२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

जग्गा दर्ता गराइदिने भन्दै १० लाख घुस लिने नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

छुट जग्गा दर्ता सिफारिसका लागि सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस लिएको अभियोगमा नापी कार्यालय डिल्लीबजारका टोली प्रमुख नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजार अन्तर्गत ३ नम्बर नापी टोली माछापोखरीका प्रमुख वलीविरुद्ध १० लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो।

वलीले छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु पठाउनका लागि सेवाग्राहीलाई अनावश्यक सास्ती र दुःख हैरानी दिई घुस मागेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

घुस मागिरहेको भन्ने सूचना र उजुरीका आधारमा टङ्गालबाट खटिएको आयोगको टोलीले उनलाई सेवाग्राहीबाट १० लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा वलीले जग्गा दर्ताको काममा सहजीकरण गरिदिने प्रयोजनका लागि उक्त रकम लिएको पुष्टि भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

आयोगले नापी अधिकृत वलीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १० लाख रुपैयाँ बिगो कायम गरी कैद तथा बिगो बमोजिम जरिवाना सजाय मागदाबी गरेको छ।

प्रकाशित: २२ आश्विन २०८३ १७:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App