१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रहरी एकेडेमी बनाएर सारिन्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रहरी प्रशिक्षण केन्द्र (प्रहरी एकेडेमी) लाई काभ्रेको पनौतीमा भौतिक संरचना तयार गरेर मात्रै सारिने बताएका छन्। नेपाल प्रहरीलाई आधुनिक, सक्षम र कुनै पनि देशको प्रहरीसँग प्रतिस्पर्धा गर्नसक्ने खालको बनाउनुपर्ने भएकाले त्यसका लागि भौतिक, प्राविधिक, सुविधासहितको तालिम केन्द्र बनाउन सरकारले काम सुरु गरिसकेको र भौतिक संरचना तयार भएपछि पनौतीमा सारिने बताएका हुन। राष्ट्रिय प्रहरी प्रशिक्षण केन्द्र महाराजगन्जमा प्रहरी निरीक्षकको १७८ औं ब्याचको आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

‘आफू प्रहरीमा कार्यरत हुँदा प्रहरीलाई एकेडेमी साँघुरो भयो भनेर गुनासो गर्ने अहिलेको सरकारले सुविधा सम्पन्न आधुनिक संरचनासहितको एकेडेमी बनाउँछु भनेर सरकारी निर्णय भैसकेपछि त्यसलाई विरोध गर्नुको अर्थ छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यो १० औं वर्षअघिको कुरामा भारतले एकेडेमी बनाउने कुरा पनि थियो। पहिल्यै भएको सम्झौतालाई अहिलेको सरकारले त्यस फराकिलो ठाउँ जहाँ दौड, पिटी परडे देखि चाँदमारी सम्मका धेरै कुरा एकै पटक गर्न सक्न सकिन्छ त्यहाँ स्थानान्तरणको तयारी सुरु गरेको छ।’

उनले राष्ट्रपतिज्यूले यहाँबाट लखेट्न खोजे भनेर कुरा काटिएको बताउँदै छिमेकी पिरेको भन्नेसम्मका शब्द पनि प्रयोग गरेकोमा आपत्ति जनाए। यस विषयमा राष्ट्रपतिलाई दोष लगाउनुको अर्थ नहुने पनि उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले प्रहरी संगठनमा अनुशासन हुने र मातहतकालाई अनुशासनमा राख्न पनि निर्देशन दिए। ‘अनुशासनका नाममा मातहतकालाई नदबाउनुस्, माथिकाको दलाली नगर्नुस् प्रहरी संगठन दलाली गर्नका लागि होइन। स्वाभिमानपूर्वक कर्तव्य पूरा गरेर सेवा गर्नका लागि हो,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुले प्रमोसन हुनका लागि कसैलाई रिझाउनु पर्दैन कसैकहाँ धाउनु पर्दैन। यस अवसरमा म प्रहरी संगठनका जिम्मेवार पदाधिकारीलाई भन्न चाहान्छु कार्यसम्पादन मूल्यांकन अथवा प्रमोसनका लागि न्यायोचित प्रणाली स्थापन गर्नुस्। कुनै प्रहरीले भेदभावको सिकार हुनुहँुदैन।’ नेपाल प्रहरी आधुनिक, सक्षम र दुनियासँग प्रतिस्पर्धा गर्नसक्ने भएको उल्लेख गर्दै दीक्षीत भई जाने प्रहरी निरीक्षकहरुले अनुशासनमा बसेर स्वाभिमानपूर्क देश, जनता, संगठनका लागि बफादार भई जिम्मेवारी पूरा गर्नुपर्ने पनि उनले बताए।

कार्यक्रममा बोल्दै गृहमन्त्री रामबहादुर थापाले राजनीतिको नाममा धमिलो पानीमा माछा मार्ने काम अझै जारी रहेको बताए। ‘संविधान विरोधी गतिविधि अझै हुने गरेका छन्। लोकतन्त्रमा विरोधको मर्यादित शैली र तरिका हुन्छ। त्यसमा सरकारको आपत्ति रहन्न। परन्तु देशलाई विखण्डनतर्फ लैजाने वा संविधानको मर्मवीपरित परिचालित समूहका गतिविधि सह्य हुँदैन,’ गृहमन्त्री थापाले भने। उनले प्रहरी संगठनका कर्मचारीले कानुनको सर्वोच्चतामा क्रियाशील हुनुपर्ने उल्लेख गर्दै वातावरणीय अनुकूलता प्रदान गर्न सुरक्षा कवचको रुपमा सरकार तयार रहेकाले प्रहरी अधिकृतहरुलाई व्यक्तिगत जीवनमा समेत सचेत भई अगाडि बढ्न निर्देशन दिए। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी निरीक्षकको रूपमा प्रवेश गर्ने प्रहरी अधिकृत नै भविष्यमा संगठनको नेतृत्व सम्हाल्दै मुलुक र नागरिकका लागि उपयुक्त प्रहरी सेवाको प्रबन्ध गर्न जिम्मेवार हुने भएकाले प्रहरी निरीक्षक आधारभूत तालिम सदैव संगठनको उच्च प्राथमिकताको विषय भएको बताए। ‘मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण राख्दै संविधानप्रदत्त मौलिक हक र मानव अधिकारको संरक्षण एवं सम्वर्धन गर्दै समृद्ध, समुन्नत एवं सुरक्षित नेपाल निर्माणमा योगदान पुर्‍याउनु प्रहरीको प्रमुख कर्तव्य हो,’ महानीरिक्षक खनालले भने।

प्रकाशित: १ फाल्गुन २०७५ ०३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App