१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

न्यूनतम पारिश्रमिक सरकारले कार्यान्वयन गरेरै छाेड्छ : मन्त्री बाँस्काेटा

तस्बिर : विनाेद/नागरिक

रुपन्देही - सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले न्यूनतम पारिश्रमिक कार्यान्वयन गरेरै छाेड्ने बताएका छन्। उनले नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुको तलब ५० प्रतिशत बृद्धिको माग गरेकोमा २५ प्रतिशत मात्रै पूरा गर्दा पनि विरोध हुनु अस्वभाविक भएको बताए। विरोध भएपनि सरकारले यसकाे कार्यान्वयन गरेरै छाड्ने उनले दाबी गरे। आफू पनी पत्रकारिताबाटै आएकाले यसको विकास र मर्मलाई बुझेर कार्यक्रम ल्याइने मन्त्री बाँस्काेटाले बताए।

नेपाल पत्रकार महासंघ रुपन्देहीको वार्षिक साधरणसभा तथा पुरस्कार वितरण कार्यक्रमलाई सोमबार बुटवलमा सम्बोधन गर्दै उनले प्रेस सम्बन्धि कानुनका बिषयमा अध्यारो कोठामा बसेर हतियार नचलाउन आग्रह समेत गरे। उनले सरकारले ल्याएका प्रेस सम्बन्धि ऐनका बिषयमा अध्यारो कोठामा बसेर अनावश्यक हल्ला मच्चाइएको बताए। 

संसदमा विज्ञापन सम्बन्धि विधेयक दर्ता गरेको बताउँदै उनले यसले मिडियालाई फाइदा गर्ने बताए। ‘सबै भन्दा बढि माग मोफसलका मिडियाले गरेका हुन, त्यसलाई सम्बोधन गर्न विज्ञापन ऐन ल्याइएको हो।’ उनले विज्ञापन ऐनले नेपालको १२ अर्बको विज्ञापनलाई २० अर्बको पुर्याउने दाबी गरे। उनले विज्ञापनका बिषयमा भइरहेको आलोचनालाई लक्षित गर्दै भने ‘भ्रमको शिकारमा परिरहनुस् हजुर, काग कराउँदै गर्दछ पिना सुक्दै गर्छ।’

मन्त्री बाँस्कोटाले ६५ बर्ष पुगेका पत्रकारलाई निवृत्ती भरणको व्यवस्था,  सञ्चारग्राम स्थापनाका लागि ७ वटै प्रदेशमा स्थापना गर्न सम्झौता हुनु सरकारको उपलब्धि भएको बताए। मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित र बलियो बनाउने गरी ऐन कानुन निर्माणमा जुटेको बताए। अहिले सरकारले गरेका हरेक गतिविधिलाई नकरात्मक रुपमा प्रचार गर्ने काम भएको बताउँदै उनले अब कम्युनिष्ट सरकार ५ वर्ष मात्रै नभई आउँदो चुनावमा पनि जनताकोमन जितेर चुनाव जित्ने बताए।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले संघीयता कार्यान्वयनका चरणमा रहेकाले संरचनाको जगलाई बलियो बनाउने गरी मिडियाले विषय उठाउनुपर्ने बताए। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बसन्त गिरीले साना मिडिया बलियो नहुँदासम्म श्रमजीवी ऐन लागू हुन नसक्ने बताए।

प्रदेश नम्बर ५ का सांसद कमला विश्वकर्माले समाज परिवर्तनमा पत्रकारिताले धेरै काम गर्न सक्ने भन्दै यसको शक्तिलाई सदुपयोग गर्न आग्रह गरिन्।

पूर्व सांसद विनोद पहाडीले मूलूक संघीयतामा गएपनि प्रेस पास तथा अन्य सेवा लिन कठिन भएकाले समाधान गर्न आग्रह गरे। उनले पत्रकारिता क्षेत्रका व्यक्ति सञ्चारमन्त्री भएकाले सञ्चार क्षेत्रलाई राहत र सहजता ल्याउने गरी काम गर्न सुझाव दिए।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले नेपालको समृद्धिका लागि कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे।

साधारणसभाकै अवसरमा नेपाल पत्रकार महासंघले विभिन्न निकायसँग मिलेर स्थापना गरेको तीन वटा पुरस्कार वितरण गरेको छ। नेपाल पत्रकार महासंघ रुपन्देही र बुटवल उपमहानगरले संयुक्त रुपमा स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार डायलसन अधिकारी र पत्रकार भगवती पाण्डे पुरस्कृत भएका छन्। अधिकारी उत्कृष्ट पत्रकारिता पुरस्कार २०७३ र पाण्डे उत्कृष्ट पत्रकारिता पुरस्कार २०७४ बाट पुरस्कृत भएका हुन्।  दुवै जनालाई नगद ५०/५० हजार, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । यसैगरि नेपाल पत्रकार महासंघ रुपन्देही र बुटवल पब्लिकसँगको सहकार्यमा स्थापना गरिएको शैक्षिक पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार लक्ष्मण पोखरेल सम्मानित भएका छन्।

 

प्रकाशित: २८ माघ २०७५ १०:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App