७ वैशाख २०८१ शुक्रबार
राजनीति

सत्तापक्ष र प्रतिपक्षलाई राष्ट्रपतिले भनिन्: दूरी घटाउनुहोस्

काठमाडौं : पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षबीच टकराव बढ्दै गएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तापक्ष र प्रतिपक्षका शीर्ष चार नेतालाई शीतल निवास बोलाएर छलफल गरेकी छन्। 

आइतबार साझ राष्ट्रपति भण्डारीले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विजयकुमार गच्छदारलाई राष्ट्रपति निवास शीतल निवासमा बोलाएर छलफल गरेकी हुन्। राष्ट्रपति भण्डारीले पछिल्लो समय सत्ता पक्ष र प्रतिपक्षबीच बढेको दूरीले जनतालाई निराश बनाएको भन्दै सहकार्य गरेर अघि बढ्न सुझाव दिएकी हुन्। 

‘सत्तापक्ष र प्रतिपक्षबीच उत्पन्न टकराबले समस्या आउने तर्फ राष्ट्रपति केन्द्रित हुनुहुन्थ्यो’, छलफलमा सहभागी नेता गच्छदारले भने,‘उहाँले सत्तापक्ष र प्रतिपक्षबीच छलफल भएर सहकार्यका साथ अघि बढ्नुपर्ने सुझाव दिनुभयो।’ 

छलफलमा राष्ट्रपति भण्डारीले दुई तिहाईको बहुमत भएको सरकार हुँदा पनि विकास निर्माण र समृद्धिको गतिविधिले गति नलिँदा प्राप्त उपलब्धिमा नै प्रश्न उठ्ने खतरा भएको तर्फ पनि नेताहरूलाई सचेत गराइन्। उनले विकास निर्माणका काममा सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुपर्ने धारणा राखेकी थिइन्। 

 ‘समसामयिक विषयमा राष्ट्रपतिले चासो राख्नुभयो’, नेता गच्छदारले भने, ‘हामीले पनि त्यो विषयमा आफ्ना दृष्टिकोण राख्यौँ। गम्भीर छलफल भयो।’

राष्ट्रपति भण्डारीले कांग्रेसका दुई नेताबीच पार्टीभित्र उठेको हिन्दूराष्ट्रको मागका विषयमा पनि प्रश्न गरिन्। उनले महासमिति बैठकमा र पछिल्लो समय कांग्रेसमा निरन्तर हिन्दूराष्ट्रको विषय उठिरहेको भन्दै यसले संघीय गणतन्त्रमा नै खतरा हुने बताएकी थिइन्। 

प्रमुख दुई दलका चार शीर्ष नेताबीचमा राष्ट्रपति भण्डारीले अनावश्यक रूपमा केही सञ्चार माध्यमले निरन्तर राष्ट्रपतिलाई विवादमा तान्ने काम गरेको भन्दै दुःख व्यक्त गरेको शीतल निवास स्रोतले बताएको छ। ‘शीर्ष नेतामाथि पनि निरन्तर प्रहार भएइरहेको छ। राष्ट्रपतिलाई पनि विवादमा तान्ने गरी विभिन्न विषयहरू आइरहेका छन्’, बैठकमा सहभागी एक नेताले भने, ‘यसप्रति पनि राष्ट्रपतिले चिन्ता व्यक्त गर्नुभयो।’

प्रकाशित: ६ फाल्गुन २०७५ ०४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App