२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

अन्सारी भन्छन्, ‘कांग्रेस महाधिवेशनमा जोडघटाउ नगरी आवाज उठाउने युवालाई हार्न नदिनु’

जेनजी अभियन्ता माजिद अन्सारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा समाजको पिँधमा रहेका वर्ग र समुदायको पक्षमा आवाज उठाउँदै आएका युवालाई नेतृत्वमा ल्याउन महाधिवेशन प्रतिनिधिलाई अपिल गरेका छन्। 

उनले सामाजिक सञ्जालमार्फत स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी संघ र युथ कांग्रेसमा भूमिका निर्वाह गरेका तथा जेनजी आन्दोलनपछि परिवर्तनको पक्षमा आवाज उठाउँदै आएका युवालाई हार्न नदिन आग्रह गरेका हुन्। 

उनले महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, अल्पसंख्यक तथा आर्थिक रूपमा विपन्न खसआर्यलगायत समाजका पिँधमा रहेका समुदायका पक्षमा आवाज उठाउने युवालाई कांग्रेसको नीति निर्माण तहमा पुर्‍याउनुपर्ने बताए। 

‘हिजोको दिनसम्म गरिब, मजदुर, सुकुम्बासी लगायत समुदायका नागरिकका लागि जोडघटाउ नगरिकन आवाज उठाउनुहुने युवाहरूलाई हार्न नदिनुहोला,’ उनले भने। 

अन्सारीले कांग्रेसभित्र विचार र संघर्षबाट आएका युवालाई प्राथमिकता दिनुपर्ने भन्दै बीपी कोइरालाको भनाइ स्मरण गरेका छन्।  

‘देशमा प्रजातन्त्र आएपछि मोटाघाटा, सुकिलामुकिला, चिल्ला गाडी चढ्नेहरूको पार्टीभित्र हाबी हुनेछ । त्यसका विरुद्ध आम कार्यकर्ताले फेरि एकचोटि संघर्ष गर्नुपर्ने हुन्छ,’ उनले बीपीको भनाइको सार प्रस्तुत गर्दै भने। 

अन्सारीले आफूले प्रतिनिधिसभा निर्वाचनका क्रममा जित्नैपर्ने उम्मेदवारका रूपमा कांग्रेस नेता गगनकुमार थापालाई समर्थन गर्न अपिल गरेपनि निर्वाचनमा थापाको सट्टा अमरेशकुमार सिंह विजयी भएको बताए। 

उनले सिंहले संसद्मा प्रभावकारी भूमिका निर्वाह गरिरहेको भए पनि सत्तापक्षमा रहेका कारण दमदार र जिम्मेवार प्रतिपक्षी नेताको अभाव अझै देखिएको बताए। 

‘संसदीय प्रस्तुति हेर्ने हो भने माननीय अमरेशकुमार सिंहले पनि गज्जबको भूमिका निर्वाह गर्दै आउनुभएको छ। तर उहाँ सत्तापक्ष भएर होला, सदनमा एउटा दमदार तर जिम्मेवार प्रतिपक्षी नेताको अभाव अझै पनि प्रष्टै देखिन्छ,’ अन्सारीले भने। 

अन्सारीले नेकपा एमालेमा सुहाङ नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टीमा क्रान्तिशिखा धितालजस्ता युवाको उदाहरण दिँदै कांग्रेसभित्र पनि जित्नैपर्ने थुप्रै युवा रहेको बताए। 

‘ती युवाहरू करोडपति छैनन् होलान्, चुनाव प्रचारका नाममा तपाईंलाई दाइ–दिदी जय नेपाल भन्दै भोट माग्न पुगिसकेका छैनन् होलान्, तर त्यस्ता युवाहरूले हार्नु हुँदैन,’ उनले भने। 

प्रकाशित: २२ आश्विन २०८३ १२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App