्री अधिकारीको निधनले मुलुकलाई अपूरणीय क्षति पुगेको बताएका छन्। मुलुकले जनता र विकासप्रति सदैव समर्पित योग्य जनप्रतिनिधि गुमाएको भन्दै वक्तव्यमा निजी क्षेत्रबाट देशको विकासमा पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारीहरू र हेलिकोप्टर चालक गुमाएको उल्लेख छ। ‘कास्कीबाट २०६४, २०७० र २०७४ सालमा जनताको अपार माया प्राप्त गरी संविधानसभा र संसद् सदस्यमा निर्वाचित अधिकारीले आफूलाई राजकीय क्षेत्रमा एक अब्बल राजनीतिकर्मीका रूपमा स्थापित गर्नुभएको थियो। दुई कार्यकाल संविधान सभा सदस्य, विकास समितिको सभापतिका साथै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रूपमा उहाँले निर्वाह गरेको भूमिका मुलुकले सधैं सम्झिरहनेछ,’ शोक वक्तव्यमा भनिएको छ।

नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारीलगायत सातजनाले जीवन गुमाएकोमा गहिरो दुःख व्यक्त गरेका छन्। ‘विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेका अधिकारी नेपाली राजनीतिका उदीयमान युवानेताका अलावा व्यक्तिगत रूपमा भद्र र सुयोग्य हुनहुन्थ्यो,’ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले शोक विज्ञप्तिमार्फत भनेका छन्, ‘आकस्मिक घटनामा निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिस्ट पार्टी र उहाँको व्यक्तिगत परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।’ सभापति देउवाले सो विज्ञप्तिमार्फत यती एयरका प्रबन्ध निर्देशक शेर्पाको निधनबाट मुलुकले एक सफल व्यवसायी गुमाएको पनि उल्लेख गरेका छन्। सो घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टर क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरेको निधनले अत्यन्तै दुःखी बनाएको विज्ञप्तिमा उल्लेख छ। साथै उनले दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै गहिरो अध्ययन–अनुसन्धान प्रक्रिया अघि बढाउने विश्वास लिएको बताएका छन्। नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल, कांगे्रस उपसभापति विमलेन्द्र निधि र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पनि मन्त्री अधिकारीसहित कृतक सबैलाई श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीपार्टीका अध्यक्ष कमल थापाले पर्यटनमन्त्री अधिकारी हेलिकोप्टर दुर्घटनामा परी भएको निधनमा दुःख व्यक्त गर्दै उदीयमान नेताको अवसान भएको बताए। त्यसैगरी विवेकशील साझा पार्टीले पनि शोक वक्तव्य जारी गर्दै परिवारजनप्रति समवेदना प्रकट गरे। सो पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले यस्ता घट्ना दोहोरिन नदिन दुर्घटनाको कारणबारे अनुसन्धान गर्न सरकारसँग माग गरेका छन्। रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक सञ्जालमा पर्यटनमन्त्री रवीन्द्र घिमिरेप्रति श्रद्धाञ्जली प्रकट गरेका छन्। ‘राजनीतिमा अत्यन्त उज्ज्वल सम्भावना बोकेका तपाईंसित सँगै यात्रा गर्ने सम्भावना समाप्त भएको कुरालाई पत्याउन सकिरहेको छैन !! पीडा र आँसुसँगै हार्दिक श्रद्धाञ्जली !!’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

नेकपाका नेता एवं सांसद योगेश भट्टराइले रवीन्द्र अधिकारीको मृत्युले आफू स्तब्ध भएको बताएका छन्। उनले ट्वीट गर्दै उक्त घटनाले आफू निःशब्द भएको उल्लेख गरेका हुन्। उनले फेसबुकमाहेलिकोप्टरमा सात जना हालेर उडाइएकोप्रति प्रश्न गरेका छन्। भिआइपीको उडानमा पाइलटकसहित पाँचजनाभन्दा बढी पाथीभरामा उडान गर्न नमिल्ने बताएका छन्।‘भिआइपी उडानमा पाइलटसहित पाँच जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ् बजारमै झारेर मात्र पाथीभरा उडान गर्दै आएका छन् पाइलटहरूले। तर आज मौसम खराब हुँदाहँुदै सातजनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ,’ उनले लेखेका छन्।

प्रकाशित: १६ फाल्गुन २०७५ ०४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App